
काठमाडौँ – छोरी हुर्काउँदै थिइन् । खेल जीवन अब सकियो जस्तो लागेको थियो । तर घर अर्थात नेपालमै हुने दक्षिण एसियाली खेलकुद (साग) ले उनलाई अन्तिम पटक प्रतिस्पर्धामा सहभागी हुने मन जाग्यो । श्रीमान् र प्रशिक्षकले हौसला दिए ।
अनि थालेकी हुन् ३७ वर्षकी मनिता शाहीले तेक्वान्दोमा सागका लागि तयारी । दुई महिनाको तयारीले सागमा सहभागी भएकी उनी फाइनलमा पुगेकी छन् ।
बिहीबार बिहान भएको तेक्वान्दोको महिला तर्फ ७३ किलोमुनि तौल समूहमा पहिलो चरणको खेलमा जित निकाल्दै मनिता फाइनलमा पुगेकी हुन् । घरमा रहेकी २० महिनाकी छोरीको स्याहार सुसार श्रीमानले गरिरहेका छन् । उनी सागमा स्वर्ण जित्ने ध्यानमा ‘फाइट’ व्यस्त छिन् ।
सन् २००२ देखि राष्ट्रिय खेलाडी रहेकी मनिताले सन् २००५ मा विश्व च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । त्यो नै उनको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो ।
त्यसपछि उनी लगातार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन थालिन् ।
मनिताले १० औँ सागमा ६३ किलोमुनिको तौल समूहमा तेक्वान्दोमा स्वर्ण पदक जितिन् । यस्तै ११ औँ सागमा भने ५७ किलोमुनिको तौल समूहमा फाइनलमा पराजित भइन् र रजतमा चित्त बुझाइन् । त्यसपछि अमेरिका गएकी उनले १२ औँ सागमा सहभागिता जनाइनन् ।
अहिले भने उनी नेपालमै छिन् । यहिँ प्रतियोगिता हुने भएपछि उनमा जागेको खेल्ने इच्छा र अन्तिम मौका हो भन्ने भावमा उर्जा बने श्रीमान् र प्रशिक्षकको साथ ।
मनिताले सन् २००६ को एसियन गेम्समा कास्य पदक जितेकी थिइन् । पदक आफ्नो नाममा रहेको विगत भए पनि मनिताले पछिल्लो चार वर्षमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेलिरहेकी छन् ।
मनिताले जारी सागमा स्वर्णका लागि १२ औँ सागमा आयशा शाक्यलाई पराजित गरेकी भारतीय खेलाडी मार्गरेट मारिया रेगीसँग प्रतिस्पर्धा गर्दै छिन् । १२ औँ सागमा ६२ किलोमुनिको तौल समूहमा आयशालाई रेगीले पराजित गरेकी थिइन ।
अहिले रेगी पनि ७३ किलोमुनिको तौल समूहमा छिन् । तर मनितालाई स्वर्ण पदक जित्छु जस्तो लागेको छ । उनले देश सञ्चारसँग भनिन्, ‘जित्छु होला जस्तो लाग्छ । मेरो हाइट पनि उस्तै छ ।’
मनिताले पहिलो चरणमा श्रीलंकाकी सछिताप्रमोदिनी रणथुंगा अराछिगे तथा भारतकी मार्गरेटले बंगलादेशकी श्रवानी विश्वासलाई पराजित गरेका हुन् ।
प्रशिक्षक नोर्बू लामाले विगतमा राम्रो गरेको इतिहास रहेकाले हौसला दिएर यो सागमा सहभागी गराएको बताएका छन् । मनिताले उचाईको लाभ लिन सक्ने भएकाले स्वर्ण पदक जित्ने सम्भावना रहेको उनले बताए । मनिताको असली परीक्षा यो साग रहेको उनको भनाई छ ।