
अन्धन लक्ष्मी घर ढुक
दलिदर भूत बहार हो
अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ
देशभर धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा पूर्वीय थारु समुदायले पनि आफ्नो घर-घरमा हुक्के-हुक्का खेलेर लक्ष्मी भित्र्याएका छन्। परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन थारु समुदायले हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के-हुक्का खेलेका छन्। खास गरी पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेलेका हुन।
आइतबार साँझ थारु समुदायले आ-आफ्नो घरमा/टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्के हुक्का तयार गर्ने गर्दछन्। उनीहरुले आजको दिन आफ्नो घरमा सनपाट नभए अरुकोबाट मागेर भए पनि ल्याएर हुक्के-हुक्का बनाएर खेल्ने गरेको थारु संस्कृति विद् भुलाई चौधरीले जानकारी दिए।
उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएका छन्। उनी भन्छन्, ‘हुक्के-हुक्का
तराईमा बस्ने आदिवासीले त्यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने गरेको छ।’
यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित बासुदेव चौधरीले बताए। उनले भने, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ।किनकी पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन्।युवाहरु कृत्रितर्फ आकर्षिक हुदै गएका छन्। ‘
यस्तै थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका-३, मोतिगडाका किसान शंकर लाल चौधरीले बताए। उनले भने, ‘एक त ताल तलैया, पोखरीहरु पुरिए। अर्कोतिर सनपाट पनि खासै पाँइदैन। अब कसरी खेल्ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नु पर्ने देखिन्छ।’
परम्परा अनुसार हुक्के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ।यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोबाटो वा खाली चौरमा लगि खेल्ने चलन छ। खेल्दा उनीहरुले यस्तो भन्ने गरेका छन्।
हुक्के- हुक्का बेहानके नोन बगिया
हुक्के-हुक्के बेहानके तेल बगिया
किंवदन्ती अनुसार हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ। यसले राम्रो फल दिन्छ भन्ने मान्यता रहिआएको छ। नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ।
यस्तै एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ। तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ।