अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका पदक: यस्तो छ खेलहरुको हालत

अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका पदक: यस्तो  छ खेलहरुको हालत
+
-

काठमाडौँ – अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि पहिलो पदक जितबहादुर केसीले जितेका हुन्, जतिबेला अन्तर्राष्ट्रिय खेलकुद (गेम्स) का रुपमा नेपालले एसियन गेम्स र गृष्मकालीन ओलम्पिक मात्र खेल्थ्यो।

एसियन गेम्समा एसियाभरका र ओलम्पिकमा विश्वभरका खेलाडी हुन्थे। धेरै खेलका प्रतियोगिताहरु  एकै स्थान (देश) र समयमा आयोजना हुने हुँदा ती  खेलकुद खेल्नु र पदक जित्नु धेरै खेलाडीका लागि सपना र केही खेलाडीका लागि लक्ष्य हुने गर्थ्यो।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजित एसियन ट्रयाक एन्ड फिल्ड (एथ्लेटिक्स) च्याम्पियनसिपमा जितबहादुरले म्याराथनतर्फ कास्य पदक जितेपछि, अफिसियल अन्तर्राष्ट्रिय खेलकुद( गेम्स वा खेल विशेष च्याम्पियनसिप) प्रतिस्पर्धा गर्न थालेको २२ वर्षपछि नेपालको पदक खडेरी टरेको थियो।

आजभन्दा ४६ वर्षअघि जितबहादुरले जितेको त्यो पदकका आधारमा त्यसपछि नेपाली खेलकुद अन्तर्राष्ट्रियस्तरमा कहाँ पुग्छ होला भनेर पक्कै पनि अनुमान भएका थिए होलान्। एसियालीस्तरको प्रतियोगितामा पदक जित्नुको संकेत पक्कै पनि त्यहाँभन्दा माथिसम्म पुग्ने थियो होला।

दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ गेम्स तथा अहिले साग) सन् १९८४ मा आयोजना सुरु हुन थालेयता अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको पदक संख्या ह्वात्तै बढ्यो। दक्षिण एसियाका सात देशले मात्र सहभागीता जनाउने यो प्रतियोगितामा पदक जित्ने सम्भावना पक्कैपनि अघिल्ला दुई खेलकुद प्रतियोगिताको तुलनामा बढी थियो।

घरेलु मैदानमा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद (तत्कालिन दक्षिण एसियाली महासंघ- साफ गेम्स)मा चार स्वर्ण, १२ रजत र ८ कास्य जित्यो। स्वर्ण जित्नेमा एथलेटिक्सकै बैकुण्ठ मानन्धर,  बक्सिङका दलबहादुर रानामगर र पुस्करध्वज शाही (दुवै जनाको निधन भईसकेको) तथा फुटबल टोली थियो। एथ्लेटिक्समा दुई, बक्सिङमा ५ र भारत्तोलनमा चार वटा रजत पदक प्राप्त भएका थिए। भारत्तोलनमा तीन, पौडीमा तीन तथा बक्सिङ र एथलेटिक्समा एक एक कास्य पदक जितेको थियो।

सन् १९८६ मा दक्षिण कोरियामा आयोजित एसियन गेम्समा नेपालले ८ वटा कास्य पदक जित्यो, बक्सिङ र तेक्वान्दोतर्फ चार चारवटा। एसियन गेम्समा नेपालले पदक जितेको त्यो पहिलो अवसर थियो।  त्यसको दुई वर्षपछि दक्षिण कोरियामै आयोजना भएको गृष्मकालिन ओलम्पिक खेलकुदमा विधान लामाले प्रदर्शनी खेलका रुपमा समावेश भएको तेक्वान्दोमा कास्य पदक जितेका थिए। प्रदर्शनी खेल नै सही, नेपालको त्यो पहिलो ओलम्पिक पदक थियो।

पछिल्लो साग अनि एसियन गेम्स 

सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा आयोजित एसियन गेम्समा नेपालले केवल एक पदक जित्यो। प्याराग्लाडिङतर्फ रजत पदक प्राप्त भएको थियो। नेपालले एसियन गेम्समा पाराग्लाडिङमा सहभागिता जनाएको यो पहिलो अवसर थियो।

