सुर्खेत-आगामी वैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली प्रिमियर लिग (केपिएल)को दोस्रो संस्करणमा आठ टिमले सहभागिता जनाउने भएका छन्। आयोजक कर्णाली क्रिकेट एकेडेमीले प्रतियोगितमा सहभागी हुने आठ टिमको नाम सार्वजनिक गरेको हो।
प्रतियोगितामा तीन विभागीयसहित देशका विभिन्न सहरका अन्य पाँच प्रतिष्ठित क्लबहरूको सहभागीता रहने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लबले सहभागिता जनाउने छन्।
यस्तै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालिगुराँस क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडमी काठमाडौंले सहभागिता जनाउने पक्का भएको छ। त्रिभुवन आर्मी केपीएलको पहिलो संस्करणको विजेता टिम हो।
प्रतियोगिता सञ्चालनको लागि स्थानीय कालुन्चोक क्रिकेट मैदान मर्मतको काम भईरहेको अध्यक्ष शाहीले जानकारी दिए। उनले केन्द्र, प्रदेश र जिल्लास्तरका कुनै पनि खेलकुद निकायबाट सहयोग प्राप्त नभएको भन्दै आफूहरूले विभिन्न दाताहरूसँग सहयोग उठाउँदै मैदान निर्माणमा जुटिरहेको बताए। प्रतियोगिता सञ्चालन गर्न मैदानको स्तरोन्नतीको काम भइरहेको छ।
मैदान सम्याउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भइरहेको छ। बैशाख १२ गतेदेखि २१ गते सम्म हुने प्रतियोगिताको खेल जनता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ। पुरस्कार र ट्रफि केही दिनमा घोषणा हुने अध्यक्ष शाहीले जानकारी दिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































