
विर्तामोड-मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली झापा-११ र त्रिभुवन आर्मी क्लबबीच भेट हुने पक्का भएको छ।
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमी फाइनल खेलमा केमरुनको दाउफिन्स क्लबलाई १-०ले हराउँदै आर्मीले झापासंगको भेट पक्का गरेको हो।
झापाले शुक्रबार थ्रीस्टार क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ।सोही प्रतियोगितामा झापा र आर्मीको यो भेट तेस्रो पटकको हो। यस अघि आर्मीसंग झापा दुई पटक नै पराजित भएको थियो।
शनिबारको खेलमा दाउफिन्सका सिलो नाङ्गाले पहिलो हाफको मध्यतिर आत्मघाती गोल गरेपछि आर्मी १-० ले अगाडि रह्यो। उक्त गोल नै शनिबारको खेलको निर्णायक बन्न पुग्यो।
राष्ट्रिय टोलीमा समावेश भएर ख्याति कमाएका नवयुग श्रेष्ठ तथा भरत खवासले गोल गर्न सकेनन्।उनीहरुलाई दाउफिन्सका डिफेन्डरले गोल स्कोर गर्नबाट रोकेका थिए।
शनिबारको खेलको म्यान अफ दी म्याच आर्मीका विमल पाण्डे घोषित भए। उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ।