
काठमाडौँ- ‘रिटायर्ड भएका खेलाडीको अन्तर्वार्ता हेर्दा थाहा हुन्छ-नेपालमा खेलेर मात्र बाँच्न गाह्रो छ।’
१३ औँ दक्षिण एसियाली खेलकुद-सागमा सहभागी हुने नेपाली खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडा भन्दै थिए। त्यसअघि पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको ‘प्याकेज घोषणा’ गर्न अचानक यो कार्यक्रमको आयोजना गरिएको चर्चा नेपाली खेलकुद वृतमा थियो।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु रातारात पोखराबाट काठमाडौँ आएका थिए। सबै खेलका खेलाडीलाई उर्दी नै थियो- जसरी पनि प्रधानमन्त्रीको यस कार्यक्रममा सहभागी हुनुपर्छ।
पाँच दिनपछि सुरु हुने प्रतियोगिताको तयारीलाई विर्सिएर खेलाडी, प्रशिक्षकहरु मंगलबार काठमाडौँमा जम्मा भएका हुन्। तर अचानक अस्वस्थ भएपछि प्रधानमन्त्री कार्यक्रममा आउन सकेनन्।
घरेलु भूमिमा आयोजना हुन लागेको साग अनि प्रधानमन्त्री ओली आफैले डाकेको कार्यक्रम भएकाले खेलाडीहरुमा पक्कैपनि व्यग्रता थियो। त्यसमा पनि पुरस्कारको प्याकेज घोषणा हुने चर्चाले प्रधानमन्त्रीले कसरी र के संबोधन गर्लान् भन्ने कौतुहलता खासगरी खेलाडीहरुमा ब्यापक थियो।
राष्ट्रिय खेलकुद परिषद्-राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले संबोधन गर्न बोलाउनुअघि अर्थमन्त्री खतिवडालाई फुर्काउनसम्म फूर्क्याए।
‘ प्रधानमन्त्रीले पुरस्कारको प्याकेज घोषणा हुने बताउनु भएको थियो। तर केही छैन, प्रधानमन्त्रीले अर्थमन्त्रीलाई नै पठाउनु भएको छ। देशको ढुकुटी नै उहाँको हातमा छ। मैले यसो गर्नुपर्छ भनेभने त्यो भन्दा बढी भन्ने मेरो योजना थियो भनेर मलाई गाली गर्नुहोला’, सिलवालले यसो भनिरहँदा ड्यासमा बसिरहेका अर्थमन्त्री यताउती हेर्दै मुसुक्क हाँसे।
दक्षिण एसियाली खेलकुद नेपाली खेलाडीले स्वर्णसम्मको सपना देख्ने एकमात्र अन्तर्राष्ट्रिय खेलकुद (गेम्स) हो। प्रतियोगितामा दक्षिण एसियाका ७ टोली सहभागी हुन्छन्। तर सबै खेल र ती खेलका सबै स्पर्धामा यी सातवटै देश सहभागी नहुन पनि सक्छन्।
एकल स्पर्धा हुने खेलमा तीन देश र टिम स्पर्धा हुने खेलमा चार देश मात्र सहभागी भएपनि प्रतिस्पर्धा हुन्छ। धेरै खेलमा सेमिफाइनलबाट बाहिरिने दुवै प्रतिस्पर्धीले समेत पदक पाउँछन्। यस अर्थमा अर्थात साँचो अर्थमा नेपाली खेलाडीले पदकको सपना देख्ने एकमात्र अन्तर्राष्ट्रिय खेल महोत्सवमा दक्षिण एसियाली खेलकुद पर्दछ।
आसन्न सागमा नेपालले २७ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले हालसम्म भएका साग (तत्कालिन साफ खेलकुद)मा एथलेटिक्स, बक्सिङ, कराँते, भारत्तोलन, फुटबल, पौडी, टेबल टेनिस, कुस्ती, सुटिङ, जुडो, उसु, ब्याडमिन्टन, स्क्वास, भलिबल, कबड्डी, आर्चरी, ट्रायथलन , खो खो र हक्कीमा मात्र पदक जितेको छ।
ब्याडमिन्टन, भलिबल, स्क्वास, ट्रायथलन, खो-खो, हक्की, कबड्डी र आर्चरीमा स्वर्ण पदक जित्न सकेको छैन। यीमध्ये पनि भलिबल, स्क्वास, ब्याडमिन्टन, खो खो, ट्रायथलन, हक्कीलगायत खेलमा कास्यभन्दा माथि पुग्न सकेको छैन।
सन् २०१६ मा भारतमा आयोजित १२ औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य जितेको थियो। स्वर्ण जिताएका खेल थिए- पुरुष फुटबल, महिला जुडो र महिला उसु। बीचमा शसक्त देखिएको तेक्वान्दोले स्वर्ण पदक दिलाउन सकेन।
तेक्वान्दोमा सात, उसुमा १०, जुडोमा २ तथा महिला फुटबल, पौडी, ट्रायथलन र भारत्तोलनमा एक एक वटा रजत पदक प्राप्त भएको थियो। कराँते भने यसपटक समावेश भएको थिएन।
प्रतियोगितामा २३ खेलमा २ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। भारतले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, खो खो, कबड्डी, ह्यान्डबल, भलिबल, ट्रायथलन, लन टेनिस र टेबल टेनिसका सबै स्वर्ण जितेको थियो।
कुनैबेला दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीले राष्ट्रिय खेलकुद परिषद्-राखेपमा जागिरसमेत पाउँथे। सरकारले घोषणा नै गरेको हुन्थ्यो। पछिल्ला वर्षहरुमा पुरस्कार दिने मापदन्ड तयार गरिएको छ।
त्यस अनुसार सागमा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमश ३ लाख, २ लाख र एक लाख रुपैयाँ पाउँछन्। धेरै खेलमा नेपाली खेलकुद व्यावशायीक हुन सकेको छैन। विभिन्न खेलका राम्रै वा राष्ट्रिय च्याम्पियन खेलाडीले बढीमा पाइहाल्ने भनेको यी प्रतियोगितामा पदक जितिहाले यीनै पुरस्कार राशी मात्र हुन्।
यीबाहेक सागमा स्वर्ण जित्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ भत्ता दिने गरिएको छ। ओलम्पिक खेलकुदमा सहभागि भएमात्र पनि मासिक ५/५ हजार रुपैयाँ भत्ता दिने गरिएको छ।
अर्थमन्त्री खतिवडाले पदक जित्ने खेलाडीलाई विभिन्न ठाउँमा जागिरको व्यवस्था गर्न प्रयाश गर्नुपर्ने उल्लेख गरे।
‘ पुरस्कारको विषयमा अर्थमन्त्रीले मात्र बोलेर हुँदैन। खेलकुद मन्त्रीले प्रस्ताव ल्याउनुस्। त्यसमा छलफल गर्न सकिन्छ। तर मलाई प्रधानमन्त्रीले आज यहाँ खेलाडीलाई उर्जा दिने गरि घोषणा गरेर आउनुस् भन्नु भएको छ। अहिले दिँदै आएको पुरस्कारमा उल्लेख्य वृद्धी हुन्छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’, अर्थमन्त्री खतिवडाले भने।
केहि खेलमा पहिलो वा दोस्रो चरण पार गर्नु नै नेपालका लागि ठुलो उपलब्दी हुने गर्दछ। ती खेलमा प्रतिद्धन्द्धीलाई गतिलो चुनौती पेश गर्नु वा विगतको भन्दा राम्रो प्रदर्शन गर्नु ठुलो सफलता मानिन्छ। यी खेलहरुमा प्रोत्साहनका लागि न सरकारले कुनै घोषणा गरेको छ न ती खेलसँग सम्बन्धित संघले नै।