विदेशीलाई बच्चा बेच्ने प्रकरणले धमिलिएको बाल मन्दिर

विदेशीलाई बच्चा बेच्ने प्रकरणले धमिलिएको बाल मन्दिर
+
-

काठमाडौँ- पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाह बुधबार आफ्नो ९२ औँ जन्मदिन मनाइरहेकी थिइन्। उता संसदको महिला, बालबालिका तथा सामाजिक समितिमा रत्नसँग कुनै समय जोडिएको एउटा पुरानो संस्थाको विवादबारे छलफल चलिरहेको थियो।

असहाय र अनाथ बालबालिकाको संरक्षण गर्ने गरी सरकारीस्तरबाट खोलिएको ‘बाल मन्दिर’का निर्देशक बालकृष्ण डंगोलले विदेशी नागरिकलाई नवजात शिशु बेचेको विषयले संसदीय समितिमा प्रवेश पाएको थियो।

महिला, बालबालिका तथा सामाजिक मन्त्रालयका प्रतिनिधि समितिको बैठकमा बाल मन्दिरका काम कारबाहीमा हस्तक्षेप गर्न कानुनी हैसियत नरहेको भन्दै पन्छिन खोजिरहेका थिए। राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत २०२१ सालमा स्थापना भएको संस्था हो बाल मन्दिर।

पञ्चायती व्यवस्थाका बेला राज परिवारकै अग्रसरतामा यसको स्थापना भएको थियो। तत्कालीन रानी रत्न यसको संरक्षक भइन्। बाल अधिकारको विषयप्रति राज्य गम्भीर रहेको देखाउन संस्थाको स्थापना भएको थियो। पछि रत्नको जन्मदिन भदौ ४ गतेलाई नेपालमा बालअधिकारको दिवसका रुपमा समेत मनाउन थालिएको थियो।

पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह

वीरेन्द्र राजा भएपछि तत्कालिन रानी ऐश्वर्या बाल मन्दिरको संरक्षक भइन्।  बहुदलीय व्यवस्था पुनर्बहाली नहुँदासम्म बाल मन्दिर राज परिवारकै रेखदेखमा थियो। पछि बाल मन्दिरको व्यवस्थापनलाई जनस्तरमा लगियो। यद्यपि संरक्षक तत्कालीन रानी नै हुने व्यवस्थालाई निरन्तरता दिइयो।  ०६२/६३ को जनआन्दोलनले राज्यका व्यवस्थाहरुमा ल्याएको परिवर्तनको प्रभाव बाल मन्दिरमा पनि देखियो।

०६३ सालदेखि बाल अधिकार दिवस भदौ २९ गतेलाई मनाउन थालियो। नेपालले बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको सेप्टेम्बर १४ तारिखलाई आधार बनाएर भदौ २९ गतेलाई बाल अधिकार दिवसका रुपमा मनाउन थालिएको हो। यसपछि बाल मन्दिरमा राज परिवारको सम्बन्ध पनि टुट्यो। त्यतिबेलासम्म बाल मन्दिरका प्राय सबै जिल्लामा शाखा विस्तार भइसकेका थिए।

प्राय सबैमा बाल मन्दिर स्कुल थिए भने  १० वटा बाल गृह पनि सञ्चालनमा थिए। अधिकांश बाल मन्दिर स्कुलहरु अहिले सामुदायिक भइसकेका छन्। यद्यपि व्यवस्थापन समितिमा बाल मन्दिर समितिका पदाधिकारी पनि प्रतिनिधि छन्। राज्यबाट वार्षिक थोरबहुत अनुदान पाउँदै आएको बाल मन्दिरको स्वायत्त हैसियत छ। ऐन अनुसार गृह अन्तर्गत हुनपर्ने भएपनि बालबालिका जोडिएकाले मुख्यत महिला, बालबालिका तथा सामाजिक मन्त्रालयसँग नै सम्बन्धित छ। तर मन्त्रालयको हस्तक्षेप यसमा खासै नरहेको मन्त्रालयको बालबालिका शाखाका प्रमुख विरबहादुर राई बताउँछन्।

मन्दिरका नाममा सरकारबाट प्राप्त अचल सम्पत्तिमा बनेका स‌ंरचनाको भाडा र बालबालिकालाई विदेशबाट प्राप्त हुने ‘स्पोन्सर’ नै बाल मन्दिरको आर्थिक व्यवस्थापनको आधार रहेको संस्थाको केन्द्रीय समितिका महासचिव गणेशभक्त श्रेष्ठ बताउँछन्। वार्षिक साढे ३ करोडको बजेटमा ४ सय बालबालिकाको रेखदेख हुँदै आएको बाल मन्दिरका अधिकारीको भनाइ छ।

‘३ वर्षअघि सरकारबाट २ करोड रुपैयाँ अनुदान प्राप्त भएको थियो तर यो वर्ष २५ लाख रुपैयाँ मात्र छ’, महासचिव श्रेष्ठ भन्छन्। नेपाल ललित कला परिषद् र बाल मन्दिरको कार्यालय रहेको नक्सालमा रहेको राणाकालिन भवन ०७२ सालको भुकम्पले चर्किएको छ।

