जाली भारुका कारोबारी अन्सारीको स्टाइल: मुसुमुसु हाँसिरहे अनि भने- मास्क लगाउनुको के अर्थ छ र ?

जाली भारुका कारोबारी अन्सारीको स्टाइल: मुसुमुसु हाँसिरहे अनि भने- मास्क लगाउनुको के अर्थ छ र ?
+
-

काठमाडौं- साढे सात करोड रुपैयाँभन्दा बढी नक्कली भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट शुक्रबार पक्राउ गरिएका ६ जनालाई पत्रकार सम्मेलनका लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय ‘मेट्रो’मा ल्याइँदा तीमध्ये एक जनाको हुलिया निकै फरक थियो।

हातमा लगाएको हत्कडी नदेखिँदासम्म उनी प्रहरीजस्तै लाग्थे। शिरमा टोपी अनि सर्ट पाइन्ट बाहिर ब्लेजर। झट्ट हेर्दा साधा पोसाकका प्रहरीजस्तै। अनुहारमा मास्क पनि लगाइएको थिएन र त्यस्तो गर्ने ६ जनामा उनी एक्ला थिए। मास्क नलगाइएको त्यो अनुहारमा अभियुक्तको जस्तो कुनै ‘छनक’ थिएन।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलमा नियन्त्रणमा लिइएपछि ती व्यक्ति आफैले अनुहार छोप्न मानेनन्। पत्रकार सम्मेलनमा उनै अर्थात नेपालका चर्चित नक्कली भारतीय रुपैयाँका कारोबारी युनिस अन्सारी भन्दै थिए,  ‘ मास्क लगाउनुको के अर्थ छ र ?’

नेपाल प्रहरीको प्रतिआतंकवाद हेर्ने विषेश ब्युरोले लगातारको निगरानीपछि शुक्रबार दिउँसो कतार एयरवेज हुँदै सात करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँ लिएर आएका तीन पाकिस्तानी र उनीहरुलाई रिसिभ गर्न पुगेका युनिस, उनका साला पर्ने एक नातेदार र चालकसहित ६ जनालाई पक्राउ गरेको हो।

अन्सारी  यसअघि पनि दुईपटक नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। २०६६ सालमा पहिलोपटक पक्राउ परेका उनी चार वर्ष कारागार बसेर छुटेका थिए। दोस्रोपटक समातिँदा पनि जेल चलान भएका युनिस १४ महिनाअघि मात्र छुटेका हुन्।

भारतले युनिस पाकिस्तानको गुप्तचर संस्था आईएसआईको नेपाल एजेन्ट भएको दावी गर्दै आएको छ। पहिलोपटकको कारागार चलान भएको बेला युनिसलाई सुन्धारास्थित केन्द्रीय कारागारमा गोली प्रहार भएको थियो।

भारतीय गुप्तचर संस्था ‘रअ’कै योजनामा कारागार भित्रै  युनिसमाथि हत्याको प्रयास भएको सुरक्षा अधिकारीहरु बताउँछन्। त्यस घटनामा पक्राउ परेका भारतीय नागरिक अहिले जेलमा छन्। त्यतिबेला अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्- युनिसलाई गोली हानेर पेस्तोल फ्याँक्दै आत्मसमर्पण गरेका ती भारतीयबाट थप केही खुल्न सकेन।

भारतविरोधी नेपाली मुस्लिमहरुको दिनदहाडै रहस्यमय हत्या भइरहँदा त्यसको आरोप भारतीय गुप्तचर संस्थामाथि लाग्ने गरेको छ। शुक्रबार  पक्राउ पर्ने पाकिस्तानी नागरिकमा ४९ वर्षीय मुहमद अख्तर, ३९ वर्षीया नादिया अनवर र ६७ वर्षीय नासिर उद्दिन छन्।

नादिया र नासिर नाताले मामा-भान्जी रहेको प्रहरीले जनाएको छ। यी तीनै जना दुई दिनअघि पाकिस्तानबाट कतार पुगेका थिए। नक्कली भारु उनिहरुले कहाँबाट ल्याए भन्नेमा प्रहरी यकिन हुन सकेको छैन। स्रोतका अनुसार युनिस जेलबाट छुटेपनि प्रहरीले उनका गतिविधीमाथी सुक्ष्म निगरानी राख्ने गरेको थियो।

युनिस पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन्। युनिस नेशनल टेलिभिजनको अध्यक्ष रहेकै बेला उनलाई नक्कली भारु कारोबारमा पक्राउ गरिएको थियो। पछि नेशनल टेलिभिजन पनि बन्द भयो। पछिल्लो समय ललितपुरको ताल्छिखेलमा बस्दै आएका युनिस त्यहाँ श्रीमती र दुई सन्तानसँग  बस्दै आएका थिए।  स्थायी घर बारा भएका युनिसका बुबा सलिमको केही वर्षअघि मृत्यु भईसकेको छ।

प्रहरीले युनिसलाई उच्च सुरक्षा घेरामा राखेको छ। उनको सुरक्षामा चुनौती रहेको ठहर गर्दै अदालत लादाँ ल्याउँदा सुरक्षा व्यवस्था बलियो बनाउन काठमाडौं प्रहरी परिसरलाई मेट्रोले निर्देशन समेत दिएको छ। ‘ यो टिमको सुरक्षामा कुनै कसर बाँकी नराख्नुस्’ , मेट्रो प्रमुख डीआइजी शैलेश थापाको निर्देशन उदृत गर्दै काठमाडौं परिसरका एक अधिकारीले भने। राष्ट्रिय जनता दलका पूर्व अध्यक्ष युनिस नेपाल कुस्ती संघका पनि पूर्व अध्यक्ष हुन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलैश थापाका अनुसार पक्राउ परेका पाकिस्तानी र युनुसबीच प्राविधिक सम्बन्ध रहेको देखिएको छ।

कहाँ पुग्छ नक्कली भारु 

नेपालमा पटकपटक बरामद हुने नक्कली भारतीय रुपैयाँ किन यहाँ भित्रन्छ ? भारतले पाकिस्तानकै योजनामा ती रकम नेपाल हुँदै भारतमा भित्रने र भारतीय अर्थतन्त्रलाई कमजोर बनाउने षडयन्त्र भएको आरोप लगाउने गरेको छ। सुरक्षा अधिकारीहरु नेपालमा भेटिने गरेको नक्कली भारतीय रुपैयाँ भारतीय बजारमा पुर्‍याउन ल्याईएको दावी गर्छन्। ‘ एकैपटक यत्रो रकम बजारमा जाँदैन। थोरै थोरै गरेर फरक फरक ठाउँमा पुर्‍याइन्छ’, विषेश ब्युरोका एक अधिकारी भन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?