सुर्खेत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण सुर्खेत लगायत कर्णाली प्रदेशका दशवटै जिल्लाको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण प्रदेश राजधानी वीरेन्द्रनगरबाट अधिकांश ठाउँमा चल्ने लामो दुरीका सवारीसाधन चलेका छैनन् भने विद्यालय, बजार ठप्प भएका छन्।

बन्दका कारण यात्रुहरु गन्तव्यमा जान नपाएपछि सुर्खेत प्रहरीले स्कर्टिङ्ग गरेर छोटो दूरीका यातायात केही मात्रामा सञ्चालन गरेको छ। ‘जिल्लाका छिन्चु, बबई, जुम्ला रोड, पश्चिम, रानीमत्ता लगायतका केही ठाउँमा स्कर्टिङ्गमा गाडीहरु चलेका छन्’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले भने, ‘हामीसँग भएका गाडीहरु परिचालन गरेर सर्वसाधारणलाई सास्ती हुन दिएका छैनौँ।’

यसअघिको विप्लवको बन्दमा सुर्खेतमा दुईवटा मालबहाक ट्रक जलाइएको थियो। यसपटकको बन्दमा अप्रिय घटना हुन नदिन वीरेन्द्रनगर लगायतका स्थानहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ। ‘सुरक्षा व्यवस्था निकै कडा पारिएको छ’, डिएसपी क्षेत्रीले भने,‘विगतमा भएका घटनाले पनि हामीले सजकता अपनाएका छौँ।’ अहिले सम्म सुर्खेतमा कुनैपनि अप्रिय घटना नभएको उनले बताए।


                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































