
झापा – विगत ४ दिनेदेखि राँके–फिदिम खण्डमा पहिरो झरेर अवरुद्ध बनेको मेची राजमार्ग अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।
पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पाङ्ग्रेभीरमा बुधबार राति पहिरो झरेको थियो। तराईबाट पाँचथर–ताप्लेजुङ जाने यात्रु गाडीबाट उत्रिएर आधा घण्टा हिँडदै अर्को गाडी फेरेर गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता छ।
पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गतको राँके—फिदिम सडकखण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ।
पहिरोका कारण पूर्वी पहाडी जिल्लासँगको यातायात सम्पर्क चार दिनदेखि टुटेको छ। प्रदेश १ सरकारका आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार वैकल्पिक मार्ग प्रयोगमा ल्याउन तयारी भइरहेको छ।
पूर्वाधार डिभिजन कार्यालय, पाँचथरले आपतकालीन बजेटमार्फत फागुनन्द गाँउपालिका–४, सिम्पुलाबाट गुम्बासम्मको करिब ६ किलोमिटर पुरानो ट्रयाकलाई विस्तार गरी सडक खुलाउने काम अघि बढाएको जनाएको छ।