सुर्खेत– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका वुद्धिजीवी परिषदका भेरी–कर्णाली इञ्चार्ज पक्राउ परेका छन्।
सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि निगरानी बढाएको प्रहरीले कालिकोटबाट भेरी–कर्णाली एवं कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख धनराज शाहीलाई पक्राउ गरेको हो।
कालिकोटको तिलागुफा नगरपालिका–६ स्थायी ठेगाना भएका शाहीलाई खडाचक्र नगरपालिका–८ मोल्पा राताडाबाडबाट विष्फोटक पदार्थसहित पक्राउ गरिएको डिएसपी विनोद शर्माले जानकारी दिए। उनका अनुसार बम बिस्फोटमा प्रयोग हुने ३२ थान जिलेटिन, १ थान इलेक्ट्रिक डडकर्ड, १ थान आइइडी माइत, एक किलो बारुद लगायतका सामग्री बरामत गरिएको छ।
विप्लव माथि प्रहरीले निगरानी बढाएपछि विप्लव समुहका नेताहरु भुमिगत भएका छन्। विगतमा सदरमुकाम आसपासमा देखिने नेताहरु गाउँ पसेपछि प्रहरीले गाउँ–गाउँ पुगेर गस्ती गरिरहेको छ। भुमिगत भएका नेताहरुले दिनमा लुक्ने र राती पार्टीका संगठन विस्तार, मिटिङ्ग तथा भेलालगायतका गतिविधि गर्दै आएको खबर प्रहरीले पाएको थियो।
पक्राउ परेका शाहीबाट संगठन विस्तार गरिएको डायरीसमेत भेटिएको डिएसपी शर्माले बताए। उनका अनुसार शाहीसँगै पार्टी गतिविधि सञ्चालन गरिरहेका चार जना नेताहरु भागेका छन्। ‘प्रहरीदेखि पछि उनीहरु भागेका थिए, शाही लडेर पक्राउ परेका हुन्’ उनले भने,‘अबको एक हप्ता भित्र सबैलाई पक्राउ गर्छौँ खोजी तीव्र पारेका छौँ, भेट्न बित्तिकै समात्छौँ।’ प्रहरीले लखेटेपछि भाग्ने क्रममा शाहीलाई सामान्य चोट लागेको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































