
विर्तामोड – २५ वर्षे शासन समाप्त भएपछि भारतको हिमाली राज्य सिक्किममा मुख्यमन्त्री पवनकुमार चाम्लिङका समर्थन तथा शुभेच्छुकले गहभरि आँसु पारेर विदाइ गरेका छन्।
शनिबार मुख्यमन्त्रीको सरकारी निवास मिन्तोग्याङमा समर्थकहरुले रुँदै उनलाई फूलमाला तथा खादा ओडाएर विदाइ गरेका हुन्।
समर्थकहरु रोएपछि चाम्लिङले पनि गहभरि आँसु बनाउँदै सम्झाउने कोशिस गरेका थिए।
विधान सभा चुनावमा सिक्किम क्रान्तिकारी मोर्चासँग पराजय भोगेपछि चाम्लिङले विज्ञप्ति जारी गर्दै जनताको बहुमतको कदर गर्दै सक्रिय प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘म प्रजातान्त्रिक विचारमा अडिग राजनीति कर्मी हुँ। जनताले यसपाली मलाई प्रतिपक्षीको भूमिका निर्वाह गर्न म्यान्डेट दिएका छन्। जुन सक्रियतापूर्वक निर्वाह गर्नेछु।’
यसैबीच उनले आइतबार सरकारी निवास छोड्ने बताइएको छ। नयाँ सरकार गठनका लागि सिक्किम क्रान्तिकारी मोर्चाको संसदीय दलको बैठक बसी नयाँ मुख्यमन्त्रीका रुपमा मोर्चाका अध्यक्ष पिएस गोलेलाई अगाडि सारेको छ।
गोले विधान सभा चुनावमा उम्मेद्वार थिएनन्। तर भारतको संविधान अनुसार केही समय मुख्यमन्त्री भएर ६ महिना भित्र उपचुनाव गरेर जनताको मत प्राप्त गर्नुपर्ने हुन्छ।
नयाँ सरकारको सपथ ग्रहण २७ तारिक सोमबार गान्तोकस्थित पाल्जर स्टेडियममा हुने बताइएको छ।