
काठमाडौँ – सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुद। घरेलु मैदानमा आयोजना भएकाले नेपाली खेलाडी उत्साही थिए। दक्षिण एसियाका सात राष्ट्र मात्र सहभागी भएकाले पदक जित्ने लक्ष्य स्वभाविक थियो।
गृष्मकालीन ओलम्पिक र एसियन गेम्स खेलिरहेका नेपाली खेलाडीको बल्ल पालो आएको थियो, अन्तर्राष्ट्रिय खेलकुद (गेम्स) मा पदक जित्ने। प्रतियोगितामा नेपालले ४ स्वर्ण, १२ रजत र ८ कास्य पदक जित्दा एउटा मात्र पदक महिला खेलाडीको नाममा थियो।
त्यो थियो, महिला सय मिटर चार गुणा रिले फ्रिस्टाइल। श्रद्धा लेप्चा, अर्चना थापा, इन्दिरा चाम्लिङ र निलम तुलाधरको महिला पौडी टोलीले नेपालका लागि कास्य जितेको थियो। दोस्रो साफ गेम्समा नेपाली महिला खेलाडीले पदक जित्न सकेनन्। पुरुष खेलाडीले एक स्वर्ण, ९ रजत र २२ कास्य दिलाए।
तेस्रो साफ गेम्समा नेपाली महिला खेलाडीले गर्विलो इतिहास बनाए। टेबल टेनिसका गीता क्षेत्री, इन्दिरा चित्रकार, सिजरिन शाह र निलम तुलाधरको टोलीले महिला टिम इभेन्ट्समा रजत पदक जित्यो। टेबल टेनिसमा नेपालले साफ गेम्समा पदक जितेको यो पहिलो अवसर थियो।
सोही संस्करणमा सिजरिनले धर्ममान बज्राचार्यसँग मिलेर मिक्स डबल्समा नेपाललाई अर्को रजत पदक दिलाएकी थिइन्। सिजरिनले एकल स्पर्धामा पनि कास्य जितिन्।
सिजरिन र गीता क्षेत्रीको जोडीले महिला डबल्समा पनि कास्य जितेका थिए। एथलेटिक्सकी विमला जोशीले एउटा र मेनुका राउतले दुईवटा कास्य जिते। यसरी नेपाली महिला खेलाडीले एकल स्पर्धामा पनि अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्न थाले।
चौथो साफ गेम्समा टेबल टेनिसका सिजरिन र गीताको जोडीले फेरि रजत जिते। उनीहरुसहितको महिला टोलीले महिला टिम स्पर्धामा पनि रजत पदक जित्यो। यसपटक गीताले एकल स्पर्धामा कास्य पदक जितिन्। पाँचौँ साफमा नेपाली महिला खेलाडीले घरेलु खेलकुदलाई राहत दिए। नेपालले जितेका दुवै स्वर्ण महिला खेलाडीबाट प्राप्त भएको थियो।
सुटिङकी अनिता श्रेष्ठ र टेबल टेनिसका गीता, सिजरिन, निलमसहितको टोलीले महिला टिम स्पर्धामा स्वर्ण जितेको थियो। अनितासहितको टोलीले सुटिङको महिला टिम स्पर्धामा नेपाललाई रजत पदक पनि दिलायो। सिजरिनले एकल स्पर्धामा कास्य जितिन्। सुटिङको महिला टिम स्पर्धामा नेपालले कास्य पनि जित्यो।
दुर्भाग्य, छैटौँ साफ गेम्समा नेपाली महिला खेलाडीले कुनै पनि खेलमा पदक जित्न सकेनन्। झन्डै, सातौँ साफ गेम्समा पनि त्यस्तै भयो। सुटिङका माया सुनुवार, संगीता कार्की र सरस्वती बानियाको टोलीले महिला टिम स्पर्धामा कास्य पदक नजितेको भए फेरि नेपाली महिला खेलाडी साफ गेम्समा पदकबिहीन हुने थिए।
तेक्वान्दो र कराँतेलाई पहिलोपटक समावेश गरेपछि आठौँ साफ गेम्समा नेपाली महिला खेलाडीले तहल्कै मच्चाए। घरेलु भूमिमा भएको प्रतियोगितामा नेपालले ३१ स्वर्ण, १० रजत र २४ कास्य जित्दा १४ स्वर्ण महिला खेलाडीले जितेका थिए।
