अट्याकर सार्वजनिक

सिरिन्ज आक्रमण गर्ने व्यक्ति यी हुन्, यस्तो छ नालिबेली

+
-

काठमाडौँ – अभियुक्तको दावी मान्ने हो भने उनले कुनैपनि घटनामा सिरिन्ज प्रयोग गरेका थिएनन्। तार र काठका तिखा टुक्रा प्रयोग गर्थे।

राजधानीमा दुई सातायता भाइरल बनेका कथित शृंखलाबद्ध ‘सिरिन्ज अट्याक’ का आरोपितलाई बिहीबार राती पक्राउ गरेपछि प्रहरीले भनेको छ-सबै घटनामा उनी एक्लै सहभागी थिए जुन पक्राउ परेका सन्तोष कार्कीले स्वीकारी सकेका छन्।

तर पनि सिरिन्जले घोचिएको थियो वा अरु केहीले भन्नेबारे तीन महिनापछि आउने विस्तृत मेडिकल रिपोर्टपछि मात्र  थाहा हुने अनुसन्धान अधिकारी बताउँछन्।

के थियो घटना?

काठमाडौँ उपत्यकामा पछिल्लो समय शृङ्खलाबद्ध रुपमा भएको सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार


जेठको अन्तिम साता राती अन्दाजी १० बजेतिर मोटरसाइकलमा आएका एक युवकले आफूलाई घोचेर भागेको भन्दै एक महिला प्रहरीकहाँ पुगिन्।

यसबारे समाचारहरु बाहिरिएपछि अन्य महिलाहरु पनि प्रहरी सम्पर्कमा पुगे। ५/६ वटा घटनाबारे उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरले अनुसन्धान अगाडि बढाए।

अनुसन्धानको प्रारम्भिक निष्कर्श थियो-सबै आक्रमण राती ९ देखि साढे १० बजेको बीचमा भएका छन्। निलो पल्सर मोटरसाइकलमा फुल हेलमेट लगाएर हिँड्ने युवकले महिलालाई मात्र यस्ता आक्रमण गरिरहेका छन्।  सबै घटना ढल्कु, डल्लु, पकनाजोल लगायत एउटै क्षेत्रका आसपासका ठाउँमा भएका छन्।

प्रहरीसँग जेठ १८ गते भएको घटनाको सिसिटिभी फुटेज पनि थियो जसबाट उसलाई अनुसन्धान गर्न सजिलो भयो। प्रहरीले बाइकको नम्बर त पत्ता लगाउन सकेन तर बाइकको ट्यांकीमा स्टिकर लगाएको हुलिया भेट्टायो। बिहीबार साँझ प्रहरीलाई सुराकीको खबर आयो-सिसिटिभीमा देखिएको जस्तो बाइक महाराजगन्ज क्षेत्रमा भेटिएको छ। प्रहरीको टोली मुभ भयो।

महाराजगन्ज भाटभटेनी अगाडि रहेको गोल्डेन क्याफेको नजिकै निलो रङको पल्सर पार्किङ गरी राखिएको थियो। प्रहरीले करिब दुई घन्टा कुरेपछि बाइक धनी आए। प्रहरीले बाइक र त्यसका धनी दुवैलाई नियन्त्रणमा लिएर केरकार सुरु गर्‍यो। प्रहरीले साथमा रहेको सिसिटिभी फुटेज देखाएपछि ती युवकले स्वीकारे, ‘हो यो मान्छे म नै हुँ।’

बाइक धनी उनै सन्तोष कार्की थिए जुन सामुन्ने रहेको गोल्डेन क्याफेका सन्चालक पनि। रामेछापको खाँडादेवी गाउँपालिकाका ३० वर्षीय सन्तोष विगत एक वर्षदेखि उक्त क्याफे सन्चालन गर्दै आएका थिए। राती ९-साढे ९ बजे क्याफे बन्द गरेर नैकापस्थित कोठा जान्थे।

‘यतिधेरै चर्चा होला भन्ने थिएन’