तर, डेब्युमै नेपालले रजत पदक जित्यो। एसियन गेम्समा नेपालले रजत पदक जितेको यो केवल दोस्रो अवसर थियो। त्यसअघि सन् १९९८ को थाइल्यान्ड एसियन गेम्समा तेक्वान्दोकी सविताराज भन्डारीले रजत पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन्।  पछिल्लो एसियन गेम्समा नेपालको विडम्बना के भने यसअघि पदक जितेका कराँते, तेक्वान्दो र  बक्सिङमा पदक शून्य भयो।

एसियन गेम्सका पछिल्ला तीनवटा संस्करणमा नेपालले एक-एक मात्र पदक जित्न सकेको छ। त्यसअघि,  नेपाल सन् १९९० को संस्करणमा मात्र एक पदकमा सिमित भएको थियो।

नेपालले एसियन गेम्समा हालसम्म बक्सिङमा ६ कास्य, तेक्वान्दोमा एक रजत र १३ कास्यसहित १४ पदक र कराँतेमा तीन कास्य पदक जितेको छ।

दक्षिण एसियाली खेलकुदको पछिल्लो अर्थात  १२ औँ संस्करण पनि नेपालका स्मरणीय रहन सकेको थिएन। सन् २०१६ मा भारतमा आयोजित प्रतियोगितामा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य जितेको थियो। स्वर्ण जिताएका खेल थिए- पुरुष फुटबल, महिला जुडो र महिला उसु। बीचमा शसक्त देखिएको तेक्वान्दोले स्वर्ण पदक दिलाउन सकेन। तेक्वान्दोमा सात, उसुमा १०, जुडोमा २ तथा महिला फुटबल, पौडी, ट्रायथलन र भारत्तोलनमा एक एक वटा रजत पदक प्राप्त भएको थियो। कराँते भने यसपटक समावेश भएको थिएन।

नेपालले हालसम्म भएका अन्तर्राष्ट्रिय खेलकुद (साग, एसियन गेम्स र ओलम्पिक)मा एथलेटिक्स, बक्सिङ, कराँते, भारत्तोलन, फुटबल, पौडी, टेबल टेनिस, कुस्ती, सुटिङ, जुडो, उसु, ब्याडमिन्टन, स्क्वास, भलिबल, कबड्डी, आर्चरी, ट्रायथलन , खो खो र  हक्कीमा पदक जितेको छ। ओलम्पिकमा विधान लामापछि कसैले पदक जित्न सकेको छैन।

गौरिका सिंह

तत्कालीन साफ गेम्स आयोजना सुरु भएताका नेपाल भारत्तोलन, बक्सिङ, एथलेटिक्स, फुटबलमा शसक्त देखिएको थियो। सातौँ साफ गेम्ससम्म पनि नेपाललाई बढी र प्राय लगातार पदक दिलाउने  खेलहरु भारत्तोलन, बक्सिङ, एथलेटिक्स र  फुटबल थिए।

पदक दिलाएका अन्य खेलमा  टेबल टेनिस, कुस्ती, सुटिङ, जुडो र पौडी मात्र थिए। पौडीमा पहिलो संस्करणमा मात्र  , कुस्तीमा चौथो र छैटौँ संस्करणमा मात्र  तथा सुटिङमा  पाँचौँ र सातौँ संस्करणमा मात्र पदक जितेको थियो। जुडोमा छैटौँ संस्करणयता पदक जित्न थालेको हो।

दोस्रो साफ गेम्समा नेपालले एउटा मात्र स्वर्ण जित्दा धावक वैकुण्ठ मानन्धरले नेपालको इज्जत जोगाएका थिए।

रजत पदक पनि बक्सिङ, भारत्तोलन र एथलेटिक्सबाहेकका खेलमा प्राप्त हुन सकेन। भारत्तोलनमा ७ तथा बक्सिङ र एथलेटिक्समा एक एक रजत पदक जितेको थियो। भारत्तोलनमा १३ कास्य, बक्सिङमा ६ कास्य तथा एथलेटिक्स र फुटबलमा एक एक कास्य प्राप्त भएको थियो।

तेस्रो साफ गेम्समा पनि बैकुण्ठले स्वर्ण जिते। स्वर्ण जित्ने अर्का एकमात्र नेपाली खेलाडी बक्सिङका दलबहादुर रानामगर थिए। भारत्तोलनमा रजत पदक प्राप्त हुन सकेन। बक्सिङले चार, टेबल टेनिसले दुई र फुटबलले एउटा रजत जित्यो।

