सुर्खेत– गत वर्ष फागुन अन्तिम साता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले पत्र पठाएरै कर्णालीका स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा माग्यो। विप्लव समूहको धम्किपूर्ण पत्रले त्रसित बनेका जनप्रतिनिधिले आफ्नो ज्यान सुरक्षाका लागि सुरक्षा निकायसँग गुहार मागे।
भर्खरै निर्वाचित भएका जनप्रतिनिधिलाई राजनीनामा माग्दै त्रसित बनाएको विप्लव समूहले त्यसको ठिक एक वर्षपछि पुनः तिनै जनप्रतिनिधिलाई त्रसित बनाइरहेको छ। पछिल्लो समय सरकारले प्रतिबन्धको घोषणा गरेपछि उक्त समूहले स्थानीय तहका जनप्रतिनिधिको राजीनामा माग्ने, धम्क्याउने र विकास बजेटको केही प्रतिशत आफूहरूलाई दिनुपर्ने मागसहित त्रास फैलाइरहेको छ।
त्यति मात्र होइन विप्लव सममूहका नाममा गाउँ/नगर तथा वडा कार्यालयहरूमा आफ्नो पर्चासहित विभिन्न वस्तु राखेर तर्साउने काम गरिरहेको छ। सरकारले प्रतिबन्ध लगाएसँगै पूर्ण रूपमा भूमिगत भएको विप्लव समुहबाट यतिबेला जनप्रतिनीधिहरू निकै त्रासमा छन्।
बुधवार गुर्भाकोट नगरपालिका वडा नं. ६ वडाखोलीस्थित वडा कार्यालय अगाडी शंकास्पद वस्तु फेला पर्यो। कार्यालयको ढोका अगाडी रातो कपडा बेरेर राखिएको बस्तुले जनप्रतिनिधि र कर्मचारीलाई यति त्रसित बनायो कि दिनभर कार्यालयको काम नै प्रभावित हुन पुग्यो।
कार्यालय अगाडि विप्लव समुहको नाममा रहेको माघ महिनामा छापेको पर्चा ढुंगाले च्यापेर राखेको देखेपछि वातावरण त्रसित बनेको थियो। पर्चामा ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको थियो। विहान आठबजे मात्रै संकास्पद बस्तु भेटिएको खबर पाएका वडाअध्यक्ष धनिराम जैसीले प्रहरीलाई खबर गरे।
तत्कालै प्रहरी चौकी मेहलकुनाबाट सई सर्वजीत बलेली मगरको नेतृत्वमा टोली शंकास्पद वस्तु राखिएको वडा कार्यालयमा पुग्यो। विष्फोटक बस्तु भएको आशंकामा घटनास्थल आसपास कसैलाई प्रवेश गर्न पाएनन्। वडा कार्यालयबाट हुने काम नै प्रभावित भयो। वडाअध्यक्ष जैसीका अनुसार दिउँसो एक बजे मात्रै उक्त बस्तु नेपाली सेनाले नियन्त्रणमा लियो।
‘शंकास्पद वस्तुलाई डिस्पोज गर्न खोज्दा ढुंगा, रातो माटो र केही फलामका टुक्रा फेला पर्यो’, वडा अध्यक्ष जैसीले भने, ‘वडा कार्यालयमा सिधै पस्दा कतै केही भेटिने पो हो की भन्ने डर लाग्छ।’ त्यो घटनाले कर्मचारी, वडा सदस्य तथा नगरमासमेत त्रास फैलिएको छ।
जनप्रतिनिधिहरुको सुरक्षा अवस्थाका बारेमा राज्यले ध्यान दिनुपर्ने वडाध्यक्ष जैसीको माग छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले विप्लव समुहमाथि प्रहरीले निगरानी बढाएको बताए। प्रहरीले केही दिन पहिले वीरेन्द्रनगरबाट विप्लव समुहका दुई जना कार्यकर्ता समेत पक्राउ गरेको थियो। पक्राउ परेका अखिल क्रान्तिकारी महिला संघका केन्द्रिय सदस्य गोमा खड्का (ओली) र जिल्ला कमिटी सदस्य सिद्धबहादुर खड्कामाथि प्रहरीले अनुसन्धान थालेको छ। उनीहरूलाई वीरेन्द्रनगर–८ आवास क्षेत्रबाट पक्राउ गरिएको थियो।
सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट स्थानीय तह असुरक्षित भएसँगै जनप्रतिनीधिहरूलाई सुरक्षा निकायले सचेत गराउँदै आएको छ। एक्लै नहिड्न र अपरिचित व्यक्तिसँग भेट गर्दा संवेदनशीलता अपनाउन सुरक्षा संयन्त्रबाट प्रायः निर्देशन हुन्छ। तर, जनप्रतिनिधिहरू भने निकै सकसमा छन्। एकातर्फ जनप्रतिनीधिलाई विप्लव समुहका कार्यकर्ताबाट सुरक्षा चुनौतीबारे प्रहरीबाट सुरक्षित रहन भनिएको छ भने अर्कोतर्फ दैनिकी कामकाजका लागि एक्लै हिड्नुपर्ने बाध्यता छ।
विप्लव समुहमात्रै होइन्, राजनीतिक रिस साध्न, विकास निर्माण माथिको विवादलाई लिएर जनप्रतिनीधि असुरक्षित महसुश गरिरहेका छन्। स्थानीय सरकारको हैसियतमा रहेका जनप्रतिनीधिहरूलाई सुरक्षा गार्डको व्यवस्था छैन। ‘देशमा आन्दोलन हुन सक्ने खतरा उत्तिकै छ, जनताको कामले रातदिन नभनि हिड्नुपर्छ’, वडाअध्यक्ष जैसीले भने,‘ग्रामिण क्षेत्रमा काम गर्नुपर्छ, सधैँ साथि खोजेर पाइँदैन। कहाँ कतिबेला कसबाट के हुने हो? काम गर्न निकै गाह्रो छ।’
संघीय सरकारले विप्लव समुहका गतिविधिमा रोक लगाएसँगै अप्रिय घटना बढ्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकार लक्षित कुनैपनि घटना हुन सक्ने आँकलन गर्दै व्यापक रुपमा प्रहरी समेत परिचालन गरिएको छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































