
विर्तामोड – निरुपण गर्ने र मेलमिलापद्वारा निरुपण गर्ने २३ वटा मुद्दामा काम गरिरहेको कतिपय स्थानीय तहका न्यायिक समितिका लागि अहिलेसम्म पनि न्यायिक इजलास बन्न सकिरहेको छैन।
जस्का कारण मुद्दाको छलफल तथा निरुपण गर्दा गोपनीयता नहुने गरेको स्थानीय तहका न्यायिक समितिका संयोजकहरु बताउँछन्।
खासगरी आर्थिक स्रोत कमजोर, भाडाको घरमा कार्यालय सञ्चालन र कतिपय संरचनाहरु पुरानै ढाँचामा बनेकाले न्यायिक इजलासको अभाव भएको उनीहरुको भनाई छ।
झापाको कचनकवल गाउँ कार्यपालिकाको कार्यालय अहिले भाडामा लिएका तीन वटा घरमा छ।
कर्मचारी बस्ने ठाउँ समेत व्यवस्थापन गर्न गाह्रो परेको अवस्थामा न्यायिक समितिका लागि इजलासको संरचना बनाउने अवस्था छैन।
जस्का कारण न्यायिक समितिले गर्ने काममा बाधा पुगेको गाउँपालिकाकी न्यायिक समितिकी संयोजक नीमसरी राजवंशी बताउँछिन्।
उनले भनिन्, ‘धेरै छलफल गोप्य हुन सकिरहेका छैनन्। मान्छेहरु भीडभाडका कारण समस्या झेल्नु परिरहेको छ।’
त्यस्ता धेरै स्थानीय तह छन् जस्ले आय स्रोतको अभावमा न्यायिक समितिका लागि न्यायिक इजलास बनाउन सकिरहेका छैनन्।
खासगरी पुराना नगरपालिकाहरुको संरचना पनि पुरानै ढाँचामा बनेका र धेरै गाउँपालिका कार्यालयहरु व्यक्तिका घर भाडामा लिएर चलाएकाले न्यायिक इजलास बनाउन नसकिएको स्थानीय तहका जनप्रतिनिधिहरुको भनाई छ।
बाग्लुङको ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन मगरका अनुसार नगरपालिका भवनमा न्यायिक इजलास नहुँदा समस्या झेल्नु परिरहेको छ। उनले भनिन्, ‘न्यायिक इजलास नहुँदा निकै गाह्रो छ न्याय सम्पादनका काम गर्न।’
आर्थिक स्रोत बलियो भएका कतिपय स्थानीय तहमा भने न्यायिक इजलास बनाइसकिएको छ। जस्का कारण न्यायिक समितिलाई काम गर्न सहज हुने गरेको त्यस्ता स्थानीय तहका न्यायिक समितिका संयोजकहरु बताउँछन्।
मकवानपुरको हेटौडा उपमहानगरपालिकाले इजलास बनाएका कारण न्यायिक सम्पादन धेरै सहज भएको उक्त नगरपालिकाकी उपप्रमुख मीना लामाले बताइन्।
उनले भनिन्, ‘हामीले पनि पहिला धेरै समस्या भोग्यौं। अहिले छलफल चलाउँदा गोप्य ढंगले चलाउन सहज भएको छ।’
ज्याला मजदुरी नदिएको, अर्काको बाली नोक्सानी गरेको, ज्येष्ठ नागरिकको हेरचाह तथा पालन पोषण नगरेको लगायत १३ वटा मुद्दा निरुपण गर्ने अधिकार स्थानीय न्यायिक समितिलाई छ।
पति पत्नीवीचको सम्बन्ध विच्छेद, गाली बेइज्जती, लुटपाट लगायत ११ वटा मुद्दा मलमिलापबाट निरुपण गर्ने अधिकार स्थानीय न्यायिक समितिलाई दिइएको छ।