
विर्तामोड – पत्रकारिता छाडेकाहरुको सदस्यता नविकरण नगर्ने काम अगाडि बढाएका नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामाणि सापकोटालाई प्रेस चौतारी झापा र फोनिज झापाका अध्यक्षले घुँडा टेकाएका छन्।
पत्रकारिता छाडेकाहरुको पनि सदस्यता नविकरण गर्ने सर्तमा एक महिना अघि पत्रकार महासंघ झापाको कार्यालयमा चौतारी र फोनिजका अध्यक्षले संयुक्त रुपमा लगाएको ताला खुलेको छ।
प्रेस चौतारी र फोनिज झापाले नेपाल पत्रकार महासंघ झापा शाखामा माघ २९ गते ताला लगाएका थिए।
चौतारी, युनियन र फोनजको २०७५ सालको सदस्यता नवीकरणमा क्रियाशीलताको प्रमाण माग्न नहुने मागमा महासंघको नेतृत्वले सहमति जनाउन बाध्य भएको छ।
२०७६ सालमा सदस्यता नवीकरणमा भने विधान, केन्द्रीय तथा प्रदेश समितिको नीति र निर्देशन अनुसार नवीकरण गर्ने सहमति भएको महासंघ अध्यक्ष सापकोटाले बताए।
महासंघ झापाले शुद्धिकरण गर्ने उद्देश्यले सदस्यता नवीकरणमा विधान, सदस्यता नवीकरण निर्देशिका, केन्द्रीय समिति, प्रदेश समितिको निर्णय अनुसार क्रियाशीलताको प्रमाण मागेको थियो।
त्यस विरुद्ध प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको थियो भने चौतारी र फोनिजले तालाबन्दी गरेका थिए।