
त्यो दिन झमझम झरी थियो। साउनमा जन्मेकाले हो कि, झरी मलाई मन पर्छ। बाहिर झरी हुँदा मनमा घाम लाग्छ। खुशीको।
तर त्यो दिन पुरै भिजेकी थिएँ म। बरन्डामा भएका केही बोटबिरुवाहरुमा बतासले हानेर जान्थ्यो। त्यो बतासमा सुख थिएन। अत्यास थियो। पारिपट्टिको घरको छतमा केही मकैका बोट थिए। झरी र बतासको मिश्रणमा हल्लिएका। तर गीत गाएका थिएनन्। रोएजस्ता लाग्यो।
दिउँसो कतै जाँदै गर्दा सामाजिक सञ्जालमा मेरो नजर परेको थियो। उखुबारीको हिलोमा एउटा बच्चीको मृत शरीर। नांगो।
म हल्लिएँ। झटपट आँखा निकालेँ र काममा हिँडे। दिमागमा त्यही तस्बिर नाचिरह्यो। सोचेँ- आज सामाजिक सञ्जालमा बस्दिन। अक्सर यस्ता घटना पढेपछि म कल्पना गर्न थाल्छु। भोग्नेले कसरी भोग्यो होला, कति आत्तियो होला, कति दुख्यो होला। आफ्नो जीवनका लागि कति याचना गर्यो होला। अनि उसको परिवार सम्झन थाल्छु।
सपनामा आफ्नो परिवारको कोहि सदस्यलाई नराम्रो भएको देख्यौं भने हामी झस्कँदै उठ्छौँ। म पनि यसै गर्छु र भाइलाई फोन गर्छु। उसले सुरुमै भन्छ, ‘के सपना देख्नुभयो दिदी। सबै ठिकठाक छ।’
निर्मलाको आमाले उखुबारीमा जे देख्दै थिइन्- त्यो सपना थिएन। ब्युँझेर घटघट पानी खाएपछि, परिवारलाई फोन गरेपछि शान्त हुने मनको तुफान थिएन। कुनै पापीले त्यो बच्चीको शरीर कोपर्दै गर्दा, उसको योनीबाट रगत बग्दै गर्दा, धरती स्वयम् काँपेकी थिइन् होला। धरतीको पनि आमाको जस्तै आवाज हुने भए छोरीहरुलाई उनैले जोगाउँथिन् होला।
निर्मलाको हालत कल्पना गर्दा शरीर यसै गलेको थियो। सामाजिक सञ्जालमा ‘कता गए यिनीहरु किन नबोलेका’ भनेर गरिएको अपमानसहितको ट्विट पढ्दै थिएँ। रिसाएर जवाफ दिने तागत पनि थिएन। केही लेख्न र बोल्न मन पनि थिएन।
दिदीबहिनीका साना छोरीहरु छन्- उनीहरुको मुलायम तस्बिर आँखामा नाच्थ्यो। झनै गल्थेँ। बरन्डामा नै बसिरहेँ। मिनेट मिनेट गर्दै घन्टा बित्यो। रात छर्लङ्ग भयो। भोलिपल्ट लगभग आँसुकै मसीले लेख लेखेँ।
लेख आयो, गयो। मन शान्त भएन। घरमा गएको बेला यो कुरा आमालाई भनेँ। बल दिनुभयो, ‘यस्तो कमजोर मनले त हुन्न, हेर। हरेक घटनामा आफूलाई डुबाउन थालिस् भने खतरा हुन्छ। दिमाग अन्तै मोडेर हिँड्ने गर।’
बोटबिरुवामा बढी नै चल्न थालेपछि अलि स्थीर मनको हुन थालेँ। हेर्छु, दुख्छु र पनि भावनाहरुमा धेरै नडुब्ने कोशिस गर्छु।
सानैबाट दुर्घटनाको समाचार सुनेपछि बढी काँप्थेँ। परिवारका मानिसको पीडाको कल्पना गरेर छट्पटिन्थेँ। रेडियोमा काम गर्न थालेपछि द्वन्द्वका रिपोर्ट बनाउँदै हिँड्ने काम भयो। टिम बनाएर काममा जान्थ्यौँ। पीडितको कुरा सुन्दै गर्दा आफैँ रुन थाल्थेँ। कि त उनीहरुसँगै बम्केर बस्थेँ। साथीहरु भन्थे, ‘तिमीले पत्रकारिता गर्दिनौँ। भावनालाई नियन्त्रणमा लिन सिक।’ उपदेश दिन्थे र हाँस्थे साथीहरु।
भावावेशमै मलाई यस्तो लाग्थ्यो, यति धेरै मानिसका सुँक्क सुँक्क बजाएर, नाम कमाएर मैले के गरेँ त। उनीहरुलाई न्याय मिलेको छैन, सुख मिलेको छैन, बदलामा मेरो नाम चम्केको छ।
