
झापा- भारतको उत्तरपूर्वी हिमाली राज्य सिक्किममा २५ बर्ष एकछत्र राज चलाएका भूतपूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङ सिक्किम विधान सभामा उनको पार्टीका एक्ला विधायक हुन पुगेका छन्।
नेपाली भाषी बाहुल्य सिक्किममा चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टमा अब उनी बाहेक कोही पनि विधायक छैनन्।
दुई दिन अघि उनको पार्टीका दस जना विधायक राजधानी दिल्लीमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टीमा प्रवेश गरेपछि उनको पार्टी जम्मा तीन जना विधायक बाँकी थिए।
त्यस्मा पनि विधायकहरु जी.टी. ढुंगेल र एमप्रसाद शर्मा सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चामा बुधबार आवद्ध भएपछि अब चाम्लिङ मात्र उनको पार्टीमा विधायक रहेका हुन्।
गत अप्रिल महिनामा भएको विधान सभा निर्वाचनमा जम्मा ३२ सिटमध्ये १५ सीटमा खुम्चेपछि सिक्किम डेमोक्रेटिक फ्रन्ट प्रमुख प्रतिपक्षी दल बनेको थियो।
१३ जना विधायकमा दुई जनाले दुई निर्वाचन क्षेत्रबाट जितेका थिए।
भाजपा अब प्रमुख प्रतिपक्षी
सिक्किम डेमोक्रेटिक फ्रन्टबाट निर्वाचित दस जना विधायक भारतीय जनता पार्टीमा गएपछि अब सिक्किम विधान सभामा भाजपा प्रमुख प्रतिपक्षी दल बनेको छ।
सिक्किम विधान सभाको सन् २००४ को निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेसबाट ‘संघ’ सिटमा एकजना लामा विधायक निर्वाचित भए बाहेक सिक्किम विधान सभामा भारतको राष्ट्रिय दलको गतिलो उपस्थिति थिएन।
भाजपामा सामेल भएपछि सिक्किम डेमोक्रेटिक फ्रन्टबाट दुई निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक दोर्जी छिरिङ लेप्चाले अब भाजपाको नीति तल्लो तहका जनतासम्म लिएर जाने दिल्लीमा संवाददाताहरुलाई बताए।
उनले भने, ‘अब भाजपाको केन्द्रीय नीति अनुरुप हामी सिक्किम विधान सभामा प्रस्तुत हुनेछौं।’
एसडीएफ विघटन भइसक्योः मोर्चा
सिक्किम डेमोक्रेटिक फ्रन्टका १२ जना विधायक अन्य पार्टीमा प्रवेश गरेपछि भूतपूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङ एकला विधायक भएकाले फ्रन्ट अब विघटनको स्थितिमा पुगेको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका नेताहरुले प्रतिक्रिया दिएका छन्।
मोर्चाका प्रवक्ता ज्याकब खालिङले सिक्किम डेमोक्रेटिक फ्रन्टका विधायकहरु अन्य पार्टीमा जानु जनताले प्रतिपक्षी दलको भूमिकामा बस्न दिएको अधिकारलाई उक्त पार्टीले सुरक्षित गर्न नसकेको बताए।
उनले भने, ‘यो एसडीएफ पार्टीको विघटन हो। उनीहरुको आन्तरिक मामिला भएका कारण हामी यति मात्र भन्छौं एसडीएफ पार्टी विघटन भइसक्यो।’
चाम्लिङ बोलेका छैनन्
आफ्नो २५ बर्षे शासन कालबाट बाहिरिएका सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवनकुमार चाम्लिङले सिक्किममा भएको राजनीतिक घटनाक्रमबारे केही बोलेका छैनन्।
उनका पूर्व सहकर्मी तथा मन्त्रीहरुसंग पनि सल्लाह तथा वार्ता नभएको उनको शासनकालका एकजना मन्त्रीले बताए।
सिक्किम सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्टका नेता अर्जुनकुमार घतानीले पार्टीको बैठक नभएको पनि धेरै दिन भएको बताए।
उनले भने, ‘अहिले यसै भन्ने स्थिति छैन। १० जना भाजपामा गए। दुई जना सत्तारुढ मोर्चामा गए। केन्द्रले के नीति लिने हो, थाह छैन।’