
झापा – विर्तामोड झापाका व्यवसायीद्वय निर्मल भट्टराई र प्रकाश शिवाकोटीले दुई दलित समुदायका महिलाले कैद भुक्तानीसँगै तिर्नुपर्ने जरिमाना वापतको रकम कारागारमा जम्मा दिएर ती महिलाहरुलाई कारागारमुक्त गराएका छन्।
आफ्ना छोरीहरुको जन्मदिनका उपलक्ष्यमा उनीहरुले ती महिलालाई कारागारमुक्त गराएका हुन्। कारागारमुक्त गराइएकाहरुमा बुटवलकी करिब ५५ वर्षीया धनमाया विक र झापा दमककी ६५ वर्षीया लक्ष्मीमाया विक रहेका छन्।
उनीहरु मानव बेचविखन मुद्दामा झापा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका थिए। उनीहरु दुवैले कैद सजाय पूरा गरेपनि आर्थिक अवस्था कमजोर भएकाले जरिमाना तिर्न सकेका थिएनन्।
दुवैले केही महिना अघि नै कैद सजाय पूरा गरिसकेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले बताए। त्यसपछि पनि उनीहरु कारागारमै जरिमाना रकममा दिनको तीनसय रुपैयाँले कटौती हुनेगरि बसिरहेका थिए।
धनमायाको बाँकी जरिमाना ८ हजार दुईसय र लक्ष्मीमायाको बाँकी जरिमाना ५८ हजार दुई सय व्यवसायीद्वय भट्टराई र शिवाकोटीले भुक्तानी गरिदिएको जेलर निरौलाले जानकारी दिए।
एकजना बृद्धा र एकजना पाठेघरको गम्भीर विरामी र आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले आफूहरुले उनीहरुको जरिमाना वापतको रकम तिरिदिएको व्यवसायी निर्मल भट्टराईले बताए।
उनले भने, ‘जेल बस्नुपर्ने समय बसिसकेको र एकजना गम्भीर विरामी र एकजना बृद्धाको हामीले सल्लाह जरिमाना वापतको बाँकी रकम तिरिदिएका हौं।’
धनमाया मंगलबार नै जेलमुक्त भएकी छिन् भने लक्ष्मीमायाको कारागारमुक्त गराउनका लागि फाइल काठमाडौँ पठाइएको र केही दिनमै उनी छुट्ने कारागार प्रमुख निरौलाले बताए।