तेक्वान्दोका संगीना वैद्य, सविताराज भन्डारी, प्रमिला थापा, बन्दना श्रेष्ठ, रितुजिमी राई, रेनुका रानामगर र सीता राई तथा कराँतेका प्रिती डंगोल, निता राई, मीना पाठक, जुनु राई, विनिता चौधरीले स्वर्ण जितेका थिए।
कराँतेकै सोना थापा, तेजु गुरुङ,बिना सुवाल र अन्जु हाछेतुले महिला टिम कातामा नेपाललाई स्वर्ण दिलाएका थिए। पौडीका रुना प्रधान, नयना शाक्य, स्तुती सिंह र रुबिना प्रधानको टोलीबाट महिला रिलेमा नेपालले स्वर्ण पदक पाएको थियो।
तेक्वान्दोकी मन्जु तुलाधरले रजत पदक जितेकी थिइन्। एथलेटिक्सका हरिमाया चौधरी र केशमाया श्रीसले कास्य जिते। एथलेटिक्सकै देवीमाया पनेरु, बिना श्रेष्ठ, सुस्मिता थापा र समिज्ञा शाक्यले महिला चार सय मिटर चार गुणा रिलेमा कास्य पदक जितेको थियो।
टेबल टेनिसकी गीता थापामगरले सन्ध्या शाक्यसँग मिलेर महिला डबल्समा र राजेन्द्र कपालीसँग मिलेर मिक्स डबल्समा कास्य जितेकी थिइन्। सुटिङका संगीता कार्की, माया सुनुवार र शान्ति सोमाई थापाको टोलीले १० मिटर एयर पेस्तोलको महिला टिममा कास्य जितेको थियो।

१२ औँ सागमा पदक जितेपछि पौडीबाज गौरिका सिंह। फाइल तस्विर
नवौँ साफ गेम्समा नेपालले सात स्वर्ण जित्दा तीनवटा महिला खेलाडीको नाममा थियो। तेक्वान्दोका संगीना वैद्य, रेनुका रानामगर र रुपा स्याङ्देनले स्वर्ण जितेका थिए। यसपटक रजत र कास्य पदक भने महिला खेलाडीको नाममा रहेन। १० औँ साफ गेम्समा पनि नेपालले सात स्वर्ण जित्दा तीनवटा महिला खेलाडीका नाममा थियो।
कराँतेकी बिना लामा खड्का र सुलोचना सिज्वाखा तथा तेक्वान्दोकी मनिता शाहीले स्वर्ण जितेका थिए। कान्छीमाया कोजुले रजत पदक जितेर नेपाली महिला एथलेटिक्समा एेतिहाँसिक सफलता दिलाइन्।
तेक्वान्दोका आयशा शाक्य र पद्मा गुरुङ तथा कराँतेकी अमृता शाक्यले पनि रजत जितेका थिए।कराँतेका सुभद्रा श्रेष्ठ, रोजी नगरकोटी, संगीता डंगोल र रोमिका राईले महिला टिम कातामा रजत जितेका थिए। देवु थापा र रन्जु राईले रजत पदक जितेर नेपाली महिला जुडोमा ऐतिहासिक सफलता दिलाएकी थिइन्।
जुडो र एथलेटिक्स मात्र होइन , महिला ब्याडमिन्टनमा पनि नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। सुमिना श्रेष्ठले महिला एकलमा कास्य जितिन्। सुमिनाले सम्झना खालिङ,सरादेवी तामाङ, नेरी थापा र शृजना श्रेष्ठसँग मिलेर महिला टिम स्पर्धामा पनि कास्य जितेकी थिइन्।
टेबल टेनिसका सन्ध्या शाक्य, मुना बासुकला, गीता थापामगर, रिता प्रजापती र सुभेच्छा नेवाङको टोलीले महिला टिम स्पर्धामा कास्य जितेको थियो। उसुकी रुकमिनी थापामगर, तेक्वान्दोकी संगीना वैद्य तथा जुडोका इन्दिरा राई र राधादेवी राईले पनि कास्य पदक जितेका थिए। सोही संस्करणमा महिला भलिबलले पनि ऐतिहासिक सफलता हात पार्दै कास्य पदक जितेको थियो।
११ औँ सागमा नेपालले ८ वटा स्वर्ण जित्दा तीनवटा महिला खेलाडीको नाममा थियो। तेक्वान्दोकी आयशा शाक्य, उसुकी विनिता महर्जन र कराँतेकी गंगा अधिकारीले स्वर्ण जितेका थिए। कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी मनिता शाही र महिला फुटबल टोलीले रजत जितेको थियो।
