
वीरेन्द्रनगर-चैत ६ गते होली पर्व। दिनभरी रंगसँग रमाए, बेलुकापख रंग पखाल्न व्यस्त थिए। दिनभरीको रमाएर थाकेका परिवार काममा व्यस्त भएका बेला वीरेन्द्रनगर नगरपालिका–६ बाट बालिका अपहरणमा परिन्।
बालिकालाई जवरजस्ती बोकेर बुलबुले तालतर्फ दौडायपछि वीरेन्द्रनगरका हर्कबहादुर बुढा मगरलाई शंका लाग्यो।केही समय पछ्याए। बालिकाले प्रतिकार गरिरहेको देखेपछि ती यूवकलाई रोक्न खोजे।
जवरजस्ती बालिकालाई भगाएका ती यूवाले हर्कबहादुरमाथि नै आक्रमण नै गरे। आफ्नो तागतले सकेसम्म प्रतिकार गरेका हर्कबहादुरले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै प्रहरीलाई खबर गरे। समयमा प्रहरी पुगेकाले बालिका बलात्कार हुनबाट जोगिइन्।
अपराधमा संलग्न ती यूवक प्रहरीको फन्दामा परे। अपहरण तथा शरिर बन्धक अभियोगमा अनुसन्धानमा भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उक्त घटनाबाट हुने दुर्घटना रोक्न जिम्मेवार नागरिरको भूमिका निर्वाह गरेको भन्दै हर्कबहादुरलाई प्रहरीले शुक्रबार सम्मान गरेको छ। जिल्लामा अपराधिक गतिविधि नियन्त्रणमा सहयोग गरेवापत सम्मान पाउने पहिलो नागरिक हुन्।
जिउँ ज्यानको प्रवाह नगरी बालिकालाई उद्धार, अभियुक्तलाई पक्राउ गर्न सहयोग गरी अपराध रोकथाममा र अनुसन्धानमा सहयोग पुर्याएर जिम्मेवार नागरिक सम्मान उनले पाए। जिल्लामा हुने अपराधिक गतिविधि रोक्न नागरिक तहबाट सहयोग गर्ने व्यक्तिलाई प्रहरीले सम्मान गर्न थालेको छ।
विगतका दिनहरुमा सामाजिक सुरक्षा, शान्ति र अमनचयन कायम राख्न हरवखत सेवा गर्ने प्रहरी जवानहरुलाई सम्मान गर्दै आएको प्रहरीले यस पटक नागरिकलाई पनि सम्मान गरेको हो।
समाजलाई शान्त र अपराधरहित बनाउनु नागरिकको पनि दायित्व पनि हुने भएकाले हर्कबहादुर जस्ता नागरिकलाई हौसलावापत सम्मान गरिने प्रहरी उपरिक्षक बसन्त रजौरेले बताए।
यस्तै फागुन महिनाको सर्बोत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई बिभागिय नीति नियम बमोजिम पुरस्कार प्रदान गरिएको छ। स्रोत साधन तथा जनशक्तिको उच्चतम सदुपयोग, मानव अधिकारको सम्मान, भौगोलिक अवस्था समुदाय र प्रहरी बीच असल सम्बन्ध कायम गरी समाजमा शान्ती सुरक्षा तथा अमन चयन कायम गर्न अहम भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो।
फागुन महिनामा प्रहरी कार्य तर्फ जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरे, लागु औषध नियन्त्रण तर्फ ईलाका प्रहरी कार्यालय लेकबेशी, सुर्खेतका प्रहरी नायव निरीक्षक मोहनलाल कुमाई, समुदाय–प्रहरी साझेदारी कार्यक्रम तर्फ ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी हवल्दार गणेशबहादुर खत्रीलाई पुरस्कृत गरिएको छ।