यो सुरुवाती दिनको कच्चा सोच थियो। पछि लाग्दै गयो, आवाज उठाउन पनि छोडे त के हाल होला। निर्मलाको केसमा त्यही भएको थियो। त्यही बेला एकपछि अर्को बालक अपहरण र हत्याको समाचार छ्यापछ्याप थियो। मेरो मथिगंल हल्लिएको थियो। हिंसाको कुनै पनि घटना सामान्य होइनन्।
बालबालिकाको केसले त मुटु नै छियाछिया पार्छ। थोरै मात्र पनि प्रतिकार गर्न नसक्ने ती अबोधको आँखामा डर कसरी उभिन्छ होला। ओहो! उनीहरुको असुरक्षाले आफैँलाई ग्लानि बोध हुन्छ।
यस्तै झरीमा रातभरि माइतीघर मन्डलामा बसेका पनि छौं। मानिसको सुरक्षा सबैभन्दा पहिलो काम हो, राज्यको भनेर सुनाउनका लागि। सुरक्षाकै सवाल सबैभन्दा झिनोमसिनो र आइमाईको बात बनिदिन्छ, गँवार शासक र धुपौरे बुद्धिजिवी भएको देशमा। लोकतन्त्रबारे ठूलोठूलो विश्लेषण गर्नेले भन्दैनन्, लोकतन्त्रमा सबैभन्दा पहिला कमजोरको रक्षा हुनुपर्छ। पहिलो विन्दु त्यही हो।
हिंसाको घटना भएपछि उनीहरुलाई एउटा ट्विट लेख्दा पनि सानो विषयमा पो बोलियो कि भनेर पोल्छजस्तो लाग्छ। मानव जीवनमा कलिला नानीहरुको विभत्स हत्या हुनुभन्दा ठूलो मुद्दा के खोजिहिँड्दा हुन्। पावरवाला चश्माले के पढ्दा हुन्।
ट्विटरमा हिंसाको घटनामा बोल्ने आइमाई खोई भन्दै खोज्नेहरुभन्दा झर्को लाग्ने बोली बोले गृहमन्त्रीले। ‘यस्तो घटना हिजो भए, आज हुन्छ, भोलि नि हुन्छ शैलीमा।’
यो सुनेर मैले बिबिसीबिश्व सेवाको आउटलुक भन्ने कार्यक्रममा सुनेको एक घटना सम्झिएँ। एक महिलाको मोटर दुर्घटना हुन्छ। बालक किचिन्छ। बालकको परिवार कुन हदको ‘सदमा’मा पुग्यो, कल्पना काफी छ। ती महिला उस्तै दुखी हुन्छिन्। परिवारलाई भेट्छिन्, माफी माग्छिन्। परिवारलाई हरसम्भवको सहयोग गर्छिन्। हरदिन आत्मग्लानि हुन्छ उनलाई।
बालकको परिवारले माफी दिन्छ। उनी त्यही परिवारको दुखमा समाहित हुन्छिन्। तर, बालकको दाजुले माफी दिँदैन। तेइस वर्षपछि मात्र दाजुले माफी दिन्छ। अनि महिला ग्लानिमुक्त हुन्छिन्।
एक सेकेन्ड उनको दिमाग यताउता भएकाले दुर्घटना भएको थियो। यही कारण उनको झन्डै आधा जीवन पिरोलिएर बित्छ।
हामीकहाँ योजना गरेर, घरघर पसेर मानिस मार्नेहरु छन्। बालक छोराको आँखैअघि बाउलाई गोली ठोक्नेहरु छन्। युद्धका दिनमा जंगलमा हिँडेका चेलीहरुको बलात्कार र हिंसा त त्यही जंगलमा खसेका पातले पुरेर माटो पारिसके। आफ्नो मान्छे गुमाएका परिवार बेलाबेला क्रुद्ध बन्छन्। सम्झेर रुन्छन्। तर कसलाई हुन्छ आत्मबोध।
यही आत्मबोध नगरिकनै सत्तामा पुगेका मानिसले एउटी केटी उखुबारीमा मारिनुलाई बत्तिमुनि कमिलो मरेजत्तिकै ठाने। उनको कुरामा प्रतिक्रिया गर्न पनि मन लागेन।
‘निर्मलालाई सम्झनुस् र हल्का हुनुस्’, पत्रकार मनोज दाहालको आग्रह आयो।
फेरि त्यो रात उस्तै घना भएर आयो र मन त्यही रातको कालो बादलले छोपियो।
निर्मला विम्व हुन्। यही एउटा घटनापछि कति आए सतहमा। खै कहाँ दुखेको छ, गृहमन्त्रीलाई?
