
काठमाडौं– चाइना इस्टर्नको विमानबाट दुईजना चिनियाँ नागरिक माओ यिङहुआ र ज्याङ जियाङ काठमाडौं एयरपोर्टमा अपरान्ह ४ बजे उत्रे।
जब उनीहरु भन्सारको ‘वाक थ्रु’ मा हिँडे त्यो बेला भन्सार तथा प्रहरीले उनीहरुको शरीरमा केही रहेको कुरा थाहा पाए।
भन्सारको एक्स-रे मेसिनमा उनीहरुको पेटमा केही धातु रहेको पत्ता लाग्यो। त्यसपछि उनीहरुको अस्पताल लगेर एक्स- रे गराउँदा सुनको ढिक्का रहेको पत्ता लागेको काठमाडौं एयरपोर्टका भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए।
ती दुई चिनियाँ नागरिकलाई भन्सारमा ल्याएर बेस्कन पानी पिउन लगाइएको काठमाडौं विमानस्थलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
उनले भने, ‘उनीहरुलाई पानी पिलाएको आधा घन्टामा मलद्वारबाट भटाभट सुनका ढिक्का निस्किए।’
अहिले ती चिनियाँ नागरिकलाई प्रहरी प्रभाग कोटेश्वरको हिरासतमा राखिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।
उनीहरुको कुरा सुन्नका लागि भाषा अनुवादक चाहिने भएकाले भोलि मात्र बयानको काम थालिने उनले बताए। उनीहरु सुन कारोबारी हुन् वा भरिया मात्र भन्ने कुराको टुंगो बयानपछि लाग्ने प्रहरी उपरीक्षक कोइरालाले बताए।