झापा– आफूसँग बल छैन। कतै गएर आफ्ना छाप्रा बनाइदिन आग्रह गर्ने हिम्मत पनि छैन। सन्तान जति सबै तेस्रो मुलुक पुनर्वास कार्यक्रममार्फत विदेश गए।
आकाशबाट पानी पर्दा छाप्रा भित्र छाता ओडेर बस्नुपर्ने अवस्था सुनाउँछन् बुढा–बुढी, अशक्त तथा अपांगता भएका भुटानी शरणार्थी।
झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेल्डाँगीमा म पुग्दा ८५ वर्षीया रुक्मिणी न्यौपाने एक्लै उनी बस्ने छाप्रो अघिल्तिर बसिरहेकी थिइन्।
उनका सन्तान सबै क्यानाडा तथा अमेरिका गइसके। उनी बेसाहरा भएर बसिरहेकी छन्। उनको छाप्रो अहिले जीर्ण छ। छानोबाट ओछ्यानमा पानी चुहिन्छ।
छाप्रोको छानो देखाउँदै भनिन्, ‘यही त हो नि मेरो बस्ने ठाउँ। हेरिहाल्नुहोस्, कतै सद्दे छैन। पानी पर्दा ओछ्यानमै चुहिन्छ। आकाश गड्याङ–गुडुङ गर्दा प्रमात्मा सम्झेर बस्छु।’
त्यति भनिसक्दा उनका आँखा रसाउन थाले। छाप्रो बनाउन आफ्नो हिम्मत नभएको दुःखेसो पोखिन्। न्यौपानेले भनिन्, ‘पहिलाको क्याम्प सचिव टिकाराम रसाइलीले केही सहयोग गरे। तर अहिले अवस्था यस्तो छ।’
अशक्त तथा अपांगता भएका भुटानी शरणार्थीलाई राखेको स्थान ‘सोह्र घरे’ पुग्दा ओछ्यानमा सुतिरहेका बृद्ध जंगबहादुर खड्काले जतिसुकै बेला आकाशबाट पानी पर्दा छाता ओडेर बस्नुपर्ने अवस्था रहेको बताए।
उनले भने, ‘अवस्था यस्तो छ। हाम्रो अवस्था कस्ले बुझिदिने?’ खड्काकी श्रीमतीलाई अपांगता छ। उनी बोल्न सक्दिनन्। त्यसैले छाप्रो बनाइदिन अनुरोध गर्नका लागि कतै जान नसकिएको खड्काले बताए।
उनको छाप्राको आकाशको पानी छेक्नका लागि बाँसको भाँटाले चेपेर राखिएको प्लाष्टिकसमेत च्यातिएर पानी नछेक्ने भएको छ।
बाठा, बोल्न, हिँड्न तथा काम गर्नसक्ने शरणार्थीले त आफैं पनि बनाउन सक्ने एकजना शरणार्थी ओम सापकोटाले बताए। तर केही पनि गर्न नसक्ने शरणार्थीका लागि वर्षाको समयमा कष्टपूर्ण जीवन बिताउनु परिरहेको उनको भनाइ छ।
सापकोटाले भने, ‘उहाँहरुको स्थिति देख्दा कस्को मन रुँदैन? सकेको सहयोग त हामीले पनि गरिरहेका छौँ। तर त्यतिले के हुन्छ र।’

राजकुमारी गुरुङ।
‘सोह्र घरे’कै बोली प्रस्ट नभएकी अर्की शरणार्थी राजकुमारी गुरुङले केही दिन अघि रुख लडेर छाप्रोभित्रै झन्डै मारिनु परेको बताइन्। उनको पनि छाप्रो पानी पर्दा चुहिन्छ। उनले भनिन्, ‘पानी पर्दा राति उठेर बस्छौँ।’
झापाको बेल्डाँगी तथा मोरङको पथरी शनिश्चरे शिविरमा बसोबास गर्ने अपांगता भएका, अशक्त तथा बृद्ध–बृद्धाको संख्या ७ सय ३५ छ।
यी शरणार्थीको छाप्रा बनाइदिने कुरामा दातृ संस्था तथा नेपाल सरकारका प्रतिनिधिलाई बारम्बार अनुरोध गरे पनि सुनुवाइ नभएको बेल्डाँगी शिविरका सचिव कृष्णबहादुर सुब्बा बताउँछन्।
उनले भने, ‘घर बनाइदिएपछि त मर्मत पनि गरिदिनु पर्छ। मैले धेरै अघिदेखि अनुरोध गरेँ। तर उहाँहरुका घर मर्मत भएनन्। गर्न सक्नेले त आफै पनि मर्मत गरेर बसेका छन्।’
उनले अशक्त अवस्थाका शरणार्थीको जीवन निकै कठिन बन्दै गएको बताए।
ठूलो संख्यामा तेस्रो मुलुक पुनर्स्थापनामा गएपछि शिविरहरुमा शरणार्थीको संख्या करिब साँढे ६ हजार मात्र छ। उनीहरुको संख्या घट्दै गएपछि शिविर भित्रका दातृ संस्थाका कार्यालय पनि घट्दै गएका छन्।
शरणार्थी समन्वय इकाइका निर्देशक तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अशक्त तथा अपांगता भएका शरणार्थीहरुको छाप्राको वर्तमान अवस्थाबारे आफूले बुझ्ने बताए।
उनले भने, ‘अहिलेको पानीले त्यस्तो भएको होला। म बुझ्छु। यदि त्यस्तो हो रहेछ भने उनीहरुको छाप्रा मर्मत गरिदिनु पर्छ।’