२०६० सालमा एसएलसी पास गरेका सन्तोष त्यसपछि काठमाडौँ आएका थिए। ताहाचलस्थित काठमाडौँ क्याम्पसमा भर्ना भए पनि उनको अध्ययन अगाडि बढ्न सकेन। गोदाबारीस्थित होटल भ्यु भृकुटीमा वेटरका रुपमा काम थालेका उनी २०६८ सालतिर साउदी अरब लागेका थिए बर्गर हाउसमा काम गर्न। साउदी अरबमा पाँच वर्ष बिताएका सन्तोष २०७४ सालको अन्ततिर नेपाल फर्किएका हुन्।

त्यसयता उनीले नाताले दाजुसँग मिलेर गोल्डेन क्याफे किनेका थिए ५५ लाख रुपैयाँमा। उनका १० वर्ष र १७ महिनाका दुई छोरा छन्। साउदी अरबमै काम गर्दा उनले सिरिन्ज अट्याकबारे सुनेका थिए। उनलाई रमाइलो लागेको थियो यसबारे पढेर/सुनेर। महाराजगन्जमा रहेको क्याफे बन्द गरेर फर्कँदा बाटामा एक्लै दुक्लै महिलाहरु हिँडिरहेको भेट्थे।

करिब तीन महिनाअघि उनलाई अचानक विचार आयो, राती महिलालाई घोच्ने। यो सिरिन्ज अट्याककै सिको थियो। सन्तोषको दावीलाई मान्ने हो भने यो विल्कुलै रमाइलोका लागि थियो। तर सिरिन्ज अट्याकको प्रयोजन भने बेग्लै छ। उनी घर फर्कँदा काठका तिखा टुक्राहरु बोकेर हिँड्न थाले। एउटा, दुईटा हुँदै उनलाई बानी पर्‍यो महिलालाई तिखा बस्तुले घोच्ने।

प्रहरीसँगको प्रारम्भिक बयानमा सन्तोषले भनेका छन्, ‘मलाई निकै रमाइलो लाग्न थाल्याे ।’

सन्तोषबाट भएका आक्रमणका घटनामा दुईपटक एउटै महिला पीडित बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका सन्तोषलाई शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिँदा पीडित महिलाका आफन्तले उनलाई घेरेनन् मात्र आक्रमणको प्रयास समेत गरेका थिए।

प्रहरीसँगको बयानमा सन्तोषले घटनाबारे  यतिधेरै चर्चा होला भन्ने नसोचेको बताएका छन्। ‘मलाई सामान्य लागेको थियो। राती घोच्थेँ अनि भागि हाल्थेँ ‘, सन्तोषले भनेका छन्। घटनाहरुबारे समाचार बाहिर आएपछि आफूले त्यसो गर्न छाडेको सन्तोषको दावी छ। भनेका छन्  ‘त्यसपछि भने मलाई निकै डर लाग्यो।’

परिसरले अभियुक्त ‘हाइज्याक’ गरेको महाशाखाको आरोप


कथित सिरिन्ज अट्याकका घटना शृखंलाबद्ध रुपमा बाहिरिएपछि आतङ्कित बनाएका अभियुक्तलाई पक्राउ गरि प्रहरीले ठूलो सफलता हात पार्‍यो। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसर दुवैका प्रमुख उपस्थित थिए।

तर पत्रकार सम्मेलनपछि महाशाखाका अधिकारीहरु आफुले गरेको काम अन्तिम समयमा परिसरले हाइज्याक गरि क्रेडिट लिएको आरोप लगाउँदै थिए। ‘मान्छे समातेर उ नै हो भन्ने निश्चित गरेपछि परिसरका अधिकारीहरु आइपुगेका थिए। फोन आएर हाम्रा मान्छे तल झरेको समयमा परिसरको टोलीले सन्तोषलाई त्यहाँबाट उठाइसकेको रहेछ’, महाशाखाका एक अधिकारी भन्छन्। सफलताको श्रेय कसले लिने होडमा परिसर र महाशाखाबीच लामो समयदेखि टकराव हुँदै आएको छ।

तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=494byYj-jgc

यो पनि पढ्नुहोस्

राजधानीमा शृंखलाबद्ध सिरिन्ज अट्याक : रातको समयमा बाइकमा एक्लै हिँड्ने को हुन् ती व्यक्ति ?

राजधानीमा शृंखलाबद्ध सिरिन्ज अट्याक : रातको समयमा बाइकमा एक्लै हिँड्ने को हुन् ती व्यक्ति ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?