
सुर्खेत–कर्णाली प्रिमियर लिग (केपीएल) को पहिलो खेलमा घरेलुटोली कर्णाली ११ ले विजयी सुरुवात गरेको छ।
विहीबारदेखि शुरु भएको प्रतियोगितामा झापाको लालिगुराँस क्रिकेट एकेडमीलाई ८ विकेटले हराउँदै कर्णालीले शानदार सुरुवात गरेको हो।
१०२ रनको लक्ष्य कर्णालीले कप्तान रबिन्द्रजंग शाहीको अविजित ४५ रनको पारीसँगै १४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो ।
टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १ रन बनाएको हो। लालिगुँरासका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाएका थिए।
पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिएका थिए । दिवान पुनले पनि तीन तथा जितेन्द्र सिंह ठकुरीले दुई विकेट हात पारे ।
प्रतियोगिताको दोस्रो खेल शुक्रबार ८ बजे न्यु होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी बीच हुने छ भने दिउँसो विभागिय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन।
२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभाग सहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए।
लिग–कम नक–आउट फर्म्याटमा हुने प्रतियोगितमा २ समुहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन्।
लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ, भने उपविजेताले दुई लाख हात पार्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०र२० हजार पाउने छन्।
फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।