
विर्तामोड– झापा विर्तामोडमा रहेको वीरता जेसीजका पूर्व अध्यक्षहरुको समाजद्वारा स्थापित उत्कृष्ट नागरिक सम्मानबाट चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडाल सम्मानित भएका छन्।
समाजद्वारा बर्षेनी आयोजना गरिने गरिएको उत्कृष्ट नागरिक सम्मानबाट यस बर्ष चुँडाल सम्मानित भएका हुन्।
झापाबासी चुँडाल विगत दुई बर्षदेखि चन्द्रगढी विमानस्थलका प्रमुखमा कार्यरत छन्। उनी चन्द्रगढी विमानस्थल आए लगत्तै जीर्ण बनेको विमानस्थललाई पुनर्जीवन दिन प्रयासरत थिए।
जस्को फलस्वरुप अहिले उक्त विमानस्थलको काँचुली फेरिएको छ। रात्रीकालिन उडान तथा अवतरणको व्यवस्थासमेत गरिएको छ।
बिहीबार झापाको विर्तामोडमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चुँडाललाई सम्मानपत्र प्रदान गरेर सम्मान गरे।
वीरता जेसीजलगायत करिब एकसय संघ संस्थाका प्रतिनिधिहरुले उनलाई सम्मान गरेका थिए।