प्रतियोगितामा नेपालको नाममा ९ रजत पदक रहेको थियो। उसुकी एलिना चौधरी र झरना गुरुङ, जुडोकी देवु थापा, राधादेवी राई, तेक्वान्दोकी मनकुमारी चौलागाई र टेबल टेनिसकी मुना बासुकलाले कास्य जितेका थिए। मुनाले गीता थापामगरसँग मिलेर महिला डबल्समा पनि कास्य जितेकी थिइन्।
ब्याडमिन्टनका सरादेवी तामाङ, सुजना श्रेष्ठ, पूजा श्रेष्ठ, नंशलदेवी तामाङ, सबिना पन्थी र पुनम गुरुङको टोलीले महिला टिम स्पर्धामा कास्य जितेको थियो। महिला कबड्ढी टोलीले पनि कास्य जितेको थियो। टोलीमा संगीता गौतम, कल्पना श्रेष्ठ, कोसमाया बस्नेत, मीना गुरुङ, नेत्रकुमारी थापा, नितु गुरुङ, निर्मला विष्ट, रमिता थापा, सन्जना तामाङ, अम्बिका मन्डल, शान्ति मल्ल र सुशीला मगर थिए।
१२ औँ सागमा नेपालले केवल ३ स्वर्ण पदक जित्दा दुईवटा महिला खेलाडीले दिलाएका थिए। जुडोकी फुपु ल्हामु खत्री र उसुकी निमा घर्तिमगरले स्वर्ण जितेका थिए। अर्को स्वर्ण पुरुष फुटबल टोलीको नाममा थियो। प्रतियोगितामा नेपालले जितेका २३ रजतमध्ये १४ वटा महिला खेलाडीको नाममा थियो।
जुडोका लिला अधिकारी र मनिता श्रेष्ठ प्रधान, तेक्वान्दोका ज्ञानी चुनारा, आयशा शाक्य, निमा गुरुङ, रेजिना कार्की र यानकुमारी चौलागाई तथा उसुका विन्दु पुन मगर, झरना गुरुङ, जुनी राई, सबिता राई र सुस्मिता तामाङले पनि रजत पदक जितेका थिए। अर्को एक रजत पदक महिला फुटबल टोलीको नाममा पनि रहेको थियो।
ब्याडमिन्टनकी नंशलदेवी तामाङ, बक्सिङका सरस्वती रानामगर र मिनु गुरुङ, जुडोकी गंगा अधिकारी, पुनम श्रेष्ठ, सरिता चौधरी, पौडीकी गौरिका सिंह, टेबल टेनिसका नविता श्रेष्ठ र एलिना महर्जन (महिला डबल्स), ट्रायथलनकी रोजा केसी, भारत्तोलनकी देवी चौधरी, जुनुमाया छन्त्याल र तारादेवी पुनले कास्य जितेका थिए।
यसपटक महिला भलिबल, महिला कबड्डी,महिला खो खो र महिला हक्की टोलीले पनि कास्य पदक जितेको थियो। उता, एसियन गेम्समा नेपाली महिला खेलाडीले सन् १९९४ मा आएर मात्र पदक जितेका थिए। त्यतिबेला कराँतेकी सीता राईले कास्य जितेकी थिइन्।
चार वर्षपछि थाइल्यान्डमा आयोजना भएको अर्को संस्करणमा तेक्वान्दोकी सविताराज भन्डारीले नेपाली खेलकुदलाई ऐतिहासिक सफलता दिलाइन्, रजत पदक जित्दै। त्यतिबेला तेक्वान्दोकी सपना मल्लले पनि कास्य जितेकी थिइन्।
सन् २००२ को संस्करणमा तेक्वान्दोका रेनुका मगर र रितु जिमी राई, सन् २००६ को संस्करणमा तेक्वान्दोकै मनिता शाही र आयशा शाक्यले नेपाललाई कास्य पदक दिलाएका थिए।
सन् २०१४ मा दक्षिण कोरियामा आयोजित एसियन गेम्समा नेपालले एकमात्र पदक जित्दा त्यो महिला खेलाडीकै नाममा थियो। कराँतेकी विमला तामाङले कास्य जितेकी थिइन्।
नेपाली खेलकुदमा छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगिना वैद्य हुन्। उनले सन् २००४ मा ग्रिसमा आयोजित ओलम्पिक छनोट चरण पार गरेर खेलेकी थिइन्। त्यसपछि तेक्वान्दोकै दिपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेले। अन्यथा, कोटा र वाइल्ड कार्डमार्फत नेपाली खेलाडी ओलम्पिक खेल्छन्।