वामपन्थीको सरकारमा पनि हाम्रा दिन आएनन्ः चिया मजदुर

वामपन्थीको सरकारमा पनि हाम्रा दिन आएनन्ः चिया मजदुर
+
-

विर्तामोड – झापाको गिरीबन्धु चिया कमानमा काम गर्ने ५४ वर्षिया सुमित्रा थापा आठ वर्षको हुँदादेखि चिया बगानमा काम गर्न थालेकी हुन्। ४६ वर्षदेखि लगातार उनी चिया मजदुर छिन्।

सुमित्राको परिवारलाई अहिलेसम्म अघाउँजी खान पुगेको छैन। उनी भन्छिन्, ‘यो पापी पेट कहिलेकाहिँ त मासु खान माग्छ। तर कसैले दियो भने खान पाइन्छ नत्र जंगलबाट निगुरो टिपेर ल्यायो मासु सम्झिँदै खायो।’

चिया बगानका मजदुरको स्थिति बुझ्न गिरीबन्धु चिया बगानको क्वाटरमा जाँदा सुमित्रा जस्ता दुःख पाएका, राम्ररी खान नपाएका, फुटपाथमा बेच्न राखिएका सस्ता ‘फाटा कम्पनी’ का कपडा नयाँ मानेर लाउने गरेका चिया मजदुर झुरुप्प भेला भए।

उनीहरुको एउटै दुःखेसो छ, ‘हाम्रा दिन कहिले आउँछ?’

त्यही चिया बगानमा काम गर्ने अर्का मजदुर पासाङ तामाङ भन्दै थिए, ‘वामपन्थीको सरकार आउँदा मजदुरले दुःख पाउँदैनन् भन्थे। तर सरकारले तोकेको ज्याला नै नपाएपछि खोइ वामपन्थीको सरकार?’

उनले दुःख मान्दै भने, ‘तिनै केही चिया उद्योगी त सरकार भन्दा माथि रहेछन्। खोइ त सरकारले हल्लाउन सकेको?’

सडक संघर्षमा चिया मजदुर।

पासाङ पनि करिव १३ वर्षदेखि सोही चिया बगानमा मजदुरको रुपमा काम गर्छन्। उनका अनुसार जीवनमा उनले अहिलेसम्म मिठो खानेकुरा खाएको चाउमिन र मम मात्र हो। पासाङ भन्छन्, ‘आफै विचार गर्नुहोस् न, अहिले पाउँदै गरेको २ सय ७८ रुपैयाँले के खान पुग्छ? के लगाउन पुग्छ?’

उनीहरु बाहिर मजदुरी गर्न जाँदैनन्। जति काम गर्ने हो चिया बगान भित्रै हो। त्यसैले उनीहरुको बाहिरी आम्दानी छैन।

करिव १२ वर्षदेखि चिया बगानमै काम गर्ने पदमा कोइरालाले अहिलेसम्म मोटो चामलको भात, एउटा तरकारी र मुसुरी दालको भात बाहेक अन्य खानेकुरा खानका लागि दशैं नै पर्खनुपर्ने बताइन्।

पदमाले भनिन्, ‘बास्मती चामलको बास्ना नै थाह छैन। खान त परै जाओस्।’

ज्यालाकै मोल मोलाइमा चिया मजदुर र चिया उद्योगीबीच तनाव उत्पन्न भएको यो पहिलो पटक भने होइन। यस अघि पनि मजदुर बारम्बार आन्दोलनमा उत्रेका हुन्। अहिले पनि त्यही ज्यालाकै कारण उनीहरु आन्दोलित बनेका छन्।

अर्की चिया मजदुर लीला गुरुङ भन्छिन्, ‘अन्य क्षेत्रका मजदुरलाई समस्या छैन। हामीमाथि नै किन यो अत्याचार? कहिले नटुंगिने यो विवादित क्षेत्रमा कुन दिनमा लागिएछ।’

चिया मजदुरहरुले चिया उद्योगीका पनि समस्या भए त्यो सरकारले पूरा गरि दिनुपर्ने बताउँछन्। तर ज्याला पाउनुपर्नेमा उनीहरु एकमत देखिन्छन्।

चिया मजदुर पासाङ तामाङ भन्छन्, ‘चिया उद्योगी घाटामा गएका भए उद्योग कसरी थपिए? चिया फ्याक्ट्री थपिरहेका छन्। नयाँ–नयाँ गाडी किनिरहेका छन्। महल बनाइरहेका छन्।’

श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एक रुपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो। चिया उद्योगीहरुका अनुसार चिया क्षेत्रलाई सबै क्षेत्रसँग मिलाइएकाले यो अवैज्ञानिक भएको हो।

झापाको टोक्ला चिया बगानमा पत्ती टिप्दै एक मजदुर।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासी थेग्नै नसक्ने गरि आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धरासायी बन्ने स्थिति छ।

उनले भने, ‘भारतमा भन्दा धेरै सुविधा मजदुरलाई हामी दिनु परेपछि हामीले हात उठाउन बाहेको अर्को विकल्प छैन।

श्रम ऐनले चिया मजदुरको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ। तर उनीहरुले २ सय ७८ रुपैयाँ पाउँदै आएका छन्। त्यही नयाँ ज्याला गत साउन महिनादेखि पाउनुपर्ने माग गर्दै विगत सातदिनदेखि मजदुर आन्दोलनमा छन्।

कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ।

यो सुविधा पाउनका लागि अब स्थायी हुनुपर्ने छैन। नयाँ श्रम ऐन–२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको छ।

तस्बिरहरु: उमाकान्त खनाल/देश सञ्चार 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?