
सुर्खेत– स्थायी बसोवास कर्णाली प्रदेशमै भएका निजामति कर्मचारीलाई घरपायक पर्ने गरी समायोजन हुन नमानेका कारण कमर्चारी अभाव भएको प्रमुख जिल्ला अधिकारी फणेन्द्रमणी पोखरेलले बताएका छन्।
गण्डकी प्रदेशबाट सरुवा भएर केही दिन पहिले मात्रै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका उनले पत्रकार सम्मेलनमा कर्णालीबाट जागिर खाएका कर्मचारी नै कर्णालीमा आउन नमान्नु समस्या भएको बताएका हुन्। स्थानीय तह र प्रदेश सरकारले जनशक्ति अभाव झेल्नु परेको मुख्य कारण नै कर्णालीका कर्मचारीले संघ र अन्तरप्रदेश रोज्नु रहेको उनले बताए।
‘कर्णालीका कर्मचारी कर्णालीमै आएर काम गर्नुपर्ने हो तर कोही पनि आउन मान्नुभएन’, उनले भने, ‘लोकसेवा आयोगको परीक्षामा पिछडिएको कर्णालीबाट जागिर खाने तर, काम गर्न काठमाडौं र सुगम रोज्ने संस्कारले कर्णालीले कर्मचारी अभाव झेलेको हो।’
उनले नेपाल सरकारले कर्मचारी व्यवस्थापनका लागि रोजेको समायोजन पक्रिया वैज्ञानिक नभएको उनले बताए। ‘यो क्षेत्रकै मान्छेलाई यहिँका विभिन्न निकायमा जिम्मेवारी तोकेर पठाउनुपर्ने हो’, उनले भने,‘बाहिरको व्यक्ति आएको असहयोग भएको अनुभुती भए सरुवा लिएर जान्छ, अनि काम प्रभावित हुन्छ।’
उनले सुर्खेत जिल्लाको शान्ति सुरक्षा, अमनचयन र प्रशासनिक कार्यसम्पादन कुशलतापूर्णक निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन्। स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर काम गर्ने उनले बताए।