विरोध गर्दा, कराउँदा, जानेर वा नजानेर थोरै बिराए भने बरु नागरिकले नै खान्छन् गाली। लाज लाग्नुपर्छ नि सरकार। एकजना मानिस मात्र पनि असुरक्षित हुनु भनेको कालो धब्वा हो सरकारको अनुहारमा।
गृहमन्त्रीको रवैया देख्दा एक नागरिकका रुपमा आफैँसँग लाज र टिठ लाग्छ। उनले रोपेको हिंसाको बिउबिरुद्ध हामीजस्तैको खबरदारी कम भयो। दण्डहीनताको जमिनमा रोपिएको बिषवृक्ष झाँगियो।
निर्मलाको प्राणपखेरु उडायो कुन पापीले। त्यही बेला एउटा बिरुवा मुर्झायो। उसको जरा हेरेँ। आश जाग्यो। माटो, पानी दिएँ। जागेर पलायो। केही दिनमा फुलेर मुस्कायो। ती घाँटी निमोठिएका छोरीहरुको साससम्म छोडिदिएको भए प्राण हामी भरिदिन्थ्यौं नि। बिस्तारै खुशी त हामी फर्काउँथ्यौं नि जस्तो लाग्छ।
हरेकपटक जिल्ला जाँदा म यही सोच्छु, बलात्कार गरे पनि नमारुन्। बाँचेँ भने यिनको छाला काढ्छु। अरुबेला भन्दा बलियो मनोभाव बनाएर हिँड्छु।
दुर्घटनाजस्तै ठान्छु र जीवन उही गतिमा लान्छु भनेर सोच्छु। कसैले नराम्रो गरी छुँदा त एकछिनसम्म रगत उम्लिन्छ, जबरजस्ती घिसार्दै, अर्कोको दुर्गन्धित शरीरले आफ्नो देहलाई झम्टिँदा कति कोपरिएला मेरो मन? कति समय लाग्छ जीवनमा उस्तै गरी फर्कन?
जीवनको अर्को विकल्प छैन । तंग्रिनु र फेरि खुसी हुनुको अर्को विकल्प छैन। यही कारण लाग्छ, पापीहरुले कसैलाई नमारुन्। यस्तो त हामीले सोच्ने हो- विकल्प नभएर।
सरकारले र ठालुहरुले यसो गर, उसो गर र सुरक्षित बस भन्न मिल्छ?
हरेक पटक बलात्कारको समाचार पढेपछि धन्न मारेनछन् भनेर सन्तोषको सास फेर्छु।
निर्मलाको प्राणपखेरु उडायो कुन पापीले। त्यही बेला एउटा बिरुवा मुर्झायो। उसको जरा हेरेँ। आश जाग्यो। माटो, पानी दिएँ। जागेर पलायो। केही दिनमा फुलेर मुस्कायो। ती घाँटी निमोठिएका छोरीहरुको साससम्म छोडिदिएको भए प्राण हामी भरिदिन्थ्यौं नि। बिस्तारै खुशी त हामी फर्काउँथ्यौं नि जस्तो लाग्छ।
काम गर्दैगर्दा बिरुवा निमोठियो भने ‘सरी’ भन्न मन लाग्छ। कसैले माया नगरी फूल निमोठ्यो भने चड्काउन मन लाग्छ। निर्मलाकी आमालाई कस्तो लाग्छ होला जसकी फूलजस्ती छोरीलाई दैत्यहरुले निमोठे र किल्चिदिए?
निर्मलाकी आमाले ‘बिर्सेर निर्मलालाई भात पस्कन्छु’ भनेको पढ्दा खाँदै गरेको गाँस घाँटीमा अड्कन्छ।
एक वर्षपछि फेरि निर्मला समाचारमा छिन्। उनी फगत समाचार बनेको देख्दा दिल दुख्छ। फेसबुक हेर्दै थिएँ, कसैले उनको चस्मा लगाएको फोटोमा आवाज भरिदिएछ। आँखा रसायो। सोचेँ- त्यो पावरवाला चस्माको पावर कति थियो होला? त्यो चस्माले चिहाउने सपनाको भोल्टेज कति थियो होला? आधा पेट खाएर उनले मुटुमा लुकाएको सपनाको कम्पन कति थियो होला? महेन्द्रनगरका वरिपरि देखिने फाँटहरु भन्दा बढी फैलिन्थे होला सपना। उनले त्यो फाँटमा उभिएर हेर्दा सपनाको क्षितिज कति परपर सम्म पुग्थ्यो होला।
साना भाइबहिनीको स्याहार गर्दै, मुटुमा आफ्नो सपनाको स्याहार गर्नु सजिलो छ र नेपाली छोरीलाई? सानो ढुंगा, ठूलो ढुंगा अनि पहाड छिचोल्दै सपना बाँच्न सजिलो छैन यो देशमा।
भीरमा, पीरमा फुल्दै गरेको एउटा सपनाको घाँटी कसले थिच्यो? मन दुखेर आउँछ। कति कराउनु, ज्यान गलेर आउँछ। झरेका फूलका पत्रपत्र हेरेर सोच्छु, यो धरतीमा आएका कुनै मुलायम फूलले घाँटी निमोठिन नपरोस्।
छोरीहरुको मनमा गडेको भयको किला निकालेर भन्न मन लाग्छ, नडराऊ, सपना देख। फक्रेर हाँस, खुलेर बाँच। तिम्रो हाँसो हावामा ठोकिएको बखत यसको सुगन्ध नै मोहक हुन्छ। निर्मलाहरुको अपुरो छ सपना, खुल्नै नपाई सकिएको छ हाँसो। उनीहरुकै लागि त हामीले जोगाउनु छ सबै सपनाहरु, सबै आशाहरु र सबै गन्तव्यहरु।