टेबल टेनिसमा नेपालले साफ गेम्समा पहिलोपटक पदक थियो। टेबल टेनिसमा चार वटा कास्य पदक पनि जितेको थियो। बक्सिङमा ५, भारत्तोलनमा १९, एथलेटिक्समा चारवटा कास्य जितेको थियो।

चौथो साफ गेम्समा पनि नेपालले एउटा मात्र स्वर्ण जित्यो। यसपटक इज्जत जोगाउन निस्किए बक्सिङका चित्रबहादुर गुरुङ। बक्सिङमै चार , भारत्तोलनमा ६, टेबल टेनिसमा दुई र कुस्तीमा एउटा रजत पदक जित्यो। बक्सिङमा ६, टेबल टेनिसमा तीन, भारत्तोलनमा २२ र एथलेटिक्समा एउटा कास्य जित्यो।

लगातारको प्रयासपछि नेपाली टेबल टेनिसले स्वर्ण जित्यो, पाँचौँ साफ गेम्समा आएर। यसपटक अप्रत्यासित नतिजा दिलाएको अर्को खेल थियो सुटिङ। प्रतियोगितामा नेपालले टेबल टेनिस र सुटिङमा २ स्वर्ण, सुटिङमै एक रजत जित्यो। बक्सिङमा तीन, एथलेटिक्समा एक र भारत्तोलनमा ३ रजत प्राप्त भएको थियो। बक्सिङमा सात, भारत्तोलनमा १९, एथलेटिक्समा २ तथा सुटिङ र टेबल टेनिसमा एक एकवटा कास्य जितेको थियो।

छैटौँ  र सातौँ साफ गेम्समा नेपाललाई पदक दिलाउने थप खेल बन्यो जुडो। छैटौँमा साफ गेम्समा एउटा मात्र स्वर्ण फुटबलले दिलाएको थियो। जुडोमा चार र बक्सिङमा  २ वटा रजत प्राप्त भएका थिए।

बक्सिङमा सात, जुडो र एथलेटिक्समा तीन तीन तथा कुस्तीमा दुई दुई वटा कास्य पदक जितेको थियो।  सातौँ साफ गेम्समा नेपालले जुडोमा तीन र एथलेटिक्समा एउटा स्वर्ण जित्यो। जुडोमै तीन वटा रजत पदक प्राप्त भएको थियो।

भारत्तोलनले तीन र एथलेटिक्सले दुई वटा रजत पदक दिलाएको थियो। बक्सिङमा ९, भारत्तोलनमा तीन, जुडोमा दुई तथा एथलेटिक्स र सुटिङमा एक एक वटा कास्य पदक प्राप्त भएको थियो।

अनि कराँते र तेक्वान्दो हावी भए 

नेपालमा सन् १९९८ मा आयोजित आठौँ साफ गेम्समा घरेलु टोलीले ३१ स्वर्ण, १० रजत र २४ कास्य जित्यो। कराँतेमा १४, तेक्वान्दोमा १४, बक्सिङमा २ र पौडीमा एउटा स्वर्ण जितेको थियो। कराँतेका दीपक श्रेष्ठ (अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा प्रशिक्षक), तेक्वान्दोका दीपक विष्ट, संगिना बैद्य र सविताराज भन्डारीलगायतले त्यतिबेला नेपाललाई स्वर्ण पदक दिलाएका थिए।

दाजु भाई बक्सर प्रकाश थापामगर र रामचन्द्र थापामगरले पनि स्वर्ण विजेता बनेका थिए। पौडीको महिला रिलेमा स्वर्ण पदक जितेको थियो। बक्सिङमा पाँच, तेक्वान्दोमा दुई तथा कराँते, एथलेटिक्स र फुटबलमा एक एक वटा रजत पदक प्राप्त भएको थियो।

एथलेटिक्समा पाँच, कुस्तीमा पाँच, भारत्तोलनमा तीन, टेबल टेनिसमा तीन, सुटिङमा तीन, बक्सिङमा दुई तथा कराँते र पौडीमा एक एक वटा कास्य जितेको थियो। पहिलोपटक नेपाली पुरुष भलिबलले पनि पदक जित्यो, कास्यका रुपमा।

