
झापा-शिक्षित जिल्ला भनेर चिनिएको झापामा रक्सी पिएर सवारी साधन चलाउने मानिसको संख्या वर्षेनि बढ्दै छ।
विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा रक्सी पिएर सवारी साधन चलाउने मानिसको संख्या त्यसअघिका आर्थिक वर्षहरुको भन्दा दोब्बरले बढेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको तथ्यांकमा गत आर्थिक वर्षमा मात्र ३ हजार १ जना मानिस मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारबाहीमा परेका छन्। उनीहरुबाट ३० लाख एक हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ।
आर्थिक वर्ष २०७३/७४ मा १ हजार ४ सय ५० वटा सवारी साधनका चालकलाई मापसेमा कारबाही भएको थियो। उनीहरुबाट १४ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो।
आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ९० सवारी साधन मापसे कारबाहीमा परेका थिए। त्यस वर्ष १४ लाख ९० हजार रुपैयाँ राजश्व संकलन भएको थियो।
मापसेमा मोटरसाइकल चालक बढी
गत आर्थिक वर्षमा मापसे कारबाहीमा परेका ३ हजार १ जनामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। मापसेमा २ हजार २ सय ३० जना मोटरसाइकल चालक मापसेमा कारबाहीमा परेका हुन्।
आर्थिक वर्ष २०७३/७४ मा मापसे कारबाही परेका १ हजार ४ सय ५० वटा सवारी साधनमध्ये १ हजार १ सय ६६ जना मोटरसाइकल चालक रहेका थिए।
अर्को आर्थिक वर्षमा मापसे कारबाहीमा परेका १ हजार ४ सय ९० सवारी साधनमध्ये १ हजार १ सय ५१ जना मोटरसाइकल चालक रहेका थिए।
मादकपदार्थ सेवनको कारबाहीमा सवारी साधन राखिदिने र प्रत्येक पटक एक हजार जरिमाना गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले बताए।
उनले भने, ‘मान्छे शिक्षित भएर पनि अटेर गरेर मापसे गरेर सवारी चलाउँछन्। तर हामी मापसेमा कुनै हालतमा कारबाही चलाउँछौं। कुनै छुट दिने गरेका छैनौँ।’