
ओई सहर
आइज
तँ र म
आज मात्न जाउँ
फुलचोकीतिर
तँ अैला र कचिला बोक
म साहिलाखुई र आराखा बोक्छु
तैँले समयवजी किन्नु
म वाचिपा ल्याउँछु
एकै छिन भएपनि
रमाउँला
फुलचोकीमा।
कति सहनु छातिमा टेकेको
कति हेर्नु मान्छेको छलछाम
जालझेल र षडयन्त्र
न्यायलयको भ्रष्टिकरण
अख्तियारी पाएकाको गद्दारी
ठेकेदारको ठगठाग
व्यापारी कालाेबजारी
समाजसेवीहरुको ढोङ
त्यो भन्दा पर जाउँ
हेर्नै परे त्यहीबाट हेरौँला
हिँड शहर
जाउँ
फुलचोकी तिर।
रेड लेवल र ब्ल्याक लेवल
पोखाएर तेरो छाती
अपवित्र बनाई सकें
हुस्की र भोड्का
खुवाएर तेरो मुख
अचाक्ली बिगारी सकें
खसीको राजखानी
बंगुरको कानजिब्रो
बोईलरको पखेटा
मिसमास पारेर
चखाउनु चखाई सकें
यी सबैलाई छाडेर
आफ्नो औकातमा रमाउन
हिँड शहर
जाँउ
फुलचोकी तिर।
मेरो खान्छुङ्को, गर्छुङको
तेरो खाएर ल्यायो, गरेर ल्यायो
बोल्ने जिब्रै लट्टाई सके
वाक्य वाक्यमा सियो
छिराई सके
हाकु पटासी
तपालं सुरुवां
गुन्ने चोली
फेटा थक्पुरी
बेचेर हैरान बनाई सके।
यसपाली
मैचालाई लिएर आईज
हाकु पटासीमा
मिचुमलाई ल्याउँला
गुन्ने र चोलीमा
बनाएर खाउँला डाँडामा
यमोरी र बारा
ढिडो र किनिमा
कति खानु अर्काको खान्की
जाउँ रमाउन
यस्सो एकदिन भएनी
बिश्राम लिएर आऊ
मनको बह
हिँड शहर
जाँउ
फुलचोकी तिर।
– भिम राई ‘माक्पाली कान्छा’