
काँकरभिटा-नेपाल आर्मी कठिन जितका साथ मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतवार सम्पन्न खेलमा धरान फुटवल क्लवलाई २−१ ले पाखा लगाउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पहिलो चरणको खेलमा च्यासल युथ क्लब काठमाण्डौलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको धरान आर्मीसँगको भेटबाट घर फर्किएको छ।
नियमित खेल्ने तीन खेलाडीबीना नै मैदानमा उत्रिएको आर्मीबिरुद्ध धरानले गरेका दर्जनौं प्रहार खेर गएका थिए।
खेलको २९ औं मिनेटमा टंक बस्नेतले गोल गरेका थिए। सन्तोष तामाङको पासमा बस्नेतले गोल गर्दै टीमको लागि गोलको खाता खोलेका थिए। ४१ औं मिनेटमा सुमन अर्यालको पासमा आर्मीका नियमित स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरे।
४० औ मिनेटमा धरानका दोर्जी तामाङको शक्तिशाली प्रहार आर्मीका खेलाडीलाई लागेर रिवाउन्स भएको बललाई मिलन राईले बिपक्षी पोष्टको दिशा दिएका थिए।
१५ औं मिनेटमा सन्तोष तामाङको फ्रि किक धरानका गोलरक्षक बिनय श्रेष्ठले पञ्च गरे। २१ औ मिनेटमा पेनाल्टी एरियामा पाएको हेडर आकाशियो। ३८ औ मिनेटमा सन्तोष तामाङको फ्रि किक पोष्ट बारमा लागेर फर्कियो।
धरानका बर्तमान राईले २३ औं मिनेटमा प्रहार गरेको फ्रि किक आर्मीका गोलरक्षक बिश्वास चौधरीले पञ्च गरेर जोगाए। २४ औ मिनेटमा दोर्जे तामाङको शक्तिशाली प्रहार क्रस बारमा लागेर फर्कियो।
५३ औ मिनेटमा बर्तमान राइले गरेको प्रहार आर्मीका गोलरक्षक चौधरीले बिफल बनाउँदा धरान बराबरी गर्ने अवसरबाट बञ्चित भयो। ७६ औं मिनेटमा डी बक्स नजिकैबाट मिलन राईले प्रहार गरेको फ्रि किक आकाशियो।
८४ औ मिनेटमा मिलन राईले गरेको प्रहार पोष्ट बारमा लागेर फर्कियो। खेलको इनजयुरी समयमा बिष्णु सुनारको कडा प्रहार बिपक्षी पोष्टमा लागेर फर्कियो।
खेलको म्यान अफ द म्याच बिजेता टोली त्रिभुवन आर्मी क्लब सुमन अर्याल घोषित भए। उनले नगद ११ हजार रुपैंया पुरस्कार भए। सोमबारको खेल नेपाल पुलिस क्लब र भुटानको पारो एफसीबीच हुने आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले जानकारी दिए।