
काठमाडौँ – सेवा छोडेर एक सातादेखि आन्दोलनमा रहेका चिकित्सकसँग सरकारले वार्ता गर्न नसक्दा सरकारी अस्पतालको सेवा प्रभावित भएको छ ।
सरकारले हालै लागु गरेको कर्मचारीको समायोजनलाई लिएर असन्तुष्टि जनाउँदै आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सक आन्दोलनमा छन् ।
सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष दीपेन्द्र पाण्डेले सरकारले आफूहरुको मागलाई बेवास्ता गर्दा सेवा ठप्प पार्न बाध्य बताए ।
‘सरकारले अहिलेसम्म हामीलाई वार्तामा बोलाएको छैन। वार्तामा नगएसम्म हामीले सेवा सुरु गर्न नसक्ने भयौँ’ उनले भने ।
स्वास्थ्य सचिव चन्द्र घिमिरेले सरकारी चिकित्सकले सेवा छोडेर आन्दोलनमा उत्रिनु नै गलत भएको बताए । ‘हामीले वार्तामा बोलाएकै छौँ । तर उहाँहरुको माग सरकारले पूरा गर्न सक्ने अवस्था छैन’, घिमिरेले भने ।
चिकित्सकको आन्दोलनले सरकारी अस्पतालमा जाँचका जाने हजारौँ बिरामी प्रभावित भएका छन् । अस्पतालमा पूर्व निर्धारित शल्यक्रिया, अध्ययन तथा परीक्षा स्थगित भएका छन् । अहिले करिब १४ सय सरकारी चिकित्सक छन् ।