
सुर्खेत– कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटनमा भएको खर्च विवरण बुझाउन विषयगत मन्त्रालयले ढिलाई गरेका छन्।
पर्यटन वर्ष उद्घाटनमा अनियमितता भएको पुष्टि प्रदेशसभाको सार्वजनिक लेखा समितिले गरेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले चासो देखाएको थियो ।
अख्तियारले गत फागुन २१ गते १५ दिन भित्र खर्च विवरण पेश गर्न विषयगत मन्त्रालयहरूलाई पत्राचार गरेको थियो । तर उक्त म्याद सकिँदा पनि सबै मन्त्रालयले विवरण बुझाएका छैनन् ।
पहिलो पटक विवरण बुझाउन निर्देशन दिएको अख्तियारले तोकेको समयवधि चैत ६ गते नै सकिएको छ । समयवधि सकिएको झण्डै पाँच दिन भैसक्दा पनि सबै मन्त्रालयले खर्च विवरण बुझाउन अटेरी गरेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रदेश सरकारका तीनवटा मन्त्रालयले मात्रै खर्च विवरण पेश गरेको जानकारी दिए ।
उनका अनुसार अख्तियारमा सोमबारसम्म आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले मात्रै खर्च विवरण बुझाएका छन् ।