
नेपाल अब के जित्न चाहन्छ ? घरेलु टोलीले अब के जित्न बाँकी छ? १३औँ दक्षिण एसियाली खेलकुद-सागको आयोजकका रुपमा गर्व गर्ने धेरै ठाउँ छन्। घरेलु मैदानमा नेपालले नसोचेका सफलताहरु हात पारिरहेको छ।
नसोचिएका संख्यामा स्वर्ण पदक भित्रिरहेको छ, नसोचेका खेलहरुमा पदकहरु प्राप्त भइरहेको छ। प्रतियोगिता अगाडि बढिरहँदा यस्तो देखिन्छ- नेपाललाई कतिबेला कुन खेलमा स्वर्ण पदक फुत्त प्राप्त हुन्छ, निश्चित छैन।
यस्तो लाग्छ- अब नेपाललाई पदक जित्नु सामान्य विषय पनि रहेन। नेपाल हरेक खेलमा स्वर्ण पदकको अपेक्षा गर्न सक्छ। स्वर्ण पदक जित्न बलिया मानिएका भारत, शृलंकाका खेलाडीहरु हरेकपटक नेपाली खेलाडीदेखि डराउन थालेका छन्।
कम्तिमा ह्वात्तै बढेको स्वर्ण संख्या र धेरै खेलमा नसोचिएका सफलताले यो दृश्य तयार भएको छ। शनिबार र आइतबार दशरथ रंगशालामा उपस्थित दर्शकको संख्या हेर्दा यस्तो लाग्छ- घरेलु दर्शक अझै कम्तिमा एउटा स्वर्णको भोको छन्। र, उनिहरुको यो भोक फुटबलबाहेकले मेटाउन सक्दैन।
राउन्ड रोबिनको तेस्रो खेलमा शनिबार दिउँसो २ बजे नेपालले मालदिभ्सको सामना गर्दै थियो। खेल सुरु नहुँदै १५ हजारभन्दा बढी दर्शक क्षमताको दशरथ रंगशाला ‘टनाटन’ भइसकेको थियो।
एक स्वरमा कहिले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ भन्दै त कहिले ‘नेपाल…नेपाल’ भन्दै उनीहरु मैदानमा डटिरहेका नेपाली खेलाडीको हौसला बढाउँदै थिए। दर्शकलाई थाहा थियो- नेपालले फाइनल यात्रा कायम राख्न यो खेल जित्नुको विकल्प छैन।
खेलमा पछाडि परेको नेपालले लगातार दुई गोल फर्काउँदै अन्तत २-१ ले नतिजा आफ्नो पक्षमा पार्यो। खेल सकिएको केही मिनेटसम्म दर्शकले आफु बसेको सिट छाडेनन्। खुसी मनाउँदै मैदानको वरिपरि घुमिरहेका नेपाली खेलाडीलाई उनिहरुले साथ दिइरहे।
आफू बसिरहेको ठाउँ अगाडि खेलाडी आएर हात हल्लाउने अपक्षा गरिरहे। खेलाडीले रंगशालाको कुनैपनि कुनामा पुगेर दर्शकलाई ‘धन्यवाद’ भन्न विर्सिएनन्। रंगशाला केही मिनेटसम्म लयवद्ध चर्को स्वरमा गुन्जिरह्यो।
२ जित र एक बराबरीको नतिजा हात पारेको नेपालले २४ घन्टा नवित्दै आइतबार बंगलादेशसँग भिड्नुपर्ने थियो। बंगलादेशसँग बराबरी मात्र खेल्दा पनि फाइनल पुगिने, पराजित भए प्रतियोगिताबाट बाहिरिने ! नेपाल अघिल्ला नतिजा हेरेर ढुक्क हुने अवस्था थिएन। ‘हिरोबाट जिरो’ बन्न सक्नेमा सचेत थियो।
आइतबार साँझ ५ बजे अघि दशरथ रंगशालाबाहिरको दृश्य हेर्दा लाग्थ्यो- दर्शकहरु जागिरबाट सिधै रंगशाला आईपुगेका छन्। त्यसको परिणाम केही छिनमै देखियो- रंगशाला टनाटन भरियो। दुवै टोलीका खेलाडीहरु दबाबमा थिए। बंगलादेशलाई थाहा थियो- जिते, सिधै फाइनलमा। बंगलादेशका डिफेन्डर विश्वनाथ घोसले मैदान छिर्नुअघि केही समय दुई हात जोडेर प्राथना गरे।
रंगशालामा फेरी एकै स्वर चर्किन थाल्यो- ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो’, ‘नेपाल…नेपाल’। त्यतिमात्र होइन, बंगलादेशविरुद्ध हुटिङ पनि। यस्तो वातावरणमा विपक्षीलाई खेल्न कति गाह्रो हुँदै हो ! तर बंगलादेशले सुरुवातदेखि नै दवावपूर्ण प्रदर्शन गर्यो।

