
काठमाडौं- अन्तरिक्षमा अब नेपालको आफ्नै स्याटालाइट ‘भू-उपग्रह’ हुने भएको छ। ‘नेपालीस्याट-१’ नाम दिईएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर प्रक्षेपण हुँदै छ। आगामी बैशाख ४ मा उक्त स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी रहेको विज्ञान प्रविधि प्रतिष्ठान- नाष्टका प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालले जानकारी दिए।
बुधबार प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले ‘स्याटालाइट र नेपालमा यसको आवश्यकता’बारे आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै ढकालले अब नेपालको आफ्नै भू-उपग्रह हुने बताए।
‘आगामी बैशाख ४ गते नेपालले पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्दै छ। यसले विश्वमा नेपालमा आफ्नै स्याटालाइट छ भन्ने सन्देश दिन र नेपाली युवाहरुमा उत्प्रेरणा जगाउन नास्टले अप्रिल १७मा अमेरिकाबाट आफ्नै स्याटालाइट अन्तरिक्षमा पठाउन लागेको छ।’
उनले युएनको ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा नेपाली युवाले स्याटालाइट निर्माण गरेको बताए। उनले भने, ‘नेपाली दुई युवाहरु स्पेस टेक्नोलोजी इन्जिनियिरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले ‘नेपालीस्याट-१’लाई निर्माण गरेका छन्। उनीहरु बर्डस् कार्यक्रम अन्तर्गत क्यूटेकमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।’
उनका अनुसार यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको बताए। उनले भने, ‘ स्याटालाइटको निर्माणको सबै काम सकिसकेका छौ।अब स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशनका लागि बोलपत्र आह्वान गरेका छौ। यसले स्याटालाइटबाट पठाएको डेटाहरुलाई संकलन र विश्लेषण गर्नेछ। हामी स्टेशनको कार्यालय नास्टकै परिसरमा राखेर काम गर्छौ।’
१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइटको प्रकार ‘नानो स्याटालाइट’ हो।यसलाई छोटो समय र कम लागतमा तयार पारिएको हो। उनका अनुसार ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्ने भएकाले खर्च धेरै र जोखिम पनि धेरै हुने भएकाले न्यानो स्याटालाइट नै नेपालको लागि प्रभावकारी हुने बताए।
उनले भने, ‘स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। तर हाल हामीले पठाएको स्याटालाइटले मुख्य रुपमा विश्वभरीको ‘फुट प्रिन्ट’ तस्बिर दिन्छ।जसले नेपालको भौगोलिक स्थिति र कम्युनिकेसनमा नेटवर्किङ सहयोग पुर्याउँछ। ‘
यस्तै पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले प्रविधिको युगमा सरकारी निकायबाट ‘टेक्नोलोजी जस्टिस’ र ग्राणिम प्रविधिमा जोड दिने नीतिहरुमा काम गर्ने पर्ने बताए।
उनले भने, ‘संसार अहले प्रविधिमा धेरै पड्को मारिसकेको छ। सरकार र सरोकारवाला निकायले प्रविधिलाई न्याय गर्दै यसको उपलब्धता, पहुँच र धान्न सक्ने नीतिको विकास गर्नु जरुरी छ। त्यस्तै ग्रामीण दूर सञ्चार कोषमा भएको रकम प्रविधि क्षेत्रमा सदुपयोग गर्नुपर्छ। यसले गाउँगाउँमा प्रविधिको पहुँच र प्रयोगलाई विकासमा सघाउन मद्दत पुर्याउँछ।’
यस्तो छ ‘नेपालीस्याट-१’ प्रक्षेपण कार्यतालिका
‘नेपालीस्याट-१’ नामको यो स्याटालाइटमा नेपालको झण्डा र नाष्टको लोगो अंकित स्टिकर टाँसिएको छ।नास्टले जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गत अप्रिलमा हस्तान्तरण गरिसकेको छ भने अप्रिल १७मा प्रक्षेपण गर्ने तयारी गरिएको छ।
प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल एटीके अमेरिकाले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ। स्याटालाइट अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेश स्टेसनमा रहेनछ। स्पेश स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन्।
मेको अन्त्यमा स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ।त्यसको दुई देखि ३/३ दिनपछि तथ्यांकहरु दिन सुरु गर्नेछ।
स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ। एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहने ढकालको भनाइ छ। स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ।
बर्डस कार्यक्रम संयुक्त राष्ट्रसंघको युनेस्कोले भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रम हो। जापानको क्यूटेकसँग सहकार्य गरी भू–उपग्रह निर्माणका लागि पहलकदमी गरेको हो, जस अन्तर्गत नेपालले अप्रिल १७ अर्थात वैशाख ४ गते नेपालीस्याट-१, श्रीलंकाको राभना-१ र जापानको उगिसू भू-उपग्रह एकैचोटी प्रक्षेपण हुनेछ।
यसअघि अफ्रिकाका घाना, सेनेगल, नाइजेरिया, मंगोलिया र त्यसपछि थाइलेन्ड र भुटानले यो कार्यक्रम अन्तर्गत भू-उपग्रह प्रक्षेपण गरिसकेका छन्।