सुर्खेत-गुर्भाकोट नगरपालिका–७ सिरवानीकी जसी वलीलाई हिउँद लाग्यो की खानेपानी कै चिन्ता हुन्छ। घर नजिक खानेपानी छैन। वस्तीभन्दा तलबाट बग्ने भेरी नदिको पानी पीउनुपर्छ।
भेरी पुग्न झण्डै आधा घण्टा लाग्छ भने फर्कीन आधा घण्टा लाग्छ। साउनको झरीले फुटेका पानीका मुलहरू कार्तिकमै सुक्छन्। मुलहरू सुकेपछि भेरी नदिको पानी उपयोग गर्नुको विकल्प रहँदैन। ‘खानेपानीको निक्कै समस्या छ’ ५९ वर्षिय उनले भनिन्,‘वस्तुभाउलाई खोलामा खानेपानी भएपनि मान्छेका लागि स्वस्थ्य पानी पिउन पाइने मुहान नै छैन।’
हिउँद लाग्यो की चीती सुनारको दैनिकी खानेपानीको जोहोमै बित्ने गर्छ। ‘खोलाको पानी बर्खामा धमिलो हुन्छ, हिउँदमा त्यहीँ पनि सुकेर पालो कुर्नुपर्छ’ ४५ वर्षीया चन्द्रकलाले भनिन्, ‘घर–घरमा धारा भइदिए धेरै सहज हुन्थ्यो।’ गाउँ नजिक पानीको स्रोत छैन। गोचेखोला पुगेर एक गाग्री पानी ल्याउन तीन घण्टा समय लाग्छ।

सुनार र वली मात्रै होइनन्, सिरवानी टोलका करीब ५० घरधुरी भेरी नदिको पानी पीउन बाध्य छन्। कोप्ची पूर्वी सुर्खेतको प्रशासनिक केन्द्र मेहलुकना नजिकै पर्छ। गाउँ नजिकै भएर भेरी बग्छ। भेरी वारी र पारीका बासिन्दा भने खानेपानी अभाव झेल्दै आएका छन्।
‘भेरीमा बग्ने पानी हेरेर थुक निल्नुपर्ने बाध्यता छ’ उनले भनिन्, ‘स्थानीय सरकारले सबै सुविधा घर-आँगनमै पुर्याए जस्तै पानीका धारा पनि ल्याई सहज हुन्थ्यो।’ उनले भेरी नदिको प्रदुषित पानी पिउँदा रोग लाग्ने गरेको बताइन्।
विगतदेखि नै शुद्ध खानेपानी पिउँन नपाएका मेहेलकुनाबासीको बाध्यताका दिन अब भने हट्ने भएका छन्। लिफ्ट खानेपानी आयोजना निर्माण भएपछि उनीहरूको समस्या समाधान हुने भएको छ। खानेपानीको पीरलो हट्ने भएपछि हर्षित भएका स्थानीयले प्रतिपरिवार १५ हजार रूपैयाँका दरले पैशा लगानी गरेका छन्।
भेरी नदीको पानी लिफ्टमार्फत गुर्भाकोट नगरपालिकाका चार वटा वडामा वितरण गरिने भएको छ। लिफ्ट खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ।
७१ करोडको लागतमा लिफ्टमार्फत भेरी नदीको पानी गुर्भाकोटको वडा नं. ६, ७, ८ र ९ गरी चार वटा वडामा वितरण गर्ने योजना बनाइएको छ। जुन आयोजना दुई वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ।
नगरपालिकाका ३३ हजार चार सय १८ घरधूरीमा खानेपानी पुर्याउने लक्ष्यसहित लगानीकर्तासँग ७१ करोड १८ लाख १८ हजार ६ सय ३२ रूपैयाँको आयोजना सम्झौता भएको छ। गुर्भाकोट नगरपालिका, नगर विकास कोष, सहरी खानेपानी तथा सरसफाई आयोजना र सुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहबीच आयोजना सम्झौतामा हस्ताक्षर भएको हो।
आयोजना निर्माणका लागि उपभोक्ताले तीन करोड ५५ लाख ६५ हजार ९ सय ३१ रूपैयाँ जम्मा गरेका छन्। नगर विकास कोषले १७ करोड ७८ लाख २८ हजार ६५८ रूपैयाँ ऋण उपलब्ध गराएको छ भने संघीय सरकारले ४९ करोड ७९ लाख २३ हजार ४३ रूपैयाँ अनुदान उपलब्ध गराएको छ।
‘२० वर्षसम्मको यहाँको जनसंख्यालाई धान्न गरेर आयोजना निर्माण गर्न लागिएको छ’ नगरप्रमुख हस्त पुनले भने, ‘गुणस्तरीय र स्वच्छ खानेपानी पाउने स्थानीयको अधिकारलाई सुरक्षित गर्न स्थानीय तह प्रतिवद्ध छ।’ स्थानीय तहमा निर्वाचित भएलगत्तै पाँच वर्षभित्र सबै नगरबासीका घर–घरमा धारा पुर्याउने घोषणा गुर्भाकोटका जनप्रतिनीधिले गरेका थिए। सोही घोषणा कार्यान्वयनमा अहिले तिब्रता दिइरहेको छ।
सुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष मैना विकले तोकिएकै समयमा आयोजना पूरा गर्ने प्रतिवद्धता जनाइन्। ‘नगरपालिकाको बीचबाट भेरी नदी बगिरहे पनि यहाँका नागरिकले खानेपानीको संकट व्यहोर्दै आउनु भएको छ’ उनले भनिन्, ‘दुई वर्षभित्रै आयोजना निर्माणको काम सम्पन्न गरेर सबै उपभोक्ताको घर–घरमा धारा पुर्याउँछौं।’ भेरीको पानी लिफ्ट गरेर उपभोक्तालाई वितरण गरिने छ।
‘यसका लागि दुई वटा इन्टेक, सात वटा पानी ट्याङ्की, दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण हुनेछन्’ शहरी खानेपानी तथा सरसफाई आयोजनाका उपनिर्देशक नारायणप्रसाद आचार्यले भने,‘पहिलो चरणमा छ हजार चार सय धारा जडान गर्ने लक्ष्य छ। हामीले खानेपानीमा मात्रै काम गर्ने छैनौं,सरसफाई र सार्वजनिक शौचालय निर्माण पनि एकैसाथ हुन्छ।’

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