तस्बिर: बर्षा शाह/देश सञ्चार
नेपाली टोली रक्षात्मक देखियो। बंगलादेशले खेलमा केही राम्रा अवसर वनाएको थियो। ती अवसर गोल नजिक थिए। ती कसैका कारण विफल भएनन्, स्वयं बंगलादेशी खेलाडीबाहेक। उनिहरुले गोलपोष्टको फ्रेममा मात्र प्रहार गरिदिएको भएपनि गोल हुने ! तर फुटबलको मज्जा नै यही। खेल जित्न गोल गर्नुपर्छ अझ विपक्षीभन्दा बढी।
पहिलो हाफमा मध्यभागबाट सुनिल बलले अगाडि बढाएको बल सुजल श्रेष्ठलाई उपलब्ध गराएर आफै डीबक्सभित्र छिर्दै क्रसमा ट्यापिङ गरेर दर्शनीय गोल गरे। यही गोलले रंगशालालाई जुरुक्क उचाल्यो। पछि यही गोलले नेपाल विजयी भयो। रंगशाला फेरी जुरुक्क उचालियो।
नेपाल स्वर्ण पदक नजिक पुग्यो। भारत र पाकिस्तान दुवै सहभागी नभएकाले नेपालको स्वर्ण पदक जित्ने सम्भावना बलियो छ। नेपालले फाइनलमा भुटानसँग खेल्दै छ। भुटानलाई नेपालले पहिलो चरणमा ४-० गोलले हराएको थियो। साग अनि घरेलु मैदान, दुवैमा नेपालका लागि फुटबलले विशेष स्थान राख्दै आएको छ।
सन् १९८४ मा आयोजना भएको पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो। घरेलु मैदानमा भएको त्यस संस्करणमा फुटबलले हात पारेको स्वर्णको चर्चा अझै पनि भइरहन्छ। त्यसपछि सन् १९९९ मा नेपालमा साग भयो। नेपाल पुन फुटबलमा फाइनलमा पुग्यो। तर यसपटक स्वर्ण भिडन्तमा बंगलादेशसँग पराजित भयो।
त्यसको २० वर्षपछि नेपालले तेस्रोपटक साग आयोजना गरिरहेको छ। यसपटक, बंगलादेशलाई हराएर फाइनलमा स्थान बनाएको छ। तीन वर्षअघि भारतमा आयोजना भएको १२ औँ सागमा पनि नेपालले फुटबलमा स्वर्ण जितेको थियो र त्यो २३ वर्षको पर्खाई थियो। मंगलबार हुने फाइनलमा भुटानलाई हराउन सके नेपालले इतिहासमा पहिलोपटक साग फुटबलमा ‘ब्याक टु ब्याक’ स्वर्ण जित्ने छ।
बंगलादेशका इङ्लिस प्रशिक्षक जेम्स डेको भनाई उदृत गर्ने हो भने नेपाल प्रतियोगिताको सर्वोत्कृष्ट टोली हो र भुटानलाई फाइनलमा हराउने छ। तर फुटबलमा हिजो के भएको थियो भन्ने कुराले कम अर्थ राख्ने गर्दछ।
यदि त्यसो हुन्न थियो भने भुटान पहिलो चरणबाटै बाहिरिने थियो। तर उसले अप्रत्यासित प्रदर्शन र नतिजा निकाल्दै इतिहासमै पहिलोपटक साग फुटबलमा फाइनलमा स्थान बनाएको छ।

तस्बिर: बर्षा शाह/देश सञ्चार
हरेक खेलमा नसोचेको नतिजा आइरहेको अवस्थामा नेपाली पुरुष फुटबल टोलीमाथि जारी सागमा स्वभाविक दबाब छ। यदी स्वर्ण जिते, नेपालले पदक तालिकामा अर्को स्वर्ण पदक थप्ने छ। तर फुटबल प्रेमी र खेलाडीका लागि केवल त्यो एउटा स्वर्ण पदक मात्र हुने छैन।
‘सन् १९९३ मा हामीले स्वर्ण पदक जित्दाका चार जना खेलाडी अहिले टोलीको प्रशिक्षक छौँ। स्वर्ण जित्न सके, हाम्रा लागि अर्को अमुल्य क्षण हुने छ’, नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्। सन् १९९९ मा भएको आठौँ साग फुटबलमा नेपाल फाइनलसम्म पुग्दा पनि बाल गोपाल टोलीका थिए। गत सागमा स्वर्ण जितेको फुटबल टोलीका चार जना खेलाडी अहिले पनि खेलिरहेका छन्।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार