
झापा– झापाको चन्द्रगढी विमानस्थल भद्रपुर शुक्रबारदेखि सञ्चालनमा आएको छ। विमानस्थल मर्मतका लागि भनेर केही दिन अघिदेखि विमानस्थल पूर्ण रुपमा बन्द गरेर निर्माणको काम सुरु गरिएको थियो।
रनवे मर्मतको काम सम्पन्न भएर नियमित उडान चालु भएको नागरिक उड्डन प्राधिकरणका चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुख पूर्ण चूँडालले जानकारी दिए।
उनले भने, ‘अब नियमित उडान प्रभावित हुँदैनन्। निर्माणका अन्य काम भने भइरहेको छ।’ मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो।
विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेका कारण मर्मत गर्नु परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो। धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो। भद्रपुर विमानस्थल बन्द हुँदा हवाई यात्रु विराटनगर भएर काठमाडौँका लागि उडान भर्दै आइरहेका थिए।
काठमाडौँ–भद्रपुर–काठमाडौँ हवाई सेवाका लागि यस विमानस्थलमा अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० वटा विमानले नियमित उडान गर्दै आएका छन्।