यही भवनको भुईतलामा बाल मन्दिरको केन्द्रीय कार्यालय आश्रय लिएर बसेजस्तै देखिन्छ। स्वर्गीय गणेशमान सिंहकी सुपुत्री रिता सिंहले बाल मन्दिरको अध्यक्षता गरेको दुई दशकभन्दा बढी समय भइसकेको छ।

धर्म पुत्रपुत्री पाउने ठाउँ


बाल मन्दिरले नवजात शिशुदेखि ७ वर्षसम्मका असहाय र अनाथ बालबालिकाको संरक्षण लिन्छ। सडकदेखि अस्पतालसम्म वेवारिसे भएका बालबालिकाहरु बाल मन्दिर पुग्छन्।

कसैको दावी नपरे, बाल मन्दिरमा पुगेको कम्तीमा तीन महिनापछि बालबालिका ‘अनाथ’का रुपमा दर्ता हुन्छन्। अनि यी बालबालिकालाई स्वदेशी तथा विदेशीले धर्मपुत्र पुत्रीका रुपमा ग्रहण गर्न सक्ने कानुनी व्यवस्था छ।

धर्मपुत्रपुत्री ग्रहण गर्न उमेर र लिंग मात्र छुट्याउन पाइन्छ तर छान्न पाइन्न।  पछिल्ला तीन वर्ष बाल मन्दिरबाट २८ बालबालिका धर्मपुत्रपुत्रीका रुपमा ग्रहण भएको बाल मन्दिर प्रशासनले जनाएको छ। विदेशी अभिभावकलाई धर्मपुत्रपुत्री दिने सम्बन्धमा सन् २०१० सम्म गृह मन्त्रालयले निर्णय गर्ने गरेको भएपनि त्यसयता महिला, बालबालिका तथा सामाजिक मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

यस मन्त्रालयअन्तर्गत रहेको अन्तर्राष्ट्रिय धर्मपुत्रपुत्री व्यवस्थापन समिति एक वर्षअघि खारेज हुनुअघि यसले ८ वर्षको बिचमा एक सय २ बालबालिकालाई विदेशी अभिभावकलाई धर्मपुत्रपुत्रीका रुपमा जिम्मा लगाएको थियो। कुनै विदेशीले धर्मपुत्रपुत्रीको चाहना राखेर निवेदन दिएपछि यही समितिले बाल मन्दिर र बाल कल्याण समितिजस्ता निकायसँग बालबालिका माग्ने गर्थ्यो। यो प्रकृया पुरा भएर विदेशीको हातमा बालबालिका पर्दा करिब एक वर्ष लाग्ने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

विगत एक वर्षयता सरकारले विदेशी नागरिकलाई धर्मपुत्रपुत्री दिएको छैन। एक वर्षअघि लागु भएको देवानी संहितामा विदेशीलाई धर्मपुत्रपुत्री दिने व्यवस्था समेटिएपछि कार्यविधी बनिसकेको छैन। विदेशीलाई धर्मपुत्रपुत्री दिँदा भविष्यमा विदेशमा ती बालबालिकाको अनुगमन कमजोर हुने गरेको आरोप सरकारी निकायमाथी लाग्ने गरेको छ।

किन विवादमा तानियो


बाल मन्दिरमा रहेका कर्मचारीका प्रमुख हुने गर्छन् निर्देशक। उनै निर्देशक बालकृष्ण डंगोल गत सातादेखि प्रहरी हिरासतमा छन्। उनीमाथी विदेशी नागरिकलाई नवजात शिशु बेचेको आरोप छ।

बेलायती नागरिक डिना स्मिथ साउन २२ गते त्रिभुवन विमानस्थल अध्यागमन विभागबाट १२ दिनको शिशुसहित पक्राउ परेकी थिइन्। उनको दावी थियो- त्यो शिशु उनको आफ्नै हो। स्मिथले बच्चाको नाममा नेपालस्थित बेलायती दुतावासबाट राहदानीसमेत निकालेकी थिइन्।

जुलाई २८ तारिखमा मात्र नेपाल आएकी स्मीथ १२ दिनको बच्चा लिएर फर्कन लाग्दा अध्यागमन विभागले आशंका गर्‍यो। स्मिथले दावी गरेको बच्चा जन्माएको अस्पतालमा बुझ्दा उनी झुटो देखिइन्।

अनुसन्धानका क्रममा डंगोलले नै भर्खरै जन्मिएको उक्त बच्चा मोटो रकम लिएर स्मीथलाई उपलब्ध गराएको फेला परेको प्रहरीको दावी छ।

बलात्कृत एक १४ वर्षीय किशोरीबाट जन्मिएको बच्चासम्म स्मीथलाई पुग्न डंगोलले ‘समन्वय’को काम गरेको आरोप लगाइएको छ। ‘तर बेलायती दुतावासले बच्चाको नाममा कसरी राहदानी दियो, हामी अचम्मित छौँ’, अनुसन्धानमा खटिएका काठमाडौँ प्रहरी परिसरका एक अधिकारी भन्छन्।

बाल मन्दिरका केन्द्रीय महासचिव श्रेष्ठले अनुसन्धान भइरहेको विषय भएकाले यसमा केही नबोल्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?