
विर्तामोड-विर्तामोड मुक्ति चोकको पश्चिमबाट उत्तरपट्टि कृष्ण सिनेमा हल जाने बाटोबाट शनिश्चरे रोड निस्किने बाटो कालोपत्रे गरेको चार महिना बित्न नपाउँदै भत्किन थालेको छ।
नगरपालिकाले ६०-४० प्रतिशतको उपभोक्तासंग साझेदारीमा गरेको कालोपत्रे बाटोमा अहिले मोटरसाइकल स्ट्याण्ड गर्न पनि सकिने अवस्था छैन। मोटरसाइकल स्ट्याण्ड गरेर केही क्षणपछि कालोपत्रे भासिएर धेरै जनाका मोटरसाइकल सडकमै लडेका छन्।
उक्त रोडको छेउमा पसल गर्ने सुशील अग्रवालका अनुसार अबको वर्षामा उक्त सडकमा सवारी साधन चल्न सक्ने अवस्था छैन। उनले भने, ‘अहिले नै यस्तो छ। बर्षामा के थाम्छ यो पिचले?’
उक्त सडक बनाउँदा एउटा घरबाट कम्तीमा ४० हजार रुपैयाँ उठाएको उपभोक्ता अजय गोयलले बताए। तर त्यत्रो पैसा तिरेर पनि भने अनुसारको कालोपत्रे उपभोग गर्न उपभोक्ताले पाएनन्।
करिब ३ सय ५० मिटर उक्त सडक करिब ८२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो। सडकको सम्पूर्ण पैसा नगरपालिकाबाट निस्काशन भइसकेको छ। तर उपभोक्ता भने आफूहरु ठगिएको र सडक निर्माणमा अनियमितता भएको अनुमान गर्छन्।
उपभोक्ता समितिका अध्यक्ष छत्र श्रेष्ठले आफू रात दिन खटेर निर्माण गरेको भए पनि अहिले आएर समस्या देखिएको बताउँछन्।
उनले सडक बनाउँदा समितिमा बसेकै मान्छेहरु अनुगमनमा नआएको गुनासो गरे। तर सडकको अवस्थालाई सुधार गर्न मर्मत गर्न लगाउने उनले बताए। उनले भने, ‘मैले पनि देखें सडकको अवस्था। म बनाउन लगाउँछु।’
सडकमै काम गर्ने अन्य ठेकेदारका अनुसार उपभोक्ता समितिका पदाधिकारी, नगरपालिकाका कर्मचारी तथा सडक बनाउने जिम्मा पाएको कम्पनीबीच कमिसनको मिलेमतोका कारण उक्त सडक बनाएको केही महिनामै भत्किन थालेको हो।
नाम उल्लेख नगर्ने सर्तमा ती ठेकेदारले भने, ‘उक्त सडक पिच गर्दा अलकत्रसंग बालुवा मिसाउनुपर्नेमा त्यसो गरिएन। सिलिकन गिटीसंग सिधै अलकत्र मिसाउँदा अलकत्र कम लाग्छ। त्यसरी पैसा जोगिन्छ। त्यसै गरियो त्यहाँ। त्यसैले सडकको काम बिग्रियो।’
विर्तामोड नगरपालिकाका अभरसियर प्रेम दाहालले उक्त सडकको अवस्था आफूले पनि देखेको र के गर्न सकिन्छ आफूले हेर्ने बताए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले उक्त सडकको अवस्था अनुगमन गर्ने बताए।