सुर्खेत-शिक्षकहरुको आन्दोलनका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाका सामुदायिक विद्यालयहरुको पढाइ प्रभावित भएको छ।
शैक्षिक सत्र सकिनै लाग्दा राहत शिक्षकहरु आन्दोलित हुँदा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको पढाई प्रभावित भएको हो। कर्णालीका दश जिल्लामा नै मंगलबार सामुदायिक विद्यालयहरु पूर्णरुपमा बन्द भए।
नेपाल राहत शिक्षक संगठनले देशभरका सामुदायिक विद्यालय बन्द गर्न आह्वान गरेपछि विद्यालय पूर्णरुपले बन्द भएका हुन्। सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरेको विरोधमा विद्यालय बन्द गरिएको हो।
राहत तथा बालविकास शिक्षकको बहुमत भएको कर्णलीका सामुदायिक विद्यालय पूर्णरुपले बन्द भए भने केही विद्यालयले भने नैतिक समर्थनका लागि भन्दै विद्यालय आंशिक बन्द गरे।
एसईई परीक्षा चैत ८ गतेबाट र जिल्लाको वार्षिक परीक्षा चैत ७ गतेबाट हुने निर्धारण गरिएको अवस्थामा विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरुमा चिन्ता थपिएको छ। ‘परीक्षाका लागि विद्यालयमा महत्वपूर्ण विषयहरुमाथि छलफल हुन पाएको छैन।’
एसईई परीक्षाको तयारीमा रहेकी सावित्री सुवेदीले भनिन्, ‘यस्तै आन्दोलन कायम रह्यो भने परीक्षा सफल नहुने हो की भन्ने चिन्ता छ।’ आन्दोलनका कारण अधिकांश माध्यमिक विद्यालय प्रभावित भएको राहत शिक्षक समिति सुर्खेतले जनाएको छ।
गत असोज २२ गते सरकारसँग भएको चार बुँदे सहमति कार्यन्यन गर्न दवावस्वरुप जिल्लामा कार्यरत राहत, बाल विकास केन्द्रका शिक्षक, अस्थायी शिक्षक, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुले अनिश्चितकालिन शैक्षिक हड्ताल आह्वान गरेको थियो।
राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुका साथै बाल विकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगिलाई थप सेवा सुविधासहित स्थायी गर्नुपर्ने, सार्वजनिक विद्यालयमा कार्यरत राहत, अस्थायी, सट्टा, बाल विकास केन्द्रका शिक्षकबीचको भेदभाव हटाउनुपर्ने, राहत शिक्षकलाई स्थायी परीक्षामा सामेल हुँदा उमेरको हद हटाउनुपर्ने लगायतका माग राख्दै शसक्त रुपमा आन्दोनमा उत्रेको हुन्। मंगलबारको आन्दोलन सफल भएको आन्दोलनरत शिक्षकहरुको दाबी छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































