
विर्तामोड– जिल्ला प्रहरी कार्यालय झापाको सक्रियतामा झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने योजनाले हावा खाएको छ।
गत माघ १ गतेदेखि नै झापामा मदिराको बेचबिखन तथा उपभोगलाई नियमन गर्नका लागि तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले बनाएको योजनालाई ध्यान दिएर अगाडि बढाउन नसकिएको प्रहरी स्वयंले स्वीकार गर्दै आएको छ।
उक्त योजना आउन अघि जस्तो किसिमको मदिराको बिक्री थियो उस्तै किसिमको बिक्री अहिले पनि छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार मदिरा बिक्री तथा उपभोगलाई नियन्त्रण गर्ने प्रयास भए पनि ध्यान दिएर त्यस काममा लाग्न नसकिएको हो।
डिएसपी श्रेष्ठले भने, ‘त्यो कार्यक्रम राम्रो हो। हामीले कोशिस गर्दा पनि अन्य कामले त्यता ध्यान दिन पाइएको छैन।’
सार्वजनिक स्थल वरपरका पसलहरुमा मदिराको खुल्ला बिक्रीलाई नियन्त्रण गरिराखिएको श्रेष्ठले बताए। उनका अनुसार अहिलेसम्म करिब ३ सय त्यस्ता सार्वजनिक स्थलमा भएका पसल हटाइसकिएको छ।
तत्कालिन प्रहरी उपरीक्षक ढकालले उक्त योजना निकै महत्वका साथ अगाडि ल्याएका थिए। विभिन्न स्थानीय तहसंग छलफल गरि उक्त योजना उनले अगाडि सारेका थिए।
मदिरा सेवनको केन्द्र बन्दै सीमा
भारतका मदिरा पारखीहरुका लागि नेपाली सीमामा खुलेका मदिरा पसलहरु मदिरा पिउने केन्द्र बन्दै गएका छन्।
नेपाली सीमामा त्यस्ता नयाँ–नयाँ मदिरा पसलहरु खुल्दै गइरहेका छन्। कतिपयका लागि वैकल्पिक आय आर्जनको स्रोत नै बनेको छ।
भारत बिहारको फत्तेपुरसंग जोडिएको पश्चिम दक्षिण झापाको गौरीगञ्ज नाकासँगै टाँसिएका स्थानमा चारवटा मदिरा पसल छन्।
२६ नोभेम्बर २०१५ मा बिहारमा मदिरा बन्दको घोषणा भएको थियो। ५ अप्रिल २०१६ देखि बिहारमा मदिरा पूर्ण रुपमा प्रतिवन्ध लगाइयो।
त्यसपछि भारत बिहारका मदिरा पारखी भारतीय नागरिकका लागि नेपाली सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलहरु मदिरा पिउने केन्द्र बन्न थाले। त्यस्ता भारतीय नागरिकहरु नेपालमा आएर मदिरा पिउने परिपाटी अहिले पनि जारी छ।
नेपाल र भारतका ढाट बीचमा रहेको मदिरा पसल सञ्चालक इन्द्र गन्गाईले भने, ‘उनीहरुले सस्तो प्रकारको मदिरा खान्छन्। एक पटक पचासदेखि एक सय रुपैयाँ खर्च गर्छन्। मदिरासँग केही खाजा पनि खान्छन्।’
बिहारबाट मदिरा पिउने मानिस प्रायः बेलुकीपख आउने गरेको गन्गाईले बताए।
बिहारमा मदिरा बन्द भएपछि नेपालका नाका छेउछाउका मानिसहरुले मदिरा पसल गरेर आय आर्जन गर्ने बाटो समाए।
अहिले त्यस्ता मानिसहरुले अन्य काम धन्दा छोडेर मदिरा पसल सञ्चालन गरिरहेका छन्। गौरीगञ्ज जनता चोककी ललिता गन्गाईले भनिन्, ‘यो पेशा पनि गर्न पाइएन भने के गरेर खानु? बाल बच्चा छन्। हाम्रो खेतिपाती पनि धेर छैन। हामी यही उपायले खाइरहेका छौं।
तर मदिरा पिउने मानिसहरुले होहल्ला भने गर्ने नगरेको मदिरा पसल सञ्चालन गरिरहेकी कल्पना खड्काले बताइन्।