
सुर्खेत-गाउँमै एउटा कुवा। बिहान उठेदेखि रित्तो गाग्री लिएर लाइन बस्नुपर्ने बाध्यता। परिवारदेखि गाईबस्तुसम्मलाई कुवाकै पानीको भर पर्नुपर्थ्याे, चिंगाड गाउँपालिका-२ गिठेनीका स्थानीयलाई।
वर्षा याममा जताततै पानी भए पनि माघ, फागुनदेखि असारसम्म निकै समस्या हुन्थ्यो। ‘झिसमिसे उज्यालो मै गाग्री बोकेर पधेंरो पुग्यो, घरमा घाम परेपछि फर्किनुपर्थ्याे’ चिङ्गाड-२ गिठेनीकी लली शर्माले खानेपानीको समस्या सम्झिदै भनिन्, ‘दिनमा बिहानदेखि साँझसम्म एक जनालाई ६ गाग्री पानी बोक्दैमा बित्थ्यो। समयमा कुवामा पुगिएन भने पानी पाउनै मुस्किल हुन्थ्यो।’
बस्तीदेखि माथि पानीका मुहानहरु छैनन्। गाउँदेखि झण्डै आधा घण्टा ओरालो हिडेर पानी ल्याउनुपर्थ्याे। ओरोलोमा सहजै गए पनि उकालो आउँदा निकै सकस हुन्थ्यो। ‘घरमा खानेपानीको निकै चिन्ता हुन्थ्यो, झण्डै आधा वर्ष यस गाउँका बासिन्दालाई निकै दुःख थियो’ उनले भनिन्,‘आधा जूनी पानी बोक्दैमा गयो।’
गाउँलेका लागि एउटै कुवा भएकाले कहिलेकाँही धमिलो पानी पनि खानुपर्थ्याे। कहिलेकाही अल्लारे युवा-युवतीले आफू पानी भर्ने अनि कुवामा पानी नै धमिलो बनाइदिने गर्थे। जसले गर्दा पिउनका लागि धमिलै पानी उपयोग गर्नुपर्ने हुन्थ्यो। विकल्पका रुपमा खानेपानीका मुहान नहुँदा निकै समस्या खेप्नुपर्थ्याे।
‘जेठ वैशाखको गर्मीमा गाईवस्तुलाई प्यासै मेटाउन हम्महम्मे पर्थ्याे’ शर्माले भनिन्। खानेपानीका ति दुःख उनका लागि पछिल्लो समयमा हराएको छ। ललीको मात्रै होइन्, वस्तीकै दैनिकी फेरिएको छ। घर-आँगनमै पानीको धारा निर्माण भएका छन्। २४ घण्टा धारामा पानी आउँछ।
पानीका अभावका कहर हटेको छ। ‘हिजोआज नियमित नै पानी आँगनमा आएको छ, विगतको जस्तो धमिलो पानी खानुपर्ने र बिरामी हुनुपर्ने समस्या समेत हटेको छ’ स्थानीय झुपा खत्रीले भनिन्,‘आँगनमा धारा बनेपछि पानी बोक्ने समय बचत भएको छ। वितगका ती दुःखबाट उन्मुक्ति मिलेको छ।’
पानी अभावका कारण विगतमा सुख्खा देखिने गाउँ धारामा पानी आउने गरेपछि हरियो बनेको छ। धाराबाट बगेको पानी करेसाबारीमा उपयोग हुन्छ। नुहाउँदा, कपडा धुँदा, भाडा माझ्दा धाराबाट बगेको पानीसमेत उपयोगी बनेको छ।
सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित पहल परियोजनाले खानेपानी आयोजना निर्माण गरेको हो। पहल परियोजनाको ५ लाख, चिङ्गाड गाउँपालिकाको ५ लाख र जनश्रमदानबाट ९ लाख ९६ हजार २ सय ९७ रुपैयाँ गरी जम्मा १८ लाख ९६ हजार २ सय ९७ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो।
झण्डै साढे दुई किलोमिटर टाढाबाट गाउँमा खानेपानी पुर्याइएको छ। खानेपानीबाट ३३ घरपरिवार लाभान्वित भएका छन्। समुदायमा ११ वटा खानेपानीका धारा, चारवटा सिचाई धारा जडान गरिएको छ।
घर नजिकै धारामा पानी आउन थालेपछि तरकारी खेतीबाट किसानहरुले आम्दानीसमेत गर्न थालेका छन्। ‘मौसम अनुसारको तरकारी खेती गर्न थालेका छौँ, तरकारीबाटै घर खर्च समेत चलेको छ’, खत्रीले भनिन्, ‘धारा बनेपछि विगतको भन्दा थुप्रै फाइदा भएको छ। पहिले खानेपानी नै हुन्थेन, हिजोआज तरकारी खेती गर्ने समेत पुगेको छ।’
विगतमा असार साउनबाहेक अन्य समयमा भान्सामा हरियो तरकारी नपाक्ने उनको भान्सामा अहिले कुनै अभाव छैन्। बाह्रैमास बारीमा तरकारी फल्छ। पहिले किन्ने उनी अहिले बेच्छिन्।
सिंगो बस्तीमा नै तरकारी खेति फस्टाएको छ। पहल परियोजनाले पलाष्टिक पानी पोखरी निर्माण गरिदिएको छ। जसको सहायताले तरकारी खेतीमा सिँचाई सुविधासमेत पुगेको हो।
विगतमा तरकारी किन्ने त्यस गाउँका स्थानीय बासिन्दाले यतिबेला बिक्री गर्न थालेका छन्। धाराको पानीले आम्दानीसमेत दिएको छ। उनीहरुले तरकारीबाट मनग्य आम्दानी गर्न थालेका छन्।