
बिर्तामोड – रुद–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्ष प्रदान गरिने पुरस्कृत व्यक्तिका नाम शनिबार सार्वजनिक गरेको छ। भद्रपुर ७ मा रहेको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको पुरस्कारका लागि चयन भएका नाम सार्वजनिक गरेको हो।
२०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करण अन्तर्गत पुरस्कार प्रदान गर्न लागेको हो । यसअघि प्रतिष्ठानले पाँचौ पटक पुरस्कार प्रदान गरिसकेको छ । १ करोडको अक्षयकोष राखेर समाजमा उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रतिष्ठानले हरेक बर्ष पुरस्कृत गर्दै आएको छ ।
बैशाख ७ गते काठमाण्डौको प्रज्ञा भवनमा एक समारोहको आयोजना गरी यसवर्ष चयन भएका व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । शताब्दीपुरुष डा सत्यमोहन जोशीको उपस्थितीमा पुरस्कार प्रदान गर्न लागिएको उनले बताए ।
रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार बाट ललितपुरको नख्खुका डाक्टर केदार बुढाथोकी पुरस्कृत हुने भएका छन् । बुढाथोकिले बेलायतको ‘अफ सिजन फ्रेस ओनियन प्रोडक्सन एज दि क्यास क्रप्स’ मा विद्यारिधी गरेर ३५ वर्षसम्म कृषि अनुसन्धान परिषद (नार्क) मा काम गरेका थिए ।
उनले वर्णशंकर विधिबाट उच्च गुणस्तरको टमाटर उत्पादन प्रक्रियाको विकास गरेका छन् । बुढाथोकीले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँको पुरस्कार पाउने भएका छन् । गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सुनसरीको धरानका सामाजिक अभियन्ता दुर्गा घिमिरे पुरस्कृत हुने भएकी छन् ।
एबीसी नामक संस्था स्थापना गरेर ३ हजार चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गर्न भूमिका खेलेकी घिमिरेलाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गर्न लागिएको हो । अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट पत्रकार पर्शुराम खरेल (पी. खरेल) पुरस्कृत हुने भएका छन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय खरेल हाल त्रिविको आम सञ्चार विभागमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यारत रहेका छन् । उनले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउँने भएका छन् ।
देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट दैलेखको गुराँस–३ का बालक यामबहादुर बिक पुरस्कृत हुने भएका छन् । जिल्ला वाल क्लब समितिका अध्यक्ष समेत रहेका बिकले विभिन्न सामाजिक कार्यहरुमा नेतृत्व लिदै आएका छन् । उनले ५१ हजार १ सय ११ रुपैयाँले पुरस्कार पाउँने भएका छन् ।
यसअघि भद्रपुरको लेखनाथ पुस्तकालयको संयोजनमा श्री प्रसाद ओली स्मृति साहित्यिक पुरस्कारबाट भारतको गुवाहटीकी साहित्यकार इन्दुप्रभा देवीलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ ।