
सुर्खेत– चाहे घरको काम सकेर बचेको समय होस् वा आमसभा, सार्वजनिक कार्यक्रमदेखि वीरेन्द्रनगर बजार घुम्न नै किन नहोस्, हातमा कुरुष (कपडा बुन्ने सियो), कोटको खल्तीमा कातेको ऊन सँगै हुन्छन्, जुम्लाको चन्दनाथ नगरपालिका सिँजा नारकोटका धन बुढा ।
उमेरले उनको बुढेशकाल शुरु भयो । तर, बाल्यकालदेखि नै सिकेको शीपले कर्म गर्न रोकेको छैन् । बाटोमा हिँड्दै, फुर्सदको समय साथिसंगी, आफन्त, इष्टमित्रसँग मजैले गफिन्छन् । काम गरेको र व्यस्त भएको अनुभति समेत गर्दैनन् । ऊनको सामग्री बनाउने शीप भएकाले फुर्सदको समय समेत बुढाका दुई हात काममा हुन्छन् । हातले फुर्सद पाउँदैनन् । भन्छन्,‘कुनै थकान महसुस हुँदैन् ।
हिँड्दै, गफगर्दै, कुराकानी गर्दैग¥यो, यता हातले कपडा बुन्न सकिन्छ । समय सदुपयोग हुन्छ ।’ फुर्सदकै समयलाई सदुपयोग गरेर करिव एक हप्तामा एउटा सामग्री तयार पार्छन् । न्यूनतम एक हजार ६ सय रुपैयाँदेखि माथिकै मूल्यमा बेच्छन् । ‘पकेटमा ऊन बोक्यो, बुन्दै हिन्दै, गफ गर्दै ग¥यो’ उनले भने,‘घरमा बस्दा त अरु काम हुन्छ । हात बसिसकेको छ, एउटै लयमा बुन्यो भने बिग्रिदैन ।’
उनले १३ वर्षको उम्मेरदेखि नै ऊनको कपडा हातले बनाउने गरेको बताए । बाल्यकालदेखि सिकेको शीप बुढ्शकाल लागेसम्मलाई कमाइखाने माध्यम बनेको छ । जुम्लाको चन्दनाथ नगरपालिका सिजाका भक्त रोकाय पनि फुर्सदको समयमा ऊनका सामग्री बुन्छन् ।
१५ वर्षको उमेरमा शीप सिकेका रहेछन् । ५६ वर्षीय उनको परिवारमा १० जना छन् । सबै आ–आफ्नै काममा व्यस्त हुन्छन् । परिवारका सबै सदस्य व्यस्त हुँदा उनका लागि आम्दानीको स्रोत बनेको छ, ऊनको कपडा बुन्ने शीप । परनिर्भरता हटेको छ । उनी भन्छन्,‘केही गर्न पैशा चाहियो, थोरै पैशाले काम चल्ने भयो भने माग्नु पर्दैन् । आपतविपत पर्दा सहयोग हुन्छ ।
उनले बनाउने ऊनको सामग्री एक हजार पाँच सयदेखि तीन हजारसम्मको मूल्यमा विक्रि गर्छन् । ‘फुर्सदलाई सदुपयोग गरे पुग्छ’ उनी भन्छन्,‘रुपले रुवाँ, शीपले खुवा । शीप छैन् भने केही गर्न सकिदैन् । व्यापार व्यवसाय गर्न थुप्रै लगानी र ब्यापारीक केन्द्र वा नाम चलेकै बजार चाहिदैन् । हातमा शीप भए हिँड्दै, रमाउँदै पनि कमाउन सकिन्छ ।’
ऊनको कपडा हातले नै बनाइने भएकाले बलियो हुन्छ । ऊनको कपडा तातो, टिकाउँ हुने भएकाले विकाउन कुनै समस्या छैन् । माग धेरै हुने भएकाले ऊनका सामग्री बनाउन भ्याइनभ्याई हुन्छ, उनलाई ।
प्रायः आफन्तकै माग अनुसार नै कपडा बनाउन नसकेको उनले बताए । ‘घरमा बथान भेडा पालिन्थ्यो, ऊनको कमी थिएन’ विगत सम्झना गर्दै उनले भने,‘निकै आकर्षक देखिने भएकाले पनि ऊनका कपडा धेरैले चाहियो भन्छन् तर, बनाउन सकिएको छैन् ।’ रोकायले उद्योग सञ्चालन त गरेका छैनन् तर, ऊनको कपडा चाहियो भन्ने ग्राहक कमी छैन् । बजारमा शरीरमा लगाउने स्वीटरदेखि पाहुँना आउँदा विच्छ्याउने राडीपाखीको माग बढ्दो छ ।
पोलिस्टर र विदेशी कपडा भन्दा न्यानो र बलियो भएकाले कर्णालीका राडीपाखीले बजार पाउन समस्या छैन् । तर, कसले बुनिदिने ? ऊनका कपडा बनाउने शीप यूवा पुस्तामा हराउँदै गएको छ । शीप सिक्ने यूवा पुस्ता विदेश पस्न थालेका छन् ।
‘पर्याप्त उद्योग नै छैनन्, भएपनि ऊन पाउन मुस्किल पर्छ’ उनले भने,‘विदेशमा मात्रै पैशा कमाउन सकिन्छ भन्नु गलत हो, शीप र इच्छा शक्ति भए फुर्सदको समय मात्रै सदुपयोग गरे राम्रो आम्दानी गर्न सकिन्छ ।’
काँचो ऊन प्रतिकेजी आठ सय रुपैयाँ पर्छ । कर्णालीमा पछिल्लो समयमा भेडा पालन नै हुन छोडेको छ । भेडाको रौंबाट कातेर बनाइने ऊन हिजोआज कमै मात्रामा पाउछ । जसले गर्दा काठमाडौँबाट ऊन ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । ‘एउटा स्वीटर बनाउन आठ सय ग्राम ऊन भए पुग्छ तर, यहाँ पाउँदैन्’ उनले भने,‘विगतका वर्षजस्तो राडीपाखी बेकेरै हिड्नुपर्ने अवस्था छैन् ।’
यूवापुस्तामा शीप विस्तार नहुँदा ऊनका सामग्री बनाउने काम उम्मेर ढल्केका बृद्धबृद्धामै सिमीत छ । सरकारले ऊनको उत्पादन र बजारकरणका कुनै प्राथमिकता दिएको छैन् । यूवापुस्तामा पनि ऊनका कपडा बनाउने शीप हस्तान्तरणका लागि शीप मुलक तालिम आवश्यक छ । तर, बेरोजगारी समस्याका कारण यूवाहरु खाडी जाने लस्कर नै लाग्ने गरेको छ ।
कर्णालीमा उद्योगको संख्या ज्यादै न्यून छ । उद्योगमा लगानी आकर्षण गर्न प्रदेश सरकारले सहुलियत दिनुपर्ने व्यवस्था दिने मन्त्रीहरुले भाषण दिने गरेका छन् । तर, आवश्यक नीति भने बनेको पाइदैन् ।