
सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुनुपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान आन्दोलन गरिरहेका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका पाँच जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेविसंघका केन्द्रिय सदस्य हरि शर्मा, स्ववियूका निर्वतमान सभापति झक्क शाही, नेविसंघका जिल्ला उपाध्यक्ष गौतम बिसी, जिल्ला सदस्य रोशन बस्नेत र राजन केसी पक्राउ परेका हुन्। चैत २५ गते स्ववियू निर्वाचन हुनुपर्ने माग राख्दै उनीहरुले आन्दोलन गर्दै आएका छन्। विश्वविद्यालय प्रशासनले स्ववियू निर्वाचन गराउन आलटाल गरेको भन्दै विद्यार्थीहरुले चरणबद्ध रुपमा आन्दोलन थालेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत केन्द्रिय क्याम्पसमा तालाबन्दी गर्न पुगेका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका पुष्प बिसीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार विद्यार्थीले तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिइएको हो। विश्वविद्यालयले भने स्ववियू निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेको छैन्।