
करिब एक वर्षअघि उदयपुरका एक युवक मानव ओसारप्रसार गिरोहको सम्पर्कमा पुगे। उनीहरुले लोभ्याए- लिबियामा मासिक एक हजार डलरसम्म कमाई हुन्छ। फिल्डको काम गर्नु पर्दैन।
मनग्गे आम्दानी हुने आश्वासन पाएपछि ती युवक गिरोहको पछि लागे। तीन लाख ५० हजार रुपैयाँ बुझाएपछि सबै काम आफुले गरिदिने जिम्मा उक्त गिरोहको थियो। राम्रो कमाई गरि सुन्दर भविस्यको कल्पना गर्दै उनको लिबिया सपना सुरु भयो।
गिरोहले सुरुमा दुबइ पुर्यायो, भिजिट भिसामा। त्यहाँ करिब एक महिना बसेपछि ट्युनिसियाका लागि उडे। अनि पुगे लिबियाको त्रिपोली। केही मान्छे रिसिभ गर्न आए। सुरुमा बेकरीमा काम लगाउने भनिएको थियो तर त्यसो भएन।
त्रिपोली पुगेको दुई सातापछि मात्र उनलाई काममा लगाइयो,अंगुर खेतिमा। फिल्डको काम। निकै गाह्रो थियो। त्यहीँ भेटे उनले अन्य नेपालीहरु पनि। उनले आफू जसरी नै उनिहरु लिबिया छिरेको थाहा पाए। कसैले तीन लाख ५० हजार बुझाएका थिए त कसैले पाँच लाखसम्म।
‘हामीलाई समयमा पैसासमेत दिइएन’, केही साताअघि नेपाल फर्किएका उदयपुरका ती युवक भन्छन्। उनीमात्र होइन लिबिया पुगेका ११ नेपाली एकैपटक नेपाल आएका छन्। लिबियामा बढ्दो गृह युद्धको चपेटामा परेपछि उनिहरु इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन-आईओएमको शरणमा पुगेका थिए। आर्मी र आइओएमको संयुक्त पहलमा उनिहरुलाई नेपाल फर्काइएको हो। यसरी फर्कनेको उमेर २२ देखि ५२ वर्षसम्म रहेको छ।
‘आफ्नो फसेको पैसा चाहिँदैन तर जसरी पनि नेपाल फर्काउनु पर्यो’, त्यतिबेला लिबियामा फसेका नेपाली कामदारहरुको अनुरोध सम्झन्छन् मानव बेचबिखन अपराध ब्युरोमा कार्यरत डीएसपी राजकुमार सिलवाल,’यहाँ हाम्रो कानै नजिक गोली पड्केजस्तो आवाज आईरहन्छ।’
स्वदेश फर्किएका नेपालीले उजुरी गरेपछि यतिबेला मानव बेचबिखन अपराध ब्युरोले अनुसन्धान गरिरहेको छ। ‘ अझै धेरै नेपाली लिबियामा रहेको उनीहरुले बताएका छन्। उनीहरुलाई त्यहाँसम्म पुर्याउने गिरोहबारे अनुसन्धान भइरहेको छ’, डीएसपी सिलवाल भन्छन्।
विभिन्न गिरोहमार्फत उनीहरु त्यहाँ पुगेको प्रहरीको निष्कर्ष छ। प्रहरीले एक जनालाई मात्र पक्राउ गरेको छ। अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
मानव ओसारप्रसार गिरोहको प्रलोभनमा परी नेपालीहरु विभिन्न द्वन्द्वग्रस्त मुलुकमा पुगेका छन्। राम्रो आम्दानी गर्ने आशमा इराक र अफगानिस्तानजस्ता देशमा पुगेको प्रहरीको तथ्याङ्क छ।
राम्रो आम्दानी र सुन्दर भविष्यकै सपना बोकेर मानव ओसारपोसार गिरोहको पछाडि लागेका नेपालीहरु बीचैमा अलपत्र पर्ने र ठगिने गरेको प्रहरीका अनुसन्धानहरुबाट देखिएका छन्।
केन्याको मुम्बासा र नैरोबी, युगान्डाको कम्पाला, रुवान्डा र तान्जानियाका डान्स बारहरुमा नेपाली युवतीहरु पुगेका छन् मानव ओसारप्रसार गिरोहकै कारण।
अप्ठेरो परेपछि प्रहरी, भेटिन्न प्रमाण
गिरोहको पछाडि लागेर दक्षिण अफ्रिका, टर्की, अमेरिका,क्यानडा लगायत देशको सपना बोकेर हिँडेकालाई थाहा हुन्छ- मैले गलत बाटो अपनाइरहेको छु। तर जब उनिहरु अलपत्र पर्छन् वा अप्ठेरोमा पर्छन् अनि पुग्छन् प्रहरीकहाँ ठगिएँ भन्दै।
‘अमेरिका छिरेपछि पक्राउ परेकाहरु पनि नेपाल फर्किएपछि म मानव बेचबिखन तथा ओसारपसार गिरोहको फन्दामा परेँ भन्दै प्रहरीकहाँ आउँछन्’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा लामो समय मानव बेचबिखन तथा ओसारपसार अपराधबारे अनुसन्धान गरेका एक प्रहरी नायब निरिक्षक-सई भन्छन्।
ती सईका अनुसार गिरोहलाई पैसा दिएको प्रमाणसमेत उनिहरुसँग हुन्न भने धेरैले ती एजेन्टहरुको पुरा नाम समेत भन्न सक्दैनन्। ‘यस्तो अवस्थामा किटानी जाहेरीकै आधारमा मात्र नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने हुन्छ। जसको परिणाम सोचेजस्तो हुन्न’, ती सई भन्छन्।