
झापा – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकलम दहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा गुट व्याप्त भएको बताएका छन्।
इलाममा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी भित्र रहेका नेताहरुका गुटलाई कसरी अन्त्य गर्ने विषय गम्भीर बनिरहेको बताए।
उनले भने, ‘गुटले पार्टी सिद्याउँछ। गुटले हामीलाई भित्र भित्रै कमजोर बनाउँदै लगिरहेको छ।’
पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टीको नीति अनुरुप काम गर्न प्रचण्डले आग्रह गरे।
‘यस्ता प्रकारका गुट अन्त्य गर्न तपाईं हामी सबैको दायित्व हो,’ प्रचण्डले भने।
कम्युनिस्ट पार्टीका नेताहरु अचेल स्वार्थी बन्न खोजिरहेको उनले बताए। नेताहरु मार्क्सवादको सिद्धान्तबाट बिमुख भएका कारण पार्टीमा समस्या देखिन थालेको उनको भनाइ थियो।
उनले जनतासंग पार्टीको सम्बन्ध केही समयदेखि बिग्रिँदै गएको बताए। पार्टी एकता समयमा नहुनु, सरकारको काम प्रभावकारी हुन नसक्नु र पार्टीमा नेताका गुटका कारण जनतासंगको सम्बन्ध बिग्रिँदै गएको प्रचण्डले बताए।
उनले भने, ‘हामीले यी कुरालाई मनन् गर्दै केन्द्रमा गम्भीर बहस गर्न थालेका छौं।’
उनले तीन महिनामा सक्ने भनेको पार्टी एकताको काम १५ महिनासम्म पनि नसक्नु जनतामा निराशा आउनुको मुख्य कारण भएको बताए।
तर पार्टी एकता ऐतिहासिक भन्दै चार दशक लामो नेपालको वामपन्थी संघर्षबाट पार्टी एकता संभव भएको प्रचण्डको भनाइ थियो।
उनले भने, ‘निकै लामो उतार चढावबाट गुज्रेर हामी यहाँ आइपुगेका हौं।’ उनले रुस तथा चीनमा भएका कम्युनिस्ट क्रान्तिका बारेमा बताउँदै भने, ‘हामी चाहिँ यहाँ निषेधको निषेध हुँदै आयौं।’
अहिलेको पार्टी एकता तत्कालिन नेकपा एमाले र माओवादीले नीति परिवर्तन गर्दै राष्ट्र र आन्दोलनको आवश्यक्ता अनुसार अगाडि बढ्न तयार भएका कारण संभव भएको प्रचण्डले बताए।
उनले भने, ‘हामीले एक अर्काको महत्व र आवश्यक्तालाई आत्मसात गर्यौं। दुईवटै पार्टीले समाजवादको यात्रा तय गरेकाले एकता सम्भव भएको हो।’
देशमा भएका परिवर्तन नचाहनेले अभियान चलाएका कारण परिवर्तन पक्षधर पार्टीहरु एक ठाउँमा उभिन जरुरी रहेको बताए।
उनले भने, ‘यत्र तत्र विरोधीहरु टाउको उठाउन थालेका छन्। परिवर्तनका पक्षमा उभिएका र संविधान निर्माणमा सहकार्य गरेका दलहरुसँग सहकार्य बढाउनुपर्छ।’
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेकपाका नेता सुवासचन्द्र नेम्वाङ उपस्थित थिए।