
मोरङ – मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जनजागृति सामुदायिक वनबाट प्रहरीले दुईथान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ पौने ५ बजेको समयमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृति वन उपभोक्ता समितिका प्रतिनिधिहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–५ जहदा बस्ने २६ वर्षे धनकेशर राई र उर्लाबारी नगरपालिका–४ बस्ने ४४ वर्षे शम्भु गहतराज छन्। उनीहरुको साथबाट लोड गरेर राखेको अवस्थामा दुई नाल भरुवा बन्दुकसमेत प्रहरीले फेला पारेको छ।
हतियारसहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।