
विर्तामोड – देशभरमा सवारी साधन दुर्घटनाको तथ्यांक कहालीलाग्दो छ। प्रदेश १ पनि त्यसमा अछुतो छैन। हरेक दिनजसोनै सवारी साधन दुर्घटना भइरहेका छन् ।
चालु आर्थिक वर्षको १० महिनामा यो प्रदेशमा १ हजार ५ सय १८ वटा सवारी साधन दुर्घटनाका घटना भएका छन्। यी दुर्घटनामा परि गत बैशाख मसान्तसम्म ३ सय ५ जनाले ज्यान गुमाएका छन्।
यस्तै दुर्घटनामा परि गत बैशाखसम्ममा १ हजार ९ सय ४१ जना घाइते भएका छन् ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवि पौडेलका अनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको छ। उनले भने, ‘चालकमात्र सचेत भइदिने हो भने यो तथ्यांक धेरै घट्ने थियो।’
ट्राफिक नियमप्रति सचेतनाको अभाव र वेवास्ता गरिनु दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाई छ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीन जना सवार हुने, हेल्मेट विना चलाउने गर्दा दुर्घटना भएर मृत्यु हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीको भनाई छ।
तीब्र गतिमा सवारी चलाउदा पनि ज्यादै दुर्घटना हुने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम तथा घुम्ती शिविरहरु आयोजना गरिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाईकल दुर्घटनामा परेको छ। गत चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा प्रदेश नं १ भरि ७ सय २९ मोटरसाइकल दुर्घटनामा परेका छन्।
त्यसपछि दुर्घटना अधिक हुनेमा कार, जीप, ट्याक्टर छन् भने बस, टिपर र सिटी सफारी पनि दुर्घटना भइरहने गरेको तथ्यांक छ।
साँघुरा सडक र दिनदिनै थपिने सवारी साधनले राजमार्ग अस्तव्यस्त बन्दै गएकाले पनि दुर्घटनाको जोखिम बढ्दै गएको ट्राफिक प्रहरीको भनार्इ छ।
मोटरसाइकल दुर्घटनामा झापामा ९१ जनाको ज्यान गयो
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको विगत १० महिनामा मोटरसाइकल दुर्घटनामा ९१ जनाले ज्यान गुमाएका छन्।
मोटरसाइकल चालक ६० जनाको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि सिटमा बसेका ३१ जनाको ज्यान गएको छ।
झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक होम अधिकारीका अनुसार मोटरसाइकलको पछाडि सिटमा बस्नेका लागि हेल्मेटको व्यवस्था भए दुर्घटनामा ज्यान गुमाउनेको संख्या कम हुनेछ।
उनले भने, ‘सबैलाई यस्तो हुन्छ भन्ने पनि थाहा छ। कुनबेला दुर्घटना हुन्छ भन्ने ठेगान हुँदैन। तर पनि मोटरसाइकल चालक सचेत हुँदैनन्। पछाडि बस्नेले पनि हेल्मेट लगाइदिए हुन्थ्यो।’
उनले आफ्नै सुरक्षाका लागि नियम ल्याउनै नपर्ने बताए। अधिकारीले भने, ‘आफ्नै ज्यानको सुरक्षा गर्नका लागि कानुन नै चाहिने हो र?’