नवौँ साफमा नेपालले सात वटा स्वर्ण जितेकामा तेक्वान्दोमा ६ र कराँतेमा एउटा स्वर्ण हात परेको थियो। एथलेटिक्समा २, कराँतेमा २ र बक्सिङमा एकसहित कुल ५ रजत पदक जित्यो।

बक्सिङमा पाँचवटा, कराँतेमा तीन वटा तथा भारत्तोलन र एथलेटिक्समा एक एक वटा कास्य पदक जितेको थियो। तेक्वान्दोका संगीना वैद्य, रेनुका थापामगर र दीपक विष्ट तथा कराँतेका दीपक श्रेष्ठले लगातार दोस्रोपटक स्वर्ण जितेका थिए।

१० औँ साफ गेम्समा आएर नेपालले ब्याडमिन्टन, उसु र स्क्वासमा पनि पदक जित्यो। यसपटक उसु, कराँते र तेक्वान्दोमा दुई दुई र भारत्तोलनमा एकसहित कुल सात स्वर्ण जित्यो। दिपक विष्टले लगातार तेस्रोपटक स्वर्ण जितेर एथलेटिक्सका बैकुण्ठ मानन्धरको कीर्तिमान बराबरी गरेका थिए।

तेक्वान्दोमा तीन, उसुमा तीन, कराँतेमा तीन, एथलेटिक्स र जुडोमा दुई र बक्सिङमा एउटा रजत जित्यो। उसुमा ६, कराँतेमा ५, जुडोमा ४, ब्याडमिन्टनमा तीन, टेबल टेनिसमा २ तथा तेक्वान्दो, पौडी, स्क्वास, कुस्ती, भलिबल र भारत्तोलनमा पनि एक एकवटा कास्य पदक जितेको थियो।

यसबीचमा संगिना बैद्य छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बनिन्। उनीपछि तेक्वान्दोकै दीपक विष्टले पनि छनोट चरण पार गरेर ओलम्पिक खेले। नेपाली खेलकुदमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने यी दुई खेलाडी मात्र हुन्।

बंगलादेशको ढाकामा आयोजना भएको ११ औँ दक्षिण एसियाली खेलकुदमा पनि दीपक विष्टले स्वर्ण जिते। उनी सागमा चार स्वर्ण जित्ने नेपालकै पहिलो खेलाडि बने। प्रतियोगितामा नेपालले कराँतेमा तीन, उसु र तेक्वान्दोमा दुई दुई तथा एथलेटिक्समा एकसहित कुल सात स्वर्ण जित्यो।

अघिल्लो संस्करणमा शक्तिबर्द्धक औषधी सेवनको अभियोगमा स्वर्ण पदक खोसिएका धावक राजेन्द्र भन्डारीले फेरी स्वर्ण जिते। उसु, कराँते र तेक्वान्दोमा दुई दुई वटा रजत पदक प्राप्त भयो। बक्सिङ, कुस्ती र महिला फुटबलले पनि एक एक रजत जित्यो।

जुडोमा चार, टेबल टेनिसमा तीन तथा तेक्वान्दो, उसु, कराँते, कबड्डी र ब्याडमिन्टनमा पनि दुई दुई कास्य पदक प्राप्त भए। सुटिङ, आर्चरी, बक्सिङले पनि एक एक कास्य हात पारे।

नेपाली पुरुष फुटबल टोलीले २३ वर्षपछि सागमा स्वर्ण जित्यो, १२ औँ सागमार्फत। पौडीले एकल स्पर्धामा रजत पदक जित्यो पहिलोपटक। बेलायतमा परिवारसँग बसिरहेकी गौरिका सि‌ंहले नेपाललाई उक्त सफलता दिलाएकी थिइन्। कुनै समय बलियो देखिएको एथलेटिक्स र भारत्तोलनसहित मार्सल आर्टका सबै खेलमा नेपालको प्रदर्शन खस्कँदो छ।

नेपालले हरेक सागमा कम्तिमा २५ खेलमा सहभागिता जनाउँदै आएको छ। यसपटक घरेलु मैदानमा आयोजना हुन लागेको १३ औँ  सागमा पनि नेपालले प्रतियोगितामा समावेश सबै २७ खेलमा प्रतिस्पर्धा गर्दै छ। प्रतियोगितामा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र चार सय ८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?