सुर्खेत-कसैले गलत नियतले हात समात्यो भने ‘लग नम्बर–१’ अपनाउनुपर्छ। हात समात्दा उसको हात र पाखुराको जोर्नीमा दवाव दिने। जोर्नीको दवावले दुखाइ हुने हुँदा आफ्नो हात फुत्काउन सहज हुन्छ।
हात छुटाएपछि ढाडतर्फ घुमाउने। जब हात ढाडतर्फ घुमाइन्छ, अनि चलाउन सकिँदैन अर्थात ‘लग’ हुन्छ। हात लग भएपछि आफुदेखि टाढा हुत्याउन सहज हुन्छ। जसबाट बलात्कार वा अन्य हिंसा हुने जोखिमबाट बच्न सकिन्छ।

कसैले पछाडीबाट अँगालो हाल्न खोजे हात जोर्नीमा दवाव दिने। जसको दुखाइले हात छुट्छ अनि ‘हिप’ ले हुत्याउने। यो लग नम्बर–२ हो। कपाल समातेर बलात्कार वा हिंसाको प्रयास गरे लग नम्बर–३ बाट जोगिन सकिन्छ। उसको हातमा आफ्नो हातले अँगालो हाले हात घुसाएर ढाडतर्फ लिने। दुखाई नहुन्जेलसम्म ढाडमा लिइएको हात लग भएपछि पछाडीबाट हुत्याएर हिंसाबाट बच्न सकिन्छ।
यसैगरी कसैले बलात्कार गर्न खोज्यो भने, आँखामा दवाव दिने, अनुहारमा चिथोर्ने, शरिरमा टोक्ने वा सम्वेदनशिल अंगमा प्रहार गर्ने। चोट लागेपछि हातले उछिट्टाउन सहज हुन्छ, अनि आफूले सुरक्षा अपनाउने, लग नम्बर–सेभेन हो।

आफूमाथि आक्रमण भए वा हिंसा हुन खोजे कसरी सुरक्षित रहने भन्ने बारेमा वीरेन्द्रनगर–१३ करैखोलाका किशोरीहरूले सिकिरहेको सीप र तरिका हुन् यी। बढ्दो बलात्कार तथा यौनजन्य हिंसाका कारण महिला तथा किशोरीहरू असुरक्षित भएसँगै उनीहरूले आत्मरक्षाको सीप सिक्न थालेका छन्। उनीहरूले महिलामाथि हुने हिंसा र आक्रमणका चरणहरूलाई कसरी नियन्त्रण गर्ने वा प्रतिरोध गर्ने भन्ने बारेमा चरणबद्धरूपमा ‘लग’ लगाउन सिकेका हुन्। जसले गर्दा किशोरीहरू आफू सुरक्षित रहन सक्ने क्षमता विकास गरेका छन्।

तीन दिनसम्मको सिकाइले आत्मरक्षाका लागि प्रतिकार गर्न सक्ने क्षमता विकासको भएको वीरेन्द्रनगर–१३ करैखोलाकी निश्चल कोइरालाले बताइन्। ‘धेरै महिलाहरू हिंसामा परेका छन्’ उनले भनिन्,‘हिंसा विरुद्ध लड्ने सीप सिक्दा असुरक्षित हुने डर हराएको छ।’ उनले जस्तोसुकै अवस्थामा पनि हिंसाविरुद्ध ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) गर्न सक्ने बताइन्। ‘बालिका माथि हुने बलात्कार तथा हिंसाबाट कसरी जोगिने हो भन्ने बारेमा ६ लग विधि सिकेका छांै’ उनले थपिन्, ‘हिंसा हुन थाल्यो वा प्रयास भयो भने कसरी जोगिने भन्नेबारेमा पूर्वतयारी अपनाउनुले धेरै सहज हुने विश्वास छ।’
करैखोलास्थित नेपाल राष्ट्रिय सामुदायिक माध्यामिक विद्यालयमा अध्ययनरत निश्चलजस्ता ३० जना किशोरीहरूले आत्मरक्षाका बारेमा सिकेका छन्। उनीहरूले तीन दिनसम्म तालिम लिएर आत्मरक्षाका विधिबारे अभ्यास गरेका थिए।

ग्लोबल एक्सन नेपालको आयोजनामा ‘सेल्फ डिफेन्स’ सम्बन्धी सीप सिकेका उनीहरूले सिकेको तालिम आफ्ना छिमेकी, परिवार, विद्यालयका साथिलाई समेत सिकाउन थालेका छन्। तालिम सिकेसँगै किशोरीहरू सुरक्षित अनुभुती गर्ने गरेका छन्। पछिल्लो समयमा बालिकामाथि हुने हिंसा बढेसँगै आत्मरक्षाको तालिम सिकाइएको हो। किशोरीमाथि असुरक्षा भएको अवस्थामा आकस्मिक रूपमा कसरी जोगिने भन्नेबारेमा तालिममा सिकाइएको थियो। आत्मरक्षाका लागि प्रयोगात्मक रूपमा बालिकाहरू तालिम लिइरहेका छन्।
संस्थाले करैखोला जस्तै जिल्लाका अन्य १२ वटा सामुदायिक विद्यालयमा यो तालिम सिकाएको छ। निश्चल जस्तै विद्यालयमा अध्ययनरत ३ सय ६० जनाले प्रयोगात्मक रूपमा ‘सेल्फ डिफेन्स’ को तालिम प्राप्त गरेका छन्। आत्मरक्षाका लागि युवादस्ताका रूपमा तालिमबाट किशोरीहरूलाई तयार पारिएको छ।

ग्लोबल एक्सनका सामाजिक परिचालक मिना विश्वकर्मा तालिम पश्चात बालिकामा आत्मविश्वास र आत्मबल बढेको बताउँछिन्। उनले बालिकामाथि हुने हिंसा नियन्त्रण गर्नका लागि तालिम फलदायी भएको बताइन्। आत्मरक्षा तालिम पाएपछि यहाँका किशोरीहरू पनि खुसी भएका छन्। आफूमाथि हुने हिंसाविरुद्ध लड्न सक्ने भएको उनीहरू बताउँछन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































