सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा लगानी गर्न आग्रह गरेका छन्।
उद्योग र कलकारखाना विना आर्थिक समृद्धि हुन नसक्ने भन्दै कर्णाली प्रदेशमा रहेका सम्भावनाहरुमा आवश्यक लगानी गर्न उनले आग्रह गरेका हुन्। भौगोलिक रुपमा निकै विकट कर्णाली प्रदेशमा लगानीकर्ताका लागि सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले लिने बताए। ‘विकास गर्ने दायित्व सरकारको हो, सडक, अस्पताल, विद्यालय राज्यले बनाउँछ’, उनले सुर्खेत उद्योग वाणिज्य संघको ३५ औँ साधारण सभामा भने, ‘कर्णालीमा हुने लगानीको सुरक्षा दिन सरकार कटिवद्ध छ।’
लगानीकर्ताको लागि आम्दानीको वातावरण सरकारले तय गर्ने बताए। आम्दानीका क्षेत्र लगानी हुनसके मात्रै कर्णालीको विकास सम्भव रहेको भन्दै उनले उद्योगमैत्री नीती सरकारले ल्याउने बताए। ‘प्रदेश सरकार आवश्यक कानुन निर्माणको चरणमा छ, हामीलाई उद्योगी व्यवसायीहरुको सल्लाह चाहियो’ उनले भने, ‘लगानीमा कुनै पनि समस्या आउन नदिने जिम्मा प्रदेश सरकारको हो। त्यो ग्यारेन्टी हामी गर्छाैँ।’
उनले उद्योग कलकारखानाबाट कच्चापदार्थको उपयोग गरि स्थानीय स्तरमा नै उपयोग गर्न सरकरले सघाउने बताए। ‘नेपालमा बनेका सामग्रीहरु भारतलगातका देशहरुमा जान्छन्, तर नेपालमा बाहिरी मुलुकमा बनेका कच्चा सामग्रीहरु भित्रिन्छन्, अब स्थानीय उत्पादनको उपयोगीता र बजारिकरणका लागि राज्यले नै सहयोग गर्नुपर्छ।’ उनले भने। उनले कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न व्यापारिहरुलाई पनि सहयोग गर्न आग्रह गरे।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले सम्भावनाका दृष्टिकोणले कर्णाली अन्य प्रदेश भन्दा धेरै सम्भावना बोकेको प्रदेश भएकाले लगानीका लागि केन्द्रीय नेतृत्वले प्राथमिकता दिएको बताए। उनले कर्णालीको पानीलाई उपयोग गरेर विद्युत उत्पादन गर्न सके समृद्धिका लागि धेरै वर्ष पर्खिनु नपर्ने धारणा राखे।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले व्यापारिको हित, कर्णालीको समृद्धि र विकासका लागि निजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताए। उनले दिगो आर्थिक विकासका लागि सुर्खेतका विजनेस कम्प्लेक्स, प्रदेशस्तरको औद्योगिक क्षेत्र स्थापना, चौकुने सिमेन्ट उद्योग सञ्चालनका लागि पहल गर्ने लगायतका कार्यक्रमहरु अगाडी सारेका छन्। संघले आगामी आर्थिक वर्षका लागि सुर्खेत–काठमाडौं दोहोरो हवाई सुविधालाई सुलभ बनाउन पहल गर्ने, नयाँ पर्यटकीय क्षेत्रको पहिचनका लागि पहल गर्ने लगायतका योजना ल्याएको छ।
साधारण सभाको अवसरमा प्राकृतिक प्रकोप वा अन्य भवितव्यमा परि आर्थिक क्षति व्यहोरेका व्यापारीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ। उक्त अवसरमा पत्रकार ललितबहादुर बुढा लगायत कर्मचारी, समितिका पदाधिकारी, समाजसेवी लगायतलाई पुरस्कृत गरिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































