
विर्तामोड – दक्षिण झापामा दिनहुँ जस्तो जंगली हात्ती मानव बस्तीमा पसेर जन धनको क्षति गर्न थालेपछि ती जंगली हात्तीलाई जंगलभित्रै सीमित गरिने भएको छ।
झापाको हल्दिबारी र कचनकवलस्थित जलथलको चारकोशे जंगलमा विद्युतीय तारवार गरिने भएपछि जंगली हात्ती जंगलभित्रै सीमित हुने आशा स्थानीयबासीले गरेका छन्।
प्रकृति संरक्षण कोषमार्फत खर्च गर्ने गरि नेपाल सरकारको ६ करोड रुपैयाँको लागतमा जलथल चारकोशे जंगल क्षेत्रको करीब ४१ किलोमिटर क्षेत्रमा तारवार गर्न लागिएको झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले जानकारी दिए।
उनका अनुसार हल्दिबारी गाउँपालिकाका वडा नं ३, ४, ५ र कचनकवल गाउँपालिकाका वडा नं १, ६ र ७ मा विद्युतीय तारवार गरिनेछ ।
हात्ती नियन्त्रणका लागि पहिलो चरणमा जलथल जंगल वरिपरि विद्युतीय तारवार गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए।
‘तारवारका लागि ठेक्का लागिसकेको छ’, उनले भने, ‘तारवारका लागि तीन वटा कम्पनीले संयुक्त रुपमा काम गर्नेछन्।’
उक्त तारवार निर्माणको काम यही आर्थिक वर्ष भित्र सम्पन्न गरिसक्नु पर्नेछ। सांसद लिङदेनले भने, ‘मंगलबारबाटै तारवारका लागि मार्किङ गर्ने काम सुरु भइसकेको छ।’
विद्युतीय तारवारका लागि न्यू क्रिएशन, पशुपति र फ्रेञ्च गार्ड जेभीले ठेक्का पाएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए।
हाल झापाका जंगलमा १० देखि १५ वटा हात्ती स्थायी रुपमा बस्दै आएको सहायक वन अधिकृत उप्रेतीले बताए।
भारतबाट आउने जंगली हात्तीको प्रवेश रोक्नका लागि यस अघि मेची नदी किनारमा विद्युतीय तारवारको निर्माण गरि सकिएको छ।